प्रहरीको तस्वीर एआई प्रयोग गरेर बनाएमा कारबाही गरिने

काठमाडौं । नेपाल प्रहरीले सुरक्षाकर्मी र दर्ज्यानी चिन्हको तस्विर एआईबाट बनाएमा कारबाही गर्ने चेतावनी दिएको छ । प्रहरीको तस्विर बनाउन परेमा वास्तविकता झल्किने खालको बनाउन अनुरोध गरेको छ । 

सुरक्षा निकायहरूको झण्डा, लोगो, पोशाक तथा चिन्हहरू प्रयोग गर्दा वास्तविकता झल्किने गरेर आधिकारिक मापदण्ड बमोजिमको मात्र प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

यस्ता सामग्रीहरू तयार पार्दा वास्तविकता र विश्वसनियतामा विशेष ध्यान दिएर प्रकाशन गर्नुपर्ने प्रहरीले जनाएको छ । प्रहरीको सूचनाविरुद्ध गएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ । 
पछिल्लो समय सामाजिक सञ्जालहरूमा सम्प्रेषण हुने तस्विर, भिडियो तथा इन्फोग्राफिक्सहरुमा एआई

(आर्टिफिसियल इन्टेलिजेन्स) प्रयोग गरी बनाउने क्रम बढेको छ । नेपाल प्रहरीको लोगो, झण्डा, पोशाक एवम् दर्ज्यानी चिन्हहरू तोडमोड गरी गलत ढंगमा प्रस्तुत गर्ने क्रम बढिरहेको प्रहरीले उल्लेख गरेको छ ।

सुरक्षा जस्तो संवेदनशील विषयमा सबैलाई सुसूचित गराउनु सबैको साझा जिम्मेवारी रहेको प्रहरीले बताएको छ । एआईको दुरुपयोग गरेर संगठनको प्रतीक चिन्ह, पोशाक जस्ता गम्भीर विषयलाई तोडमोड गरेर समाजमा भ्रम तथा अफवाह फैलिने हुनाले सबैलाई प्रहरीले सचेत रहन अनुरोध गरेको छ ।

Share News