काठमाडौं । पछिल्लो समय सेयर बजार दैनिक रुपमा घटिरहेको छ । गत बिहीबारदेखि घट्दो क्रममा रहेको सेयर बजारले आज मंगलबारसम्म निरन्तरता पाएको छ ।
पछिल्लो तीन दिनको अवधिमा नेप्से परिसूचक ४३.४३ अंकले घटिसकेको छ । मंगलबारको बजारमा भने परिसूचक सामान्य १.७६ अंकले घटेर २०३३.०६ बिन्दुमा झरेको छ । जबकी बुधबारको बजारमा परिसूचक २०७६.५० बिन्दुमा थियो ।
बजारमा परिसूचक मात्रै नभई कारोबार रकम पनि घट्दो क्रममा छ । गत बुधबार ४ अर्ब माथिको सेयर कारोबार भएको बजारमा आज मंगलबारसम्म आइपुग्दा घटेर ३ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ । यसअघि अर्थात आइतबारको बजारमा ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
अन्य दिनजस्तै मंगलबार पनि सर्वाधिक कारोबार गर्नेको अग्रस्थानमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । जसको एकैदिन ३१ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सेयर मूल्य बढेर प्रतिकित्ता ६५० रुपैयाँ पुगेको छ ।
घटेको बजारमा पनि बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्य भने सबैभन्दा बढी अर्थात १० प्रतिशतले घटेर प्रतिकित्ता २१८.७० रुपैयाँमा झरेको छ ।