राष्ट्र बैंकमा ‘टिम १७’ को २० वर्षे यात्रा

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घ रावलले केन्द्रीय बैंकमा २० वर्षे सेवा अवधि पूरा गर्नु केवल समयको यात्रा नभई अनुभव, सिकाइ र जिम्मेवारीले भरिएको गौरवपूर्ण अध्याय भएको बताएका छन् । वि.सं २०६२ माघ २ गते सहायक निर्देशक तहमा खुला प्रतिस्पर्धाबाट प्रवेश गरेको ‘टिम १७’ का सदस्यहरूले दुई दशकको सेवा पूरा गर्दै दीर्घ सेवा पदक ग्रहण गरेका हुन् । 

दीर्घ सेवा पदक प्राप्तपछि बोल्दै कार्यकारी निर्देशक रावलले प्रारम्भिक उत्साह, जिज्ञासा र राष्ट्र सेवाको संकल्प अझै कायम रहेको बताए । उनले यस अवधिमा बैंकिङ क्षेत्रमा महत्वपूर्ण परिवर्तनहरू आएको उल्लेख गर्दै मौद्रिक नीति, वित्तीय क्षेत्र सुधार, डिजिटल भुक्तानी प्रणाली र नियामकीय संरचनामा व्यापक विकास भएको बताए ।

‘कागजमा आधारित प्रणालीबाट पूर्ण डिजिटल क्लियरिङसम्मको यात्रा ऐतिहासिक उपलब्धि हो,’ उनले भने । 

रावलले दुई दशकको अवधिमा राजनीतिक परिवर्तन, आर्थिक उतारचढाव, भूकम्प र कोभिड-१९ महामारीजस्ता चुनौतीहरू सामना गर्दै संस्थागत स्थायित्व कायम राख्न योगदान दिएको बताए । 

राष्ट्र बैंकले ७१औँ वार्षिकोत्सवको अवसरमा १७ जना कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मान गरेको हो । राष्ट्र बैंकले डेपुटी गभर्नर किरण पन्डितसँगै कार्यककरी निर्देशकहरु डा. सत्येन्द्र तिमिल्सिना, दीर्घ रावल र अनुज दहाललाई दीर्घ सेवा पदक प्रदान गरेको हो । 

यस्तै, निर्देशकहरुमा सुदिप फुयाल, निभा श्रेष्ठ​​, ईश्वरी प्रसाद भट्टराई, रमेश आचार्य, डा. राजन कृष्ण पन्त, इन्द्रा चम्लागाईं, माधव दंगाल, सत्येन्द्रराज सुवेदी, आर्या जोशी, बासुदेब भट्टराई, अशोक घिमिरे, शरण कुमार अधिकारी र गिरिजाप्रसाद कोइरालाले दीर्घ सेवा पदक प्राप्त गरे ।

null

यस्तो छ ईडी रावलको धारणा

हामी १७ जना खुला प्रतिस्पर्धाबाट छनोट भई नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक तहमा २०६२ माघ २ गते प्रवेश गरेका थियौँ । त्यो समयको उत्साह, जिज्ञासा र राष्ट्र सेवाको संकल्प आज पनि ताजै रहेको छ । बैंक सेवामा प्रवेश गर्दा १७ जनामध्ये एकजना सहकर्मी बाहिरिनु भएता पनि, दीर्घसेवा पदक ग्रहण गर्न डा. राजनकृष्ण पन्तसहित पुनः १७ जना नै पुग्नु मिठो संयोग बनेको छ । आज दुई दशकको यात्रालाई फर्केर हेर्दा यो केवल समयको गणना मात्र होइन । यो अनुभव, सिकाइ, चुनौती र उपलब्धिहरूले भरिएको पेशागत जीवनको एक महत्वपूर्ण र गौरवपूर्ण अध्याय भएको महसुस गरेका छौँ । यी वर्षहरूमा हामीले प्राप्त गरेको जिम्मेवारी र वृत्ति विकासका अवसरहरूले हामीलाई एक जिम्मेवार नागरिक, अनुभवी बैंकर र परिपक्व व्यक्तित्वका रूपमा विकास गर्ने अवसर प्रदान गरेका छन् । केन्द्रीय बैंकजस्तो प्रतिष्ठित संस्थामा सेवा गर्नु सम्मानको विषय मात्र नभई महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने अवसर पनि हो । यो संस्था नेपालको वित्तीय नियामक मात्र नभई देशको आर्थिक स्थायित्वको आधारस्तम्भ र जनविश्वासको केन्द्र पनि हो । यस्तो संस्थाको सदस्य हुनु हामी सबैका लागि गर्वको विषय हो । यस अवधिमा हामीले विभिन्न चुनौतीपूर्ण क्षेत्रहरूमा कार्य गर्ने अवसर पायौँ । 

