कोशी अस्पतालका एक सय ७७ कर्मचारी  अनुपस्थित

काठमाडौं । कोशी अस्पताल विराटनगरमा आज (बुधबार) अनुगमनका क्रममा १ सय ७७ जना चिकित्सक, कर्मचारी र प्राविधिक अनुपस्थित रहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले गरेको अनुगमनका क्रममा हाजिर अभिलेख जाँचका क्रममा अस्पताललाई कुनै जानकारीविना ती कर्मचारी अस्पतालमा अनुपस्थित रहेका पाइएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।

चिकित्सक र अन्य कर्मचारीहरू अस्पतालमा कार्यालय समयमा अनुपस्थित हुने गरेको गुनासोपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन गरिएको थियो ।

अस्पताल प्रशासनलाई जानकारीविना अनुपस्थित रहेकाहरूलाई कानुनबमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । 

कोशी अस्पतालबाट सुरु गरिएको सुशासनका लागि सुरु गरिएको अभियानका क्रममा अन्य कार्यालय तथा बजारमा समेत अनुगमन गरिने जनाइएको छ । 
 

Share News