काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको तीन महिनापछि वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको वैशाख ३० गते बसेको सञ्चालक समिति बैठकले ५९औँ वार्षिक साधारणसभा आगामी जेठ २९ गते बिहान ११ बजेका लागि बोलाएको हो ।
यसअघि कम्पनीको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । प्रस्तावअनुसार हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गरिनेछ । कम्पनीले ३ करोड ४ लाख ६८ हजार रुपैयाँ बराबरको बोनस सेयर तथा १६ लाख ३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक अनुमोदन गर्नेछ । हालका लेखापरीक्षक कुबेर एन भट्टराई एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्तिका लागि योग्य रहेको कम्पनीले जनाएको छ ।
त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १०५(१)(ख) बमोजिम ऋण सुविधा लिने प्रस्तावमाथि पनि छलफल गरी निर्णय गर्नेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ १३ गतेदेखि जेठ २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार जेठ १२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम रहेका सेयरधनीहरूले साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।