काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिका लागि तयार पारिएको कार्यविधि सार्वजनिक भएको छ । बोर्ड अध्यक्ष सिफारिस गर्न गठन भएको समितिले कार्यविधि तयार पारी सार्वजनिक गरेको हो ।
सोही कार्यविधि अनुसार नै उपयुक्त उम्मेदावरको नाम सिफारिस गरी धितोपत्र बोर्डको अध्यक्ष बन्ने छ । कार्यविधि तयार भएसँगै अब १५ दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन हुनेछ ।
त्यसपछि उम्मेदवारहरूले आवेदन दिन सक्ने छन् । कार्यविधि अनुसार बोर्ड अध्यक्ष बन्न धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम स्नाककोत्तर तह उतिर्ण गरि धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ ।
साथै, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) को दफा ३ (ग) बमोजिम ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनु पर्नेछ ।
तर, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोवार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएको, कालो सूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएको, कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको र मानसिक सन्तुलन ठीक नभएको व्यक्ति अध्यक्ष बन्न अयोग्य हुनेछ ।
यस्तै, व्यावसायिक कार्ययोजनाको ४० अंक, शैक्षिक योग्यताको १२ अंक, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणको १८ अंक र अन्तर्वार्ताको ३० अंक प्राप्त कार्र्यविधिमा उल्लेख छ ।
शैक्षिक योग्यतामा भने स्नातकोत्तरको ९ अंक प्रदान गर्नेछ भने विद्यावारिधि (पीएचडी) गरेका उम्मेदवारले थप ३ अंक पाउने छन् ।
[pdf id=466595]