विभिन्न विभागहरूमा विविध जिम्मेवारी वहन गर्दै बहुआयामिक र महत्वपूर्ण अनुभवहरू संकलन गर्ने अवसर प्राप्त गरेका छौँ । वृत्ति विकासका विभिन्न चरण पार गर्दै आज हाम्रो ब्याचमेट डेपुटी गभर्नर (किरण पण्डित)को उच्च जिम्मेवारी सम्हाल्ने तहमा पुग्नु भएको छ । सेवामा प्रवेश गरेदेखि यी दुई दशकको अवधिमा हामीले विभिन्न राजनीतिक परिवर्तन, आर्थिक उतारचढाव, विनाशकारी भूकम्प तथा विश्वव्यापी महामारीजस्ता घटनाहरूका अनेकौँ आरोह-अवरोह अनुभव गर्यौँ । कठिन परिस्थितिमा समेत सहकर्मीहरूसँग हातेमालो गर्दै चुनौतीहरूको सामना गर्यौँ । नेतृत्वसँग सहकार्य गर्दै संस्थागत लक्ष्य हासिल गर्न प्रयास गर्यौँ र नयाँ पुस्तालाई उत्प्रेरित गर्यौँ । आन्तरिक तथा बाह्य स्थायित्व कायम राख्ने दिशामा निरन्तर सक्रिय रहँदै सरकारका आर्थिक तथा सामाजिक लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने प्रयास गर्यौँ। सहभागितामूलक व्यवस्थापनमार्फत सेवाको गुणस्तर सुधार गर्न निरन्तर पहल गर्यौँ ।

आधुनिक, गतिशील, प्रभावकारी र विश्वसनीय केन्द्रीय बैंक निर्माणमा आफूलाई पूर्ण रूपमा समर्पित गर्दै इमान्दारिता, पारदर्शिता र व्यवसायिकतालाई कार्यसंस्कृतिको मूल आधार बनायौँ । मौद्रिक नीतिको तर्जुमा तथा कार्यान्वयन, वित्तीय क्षेत्रसम्बन्धी नीति निर्माण तथा सुधार, बाह्य क्षेत्रको स्थायित्व कायम गर्न हामी निरन्तर प्रयासरत रह्यौँ । भुक्तानी प्रणालीलाई थप सुरक्षित बनाउँदै ‘लेस क्यास’ हुँदै ‘क्यासलेस’तर्फ उन्मुख गराउन अहोरात्र खटियौँ । कठिन परिस्थितिमा पनि वित्तीय प्रणालीलाई सुरक्षित राख्दै प्रविधिको प्रयोगमार्फत प्रणालीलाई डिजिटल बनाउने ऐतिहासिक रूपान्तरणको कार्यभार वहन गर्ने अवसर पायौँ ।

