काठमाडौं । भोलि (बुधबार) देशका विभिन्न प्रदेशहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले भोली अर्थात् वैशाख १६ गते बुधबार साँझ ५ः४५ बजेदेखि हुरी सुरु भई बिहीबार (१७ गते) बिहान ७ः४५ बजेसम्म रहने अनुमान गरिएको जनाएको छ ।
हुरीसँगै मेघगर्जन, चट्याङ्ग र असिनासहितको वर्षा हुने र यो प्रणाली पश्चिमदेखि पूर्वतिर सर्दै जाने सम्भावना रहेको छ ।
प्राधिकरणका अनुसार कोशी प्रदेशको मोरङ, मधेश प्रदेशका धनुषा र बारा, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्लाहरूमा तीव्र हावाहुरीको जोखिम रहेको छ ।
हावाहुरीका कारण रुख ढल्ने, छाना उड्ने र बिजुलीका खम्बाहरूमा क्षति पुगी सेवा अवरुद्ध हुन सक्ने भएकाले प्राधिकरणले सकेसम्म घरबाहिर हिँडडुल नगर्ने र घरका झ्यालढोका राम्रोसँग बन्द गर्ने, जस्तापाताका छानाहरू कमजोर भए बन्धन बलियो बनाउने, हावाहुरीको समयमा घरबाहिर आगो नबाल्ने र घरभित्र पनि विशेष सावधानी अपनाउने, अग्ला रुख, खम्बा र बिजुलीको तारमुनि ओत नलाग्ने तथा लत्रिएका बिजुलीका तारहरूलाई नछुने र उडेर आउने वस्तुबाट जोगिन चनाखो रहन आग्रह गरेको छ ।
प्राधिकरणले मौसमसम्बन्धी पछिल्ला सूचनाहरू नियमित रूपमा जानकारीमा राख्न र स्थानीय स्तरमा आवश्यक पूर्वतयारी गर्न समेत सबैमा अनुरोध गरेको छ ।
