काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ । दोश्रोे बजारमा कारोबार शुरु भएयता कम्पनीको सेयर मूल्य दैनिक १० प्रतिशतले बढेर सर्किट लागेको हो ।
चैत ६ गते कारोबारमा आएको कम्पनीको सेयर मूल्यमा चैत १२ गतेसम्ममा लगातार चार सर्किट लागेको छ । यो अवधिमा चार दिन कारोबार भएको बजारमा कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ८१३.८० रुपैयाँ पुगिसकेको छ ।
चौथो दिन पनि कारोबार खुल्न नपाई कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ७३.९० रुपैयाँले बढेको छ ।
कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५५६.०८ रुपैयाँलाई आधार मानेर भएको थियो । सो दिनमै १० प्रतिशतले बढेर प्रतिकित्ता ६११.६० रुपैयाँ पुगेको कम्पनीको सेयर मूल्य चार दिनको कारोबारमै प्रतिकित्ता २५७.७२ रुपैयाँले बढेको छ । यससँगै कम्पनीका सेयरधनीले यो चार दिनमै कम्पनीको सेयरबाट प्रतिकित्ता २५७.७२ रुपैयाँ बढी कमाइसकेका छन् ।