अनलाइन बेटिङमा शिक्षक, ६ खातामा २ करोड ४६ लाख रुपैयाँको शंकास्पद कारोबार

काठमाडौं । अनलाइन बेटिङ खेलाउने र बैंक खाताको दुरुपयोग गरी ठगी गरेको आरोपमा शिक्षकसहित तीन जना पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतबाट खटिएको टोलीले गोप्य सूचना र प्राविधिक विश्लेषणका आधारमा बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका पञ्चपुरी नगरपालिका वडा नं ९ बस्ने ३९ वर्षीय शिक्षक महेन्द्रकुमार बोहोराले मात्र विभिन्न बैंकमा ६ वटा खाता खोलेर २ करोड ४६ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार गरेको खुलेको छ ।

४२ वर्षीय व्यवसायी यामलाल विक र ४४ वर्षीय होटल व्यवसायी डम्बरबहादुर विकलाई समेत पक्राउ परेका छन् ।

विकले पाँचवटा र डम्बरले नौवटा विभिन्न बैंकमा खाता खोली शंकास्पद कारोबार गरेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालको प्रयोग गरी सर्वसाधारणलाई प्रलोभनमा पारेर अनलाइन जुवा तथा सट्टेबाजी खेलाउने उद्देश्यले उनीहरूले ती बैंक खाता खोलेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

पक्राउ परेका उनीहरूविरुद्ध बैंकिङ कसुर, जुवा सट्टेबाजी र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढाथापाले जानकारी दिए । 

प्रहरीले अनलाइन ठगी र जुवाजन्य गतिविधिमा संलग्न हुनु वा सहयोग गर्नुलाई गम्भीर अपराध भन्दै आफ्नो बैंक खाता, पिन कोड र ओटीपीजस्ता गोप्य विवरणहरू कसैलाई पनि सेयर नगर्न र ठगिनबाट बच्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।

Share News