काठमाडौं । सोमबारको सेयर बजार बन्द भएको छ । कारोबार खुलेदेखि निरन्तर बढेर तेश्रो सर्किट लागेसँगै सोमबारको सेयर कारोबार बन्द भएको हो ।
बजारमा १२ बजेर ४ मिनेटमै तेश्रो सर्किट लागेको छ । यो अवधिमा नेप्से परिसूचक ११७.७० अर्थात ६ प्रतिशतले बढेर २०७८ बिन्दुमा पुगेको छ ।
सेयर बजार सुरुमा ४ प्रतिशत बढेर १४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसपछि ५ प्रतिशतले बढेर ४० मिनेटका लागि बन्द भएर खुलेको बजारमा पुनः ६ प्रतिशतले बढेर सर्किट लागेको हो ।
सत्ता गठबन्धन फेरिने हल्लाले सोमबारको सेयर बजारमा एकाएक सकारात्मक सर्किट लागेको हो । नयाँ गठबन्धनसँगै अर्थमन्त्री पनि परिवर्तन हुने भएपछि लगानीकर्तामा खुसीयाली छाएको हो । यसको संकेत लगानीकर्ताले हालका अर्थमन्त्री डा.प्रकाशशरण महतलाई नरुचाएको र नयाँ अर्थमन्त्री खोजेको बुझ्न सकिन्छ ।
यससँगै सोमबारको बजारमा ३७ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने कारोबारमा आएकामध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ ।
बजारमा २३० कम्पनीको सेयर मूल्य बढेको छ भने दुई कम्पनीको सेयर मूल्य घटेको छ । कारोबार बढ्नेमा पनि ४१ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।