काठमाडौं । युएईस्थित नेपाली दूतावासले हुण्डीमार्फत पैसा नपठाउन आग्रह गरेको छ । व्यक्ति वा संस्थाले अनौपचारिक रूपमा विप्रेषण (हुण्डी) को कारोबार नगराउन दूतावसले अनुरोध गरेको हो ।
गैर कानूनी काम वा कारोवार गरेको भए त्यस्ता व्यक्ति वा संस्थाको विवरण प्रमाणसहित यस दूतावासको इमेलमा उपलब्ध गराउन दूतावासले निर्देशन दिएको छ ।
नेपालको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण गर्न विदेशमा रही अनौपचारिक रूपमा विप्रेषणको काम कारोबार (हुण्डी) गरेको वा सङ्कलित रकम नेपाल नपठाएको गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय पठाउनु पर्ने दूतावासले उल्लेख गरेको छ ।
विद्युतीय माध्यमबाट पठाउनुपर्ने नीतिगत व्यवस्था रहेकाले दूतावासले नियमित रूपमा प्रत्येक महिना त्यस्ता सूचना तथा तथ्याङ्कहरू परराष्ट्र मन्त्रालयमा पठाउँदै आएको बताएको छ ।