राजधानीबासीले पनि घरमै राहदानी पाउने

सेवाग्राहीले आफ्नो राहदानी घरमै लिने वा कार्यालयबाट लिने विकल्प रोज्न सक्ने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हुलाक सेवा मार्फत सेवाग्राहीको घरमै राहदानी वितरण गर्ने सेवा सुरु गरेको छ । कार्यालयले जारी गरेको सूचनाअनुसार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीको बुँदा नम्बर २७ अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने निर्णय गरिएको हो ।

सोही निर्णयअनुसार राहदानी, नागरिकता, प्रतिलिपि, लाइसेन्स लगायत सरकारी कागजात तथा सामग्री घरमै पुर्याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने लक्ष्य राखिएको थियो । त्यसअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालय र गोश्वारा हुलाक कार्यालय काठमाडौंबीच २०८३ वैशाख १५ गते सम्झौता भई सेवा सुरु गरिएको जनाइएको छ ।

अब राहदानीका लागि आवेदन दिने सेवाग्राहीले आफ्नो राहदानी हुलाक सेवा मार्फत घरमै लिन चाहेको वा कार्यालयबाट बुझ्न चाहेको विकल्प रोज्न सक्नेछन् । आवेदन दिने क्रममा उक्त विषय स्पष्ट रूपमा सम्बन्धित कर्मचारीसमक्ष जानकारी गराउन कार्यालयले अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो सेवा सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले सुरु गरिएको जनाएको छ ।

Share News