नेपाल सरकारको आर्थिक सल्लाहकारको भूमिकासहित केन्द्रीय बैंकको नीतिगत भूमिका अझ प्रभावकारी बनाउने विषयमा हामी चिन्तनशील रह्यौँ र सहकर्मीहरूसँग कैयौँ पटक बौद्धिक विमर्श गर्यौँ । यस यात्राले हामीलाई चुनौतीसँग जुध्न, परिवर्तनसँग अनुकूल हुन र संस्थाको हितलाई सर्वोपरि राख्न अभिप्रेरित गरेको छ । कार्यालय समयअघिपछिको ऊर्जाशील समयमा यिनै विषयमा सामूहिक छलफल गर्न हामी टिम १७ का साथीहरू केन्द्रित हुने गरेका छौँ । यस प्रकारको अन्तरक्रियाले नीतिगत स्पष्टता हासिल गर्न सहयोग पुर्याएको छ ।

यस अवधिमा मौद्रिक नीतिको अपरेटिङ फ्रेमवर्कमा धेरै परिवर्तन भएका छन् । कार्यान्वयनमा नयाँ उपकरणहरूको विकास भएको छ । वित्तीय क्षेत्रमा घरजग्गा कर्जा, सेयर कर्जा, चालुपुँजी कर्जा, परियोजना कर्जालगायत क्षेत्रमा नीतिगत स्पष्टता र सुधारका प्रयासहरू भएका छन् । बासेल मापदण्डजस्ता अन्तर्राष्ट्रिय असल अभ्यासको अवलम्बन, ग्रीन फाइनान्स ट्याक्सोनोमी निर्माण तथा सुपरभाइजरी इन्फर्मेसन सिस्टमको विकास भएको छ । कारोबारहरू क्रमशः डिजिटाइजेसनतर्फ उन्मुख हुँदै गएका छन् । कागजमा आधारित चेक क्लियरिङबाट पूर्णतः कागजरहित प्रणाली कार्यान्वयनमा आएको छ । भुक्तानी प्रणालीको आधुनिकीकरण तथा एएमएल/सीएफटीसम्बन्धी व्यवस्थाहरूको सुदृढीकरण हुँदै गएको छ । भुक्तानी तथा सेटलमेन्ट प्रणालीलाई अझ सहज, सुरक्षित र प्रभावकारी बनाउने प्रयाससँगै आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग पनि महत्वपूर्ण बन्दै गएको छ ।

नेपाल राष्ट्र बैंक र यससँग सरोकार राख्ने यी सबैजसो उपलब्धि र प्रयासहरूमा प्रत्यक्ष वा परोक्ष रूपमा सहभागी हुन पाउनु हाम्रो लागि गौरवको विषय बनेको छ । कठिन परिस्थितिमा वित्तीय प्रणालीलाई सुरक्षित राख्न गरिएका अथक प्रयासहरू तथा प्रविधिको प्रयोगमार्फत प्रणालीलाई डिजिटल बनाउने ऐतिहासिक रूपान्तरणको साक्षी बन्न पाउनु हाम्रो अहोभाग्य हो । वास्तवमा, संस्थागत मूल्य र मान्यताप्रति प्रतिबद्ध रहँदै आफ्नो जिम्मेवारी पूरा गर्दा प्राप्त हुने आत्मसन्तुष्टि कुनै पनि भौतिक पुरस्कारभन्दा कैयौँ गुणा ठूलो हुने रहेछ । यस यात्राले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ । केन्द्रीय बैंकमा कार्य गर्नु भनेको केवल तथ्यांक विश्लेषण वा नीति निर्माण मात्र होइन, करोडौँ निक्षेपकर्ताहरूको विश्वासलाई सुरक्षित राख्ने दायित्व पनि हो । साथै, देशको आर्थिक समृद्धिका लागि वित्तीय स्थायित्व र विश्वसनीयता कायम राख्ने जिम्मेवारी पनि हो । आजको वित्तीय स्थायित्व भोलिको दिगो अर्थतन्त्रको आधार हो । २० वर्षे यात्रामा हामीले सिकेको यो महत्वपूर्ण पाठ हो ।

