काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारको २ अर्ब रुपैयाँ चुक्ता गर्न बाँकी रहेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदन अनुसार हालसम्म २ अर्ब ३ करोड ९८ लाख रुपैयाँ साँवा र ब्याज चुक्ता गर्न बाँकी रहेको उल्लेख छ ।
प्रतिवेदनअनुसार उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा १२ बमोजिम प्राधिकरणले जग्गा विकास आयोजनाका लागि अर्थ मन्त्रालयबाट ४ प्रतिशत ब्याजदरमा ऋण लिएको थियो । २०८२ असार मसान्तसम्म उक्त ऋणको साँवा तथा ब्याजसमेत करिब २ अर्ब ३ करोड ९८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिएको छ ।
हालसम्म लिइएको ऋणको साँवा करिब १ अर्ब ६० करोड ६४ लाख ८८ हजार रुपैयाँ रहेको छ भने ब्याजतर्फ मात्र ६२ करोड ३३ लाख ५९ हजार रुपैयाँ दायित्व कायम भएको छ । यसमध्ये २०७५÷७६ मा १४ करोड र २०८१÷८२ मा ५ करोड रुपैयाँ गरी हालसम्म १९ करोड रुपैयाँ मात्र भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, सोही ऋणबाट २०८१÷८२ असारसम्म १२ वटा आयोजनामा लगानी गरिएकोमा ती आयोजनाबाट पनि ठूलो रकम फिर्ता हुन बाँकी रहेको प्रतिवेदनले देखाएको छ । साँवा तर्फ ९६ करोड ११ लाख ७७ हजार रुपैयाँ र ब्याजतर्फ ५३ करोड ५५ लाख ९८ हजार रुपैयाँसमेत गरी कुल १ अर्ब ४९ करोड ६७ लाख ७५ हजार रुपैयाँ असुल हुन बाँकी रहेको उल्लेख छ ।
महालेखापरीक्षकको कार्यालयले प्राधिकरणको ऋण दायित्व बढ्दै गएको र लगानी फिर्ता हुन नसकेको अवस्थाले वित्तीय जोखिम बढाएको भन्दै समयमै असुली र सरकारलाई फिर्ता गर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ ।