३५.८२ प्रतिशत बढ्यो सिटिजन्स बैंकको नाफा, साढे ४ अर्ब रुपैयाँ ब्याज आम्दानी

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९६ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा ३५.८२ प्रतिशत बढेको हो । 

समीक्षा अवधिमा बैंकले ४ अर्ब ६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ७४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी ९१ करोड ७३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब १५ करोड रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ८४ करोड रुपैयाँ गरेको छ । 

गत वर्षको चैत मसान्तसम्ममा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी ९३ करोड ६० लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ५ अर्ब ९७ करोड रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ३३ करोड रुपैयाँ थियो । 

चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ५० करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । १५ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब १८ करोड रुपैयाँ रहेको छ । 

चालु आवको चैत मसान्तसम्म बैंकले २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले २ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।

गत वर्षको चैतमा ५.७१ प्रतिशत रहेको खराब कर्जा चालु आवमा बढेर ६.८२ प्रतिशत पुगेको छ । 

बैंकको प्रतिसेयर आम्दानी ११.२३ रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी ८.६८ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १५५.९९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १८.७१ गुणा छ ।

Share News