काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाहले आज नदिने भएका छन् । संसद् सचिवालयको उच्च स्रोतका अनुसार यसअघि तय गरिएको कार्यसूची अन्तिम समयमा परिवर्तन गरिएको हो ।
यसअघि प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएपछि आजै नीति तथा कार्यक्रम पारित गर्ने संसद सचिवालयको तयारी रहेको छ । तर, केहीबेरअघि प्रधानमन्त्री सचिवालयबाट आएको सूचनाअनुसार प्रधानमन्त्रीको स्थानमा अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा उठेका विषयहरूको जवाफ दिने कार्यक्रम तय गरिएको स्रोतले जानकारी दिएको छ ।
संसद् सचिवालय स्रोतका अनुसार कार्यसूची संशोधनसँगै आजको बैठकको स्वरूप पनि परिवर्तन भएको छ । प्रधानमन्त्री स्वयं उपस्थित भएर प्रतिपक्ष तथा सत्तापक्ष सांसदहरूले उठाएका जिज्ञासाको सम्बोधन गर्ने अपेक्षा गरिए पनि अन्तिम समयमा जिम्मेवारी अर्थमन्त्रीलाई दिइएको हो ।
सचिवालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सकिएसँगै त्यसलाई आजै पारित गर्ने तयारी अघि बढाएको छ । यद्यपि प्रधानमन्त्रीले प्रत्यक्ष जवाफ नदिने निर्णयपछि संसद् बैठकमा राजनीतिक प्रतिक्रिया आउने सम्भावना रहेको बताइएको छ ।