काठमाडौं । सहकारी विभागका उप रजिष्ट्रार टोलराज उपाध्यायले सहकारीमा व्यक्ति सफल हुने, समूह किन असफल भए भनेर प्रश्न गरेका छन् । मंगलबार ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा उनले यस्तो बताएका हुन् ।
उनले सहकारी संस्थाले अहिलेसम्म गरेका कामको समीक्षा र आगामी दिनमा गनुपर्ने काम पनि तय गनुपर्ने बताएका छन् । संस्थामा एकीकृत र इमानदार प्रयास आवश्यक रहेको उनको भनाइ छ ।
‘सहकारीमा व्यक्ति सफल हुने समूह असफल किन भए ?, अहिलेसम्म गरेका कामको समीक्षा र आगामी दिनमा गर्नुपर्ने काम तय गर्नु पर्छ, सहकारीमा समस्या छ भनेर कार्यदल गठन भएको छ । तर, दर्ताको काममा रोक लगाइएको छ । सहकारीमा एकीकृत र इमानदार प्रयास आवश्यक छ । संख्या वृद्धि भएपनि गुणस्तर बढेन, शुसासनका विषयमा घनिभूत रुपमा छलफल गर्नु पर्ने छ,’ उनले भने ।
राष्ट्रिय सहकारी महासंघको अध्यक्ष ओमदेवी मल्लले सहकारी संस्था पनि वित्तीय प्रणाली रहेको बताइन् । सहकारीले बीमा गर्नुपर्ने र सहकारीलाई बीमाका रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ । सहकारीका ७ सिद्धान्त र १० मूल्य र मान्यता लागू नगर्दा समस्या भएको उनको धारणा छ ।
‘सहकारी पनि वित्तीय प्रणाली हो । सहकारीले बीमा गर्नुपर्छ । सहकारीलाई बीमाका रूपमा अगाडि बढाउनुपर्छ । तर, सहकारीलाई सरकारले जुन रुपमा लिनु पर्थ्यो त्यो भएन । सरकारले प्रभावकारी कार्यान्वयन गर्दा समस्या देखिएको हो । सुशासन र ऐन कानुनमा भएका विषय कार्यान्वयन हुन सकेको छैन । सहकारीका ७ सिद्धान्त र १० मूल्य र मान्यता लागू नगर्दा समस्या भएको हो,’ उनले भनिन् ।
भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी संस्थामा ५ खर्ब रुपैयाँ बचत र ४ खर्ब रुपैयाँ कर्जा रहेको बताए । स्वनियमनमा चल्नु पर्ने सहकारी निजी कम्पनीमा परिणत भइरहेको आभास भइरहेको उनको भनाइ छ। एउटा सहकारीमा मात्रै समस्यामा आउँदा अन्यमा पनि समस्या आउने उनले बताए ।
‘५ खर्ब बचत र ४ खर्ब कर्जा, स्वनियमनमा चल्नु पर्ने सहकारी निजी कम्पनीमा परिणत भइरहेको आभास भइरहेको छ । एउटा सहकारीमा मात्रै समस्यामा आउँदा अन्यमा पनि समस्या आउँछ । ढुक्क हुनु पर्ने अवस्था छैन । सहकारी क्षेत्र सिसाको घर हो । भित्रबाट ढुंगा हान्दा र बाहिरबाट पनि ढुंगा हान्दा घर भत्किन्छ र यहाँ संख्या सानो छ भनेर ढुक्क हुनु हुँदैन,’ उनले भने, ‘सहकारी पारदर्शी हुनु पर्यो । सदस्यले विस्वास गरेर आफैले सञ्चालक बनाएकालाई हामीलाई खोजिदेउ भनेर आइरहेका छन् । विज्ञ भन्नेले सही ट्र्याकमा ल्याउनु पर्दैन ? गलत गर्नेको जानकारी दिऔं । सहकारीको संख्या धेरै भइसक्यो ।’
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरूमा दोष रहेको बताएका छन् ।