काठमाडौं । कालंगा हाइड्रोले सर्वसाधारणका लागि ४९ करोड रुपैयाँबराबरको आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो ।
कुल कित्तामध्ये ३४ लाख ९० हजार कित्ता साधारण सेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको छ । बिहिबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
ललितपुरको धोबीघाटस्थित कालंगा हाइड्रोको कार्यालयमा भएको कार्यक्रममा कालंगा हाइड्रोका तर्फबाट सञ्चालक तीर्थराज चटौत र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन् ।
ज्योति विकास बैंकको सहायक कम्पनीका रुपमा रहेको ज्योति क्यापिटलको चुक्तापुँजी २१ करोड रुपैयाँ रहेको छ।
हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।