राष्ट्र बैंकको नेतृत्वले हामीलाई विश्वासका साथ जिम्मेवारी प्रदान गर्दै निरन्तर मार्गदर्शन गर्नु भएको छ । साथै, हाम्रा सहकर्मीहरूबाट प्राप्त अनुभव र मार्गदर्शनले हाम्रो व्यावसायिक यात्रालाई अझ समृद्ध बनाएको छ । उहाँहरूको परिश्रम, निष्ठा र समर्पणले नेपाल राष्ट्र बैंक आज एक प्रतिष्ठित तथा विश्वसनीय संस्थाका रूपमा स्थापित भएको छ ।

हामीलाई गर्व छ कि हामीले यस्तो गरिमामय एवं विशिष्ट संस्थामा सेवा गर्ने अवसर पाएका छौँ । सेवा प्रवाहमा होस् वा सुशासन प्रवद्र्धनमा, आधुनिकीकरणमा होस् वा जवाफदेहितामा हामी उहाँहरूले स्थापित गरेका मापदण्डलाई कायम राख्दै थप उचाइ हासिल गर्न सदैव प्रतिबद्ध रहनेछौँ । बाँकी सेवा अवधिमा पनि हामी आफ्नो अनुभव, ज्ञान र सीपलाई संस्थाको हितमा उपयोग गर्दै नयाँ पुस्ताका सहकर्मीहरूलाई ज्ञान र अनुभव हस्तान्तरण गर्न प्रतिबद्ध रहनेछौँ । संस्थाको गौरवपूर्ण परम्परालाई अझ सुदृढ बनाउँदै आगामी दिनहरूमा अझ प्रभावकारी योगदान गर्ने हाम्रो दृढ संकल्प रहेको छ । हामी जुनसुकै पद वा भूमिकामा रहे पनि यस संस्थाको साख तथा गरिमालाई अझ उचो बनाउन विगतमा झैँ आफूलाई उदाहरणका रूपमा प्रस्तुत गर्न प्रयत्नरत रहनेछौँ। सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, सुशासन र जवाफदेहिताको उच्चतम अभ्यास गर्न कटिबद्ध रहनेछौँ ।

मेरा सहकर्मी मित्रहरूको सहयोग, सहकार्य र आत्मीयताले कठिन कार्यहरू पनि सहज बने । संस्थागत सफलता वास्तवमा सामूहिक प्रयास, समन्वय र सहकार्यको परिणाम हो । आधुनिक केन्द्रीय बैंकको अवधारणा तथा यसको सञ्चालन स्वायत्तताको सम्मान गर्दै आएकोमा नेपाल सरकारप्रति पनि कृतज्ञता छ । यसैगरी, वित्तीय क्षेत्रका अन्य नियामक निकायहरू, बैंक तथा वित्तीय संस्थाहरू र निजी क्षेत्रको निरन्तर सहयोग र सहकार्यले देशको आर्थिक तथा वित्तीय स्थायित्व कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ । यस अवसरमा हामी हाम्रो परिवारप्रति पनि विशेष कृतज्ञ छौं । परिवारको त्याग, धैर्य र समर्थन बिना हाम्रो यो यात्रा सम्भव हुने थिएन । आज प्राप्त यो सम्मान केवल विगतको मूल्यांकन मात्र नभई भविष्यका लागि प्रेरणा र थप जिम्मेवारीको संकेत पनि हो। यसले हामीलाई अझ उत्कृष्ट कार्य सम्पादन गर्न उत्प्रेरित गर्ने विश्वास छ । हामी सबैको सामूहिक प्रयासले आगामी दिनमा नेपाल राष्ट्र बैंकलाई थप आधुनिक, गतिशील, प्रभावकारी र विश्वसनीय संस्थाका रूपमा अघि बढाउन सकियोस् । 

Share News