३५ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, २१.८ महिनाको आयात धान्ने

काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति करिब ३५ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षको असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । सो अवधिको तुलनामा विदेशी मुद्रा सञ्चिति ३०.५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा समेत सञ्चिति वृद्धि भएको छ । गत असारमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति चैत मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई २३ अर्ब ५५ करोड पुगेको छ ।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको हिस्सा २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा चैत मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई ३० खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोडबाट ५६.८ प्रतिशतले वृद्धि भई ४ खर्ब १२ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.४ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार हालको सञ्चितिले बैंकिङ क्षेत्रको २१.८ महिनाको वस्तु आयात र १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ ।

त्यस्तै २०८२ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५७.२ प्रतिशत, कुल आयातसँग १५३.१ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग ४१.२ प्रतिशत पुगेको छ । गत असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

Share News