काठमाडौं । आइतबारजस्तै सोमबारको सेयर बजारमा पनि सुधार देखिएको छ । बजारमा नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४८ प्रतिशतले बढेको हो ।
बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । आइतबार ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
३११ वटा स्क्रीप्स कारोबारमा आएको बजारमा हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । गत सातादेखि निरन्तर सर्वाधिक कारोबार भएको इन्स्योरेन्सको सोमबार ६० करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य आइतबारको तुलनामा २५ रुपैयाँले बढेर प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ ।
बजारमा हाइड्रोपावर कम्पनीको सेयरमा उछाल देखिएको छ । सो दिन टप गेनरको सूचीमा अधिकांश हाइड्रो कम्पनी रहेका छन् । युनियन हाइड्रोपावरको १० प्रतिशत, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९.९९ प्रतिशत, मिडसोलु हाइड्रोपावरको ९.९९ प्रतिशत, विन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८.७० र अप्पर स्यांगे हाइड्रोपावरको सेयर मूल्य ८.४३ प्रतिशतले बढेको छ ।
सोमबार टप लुजरको शीर्ष स्थानमा गरिमा डिबेन्चर २०८५ रहेको छ । जसको मूल्य प्रतिथान १० प्रतिशतले घटेर प्रतिथान ८८६.५० रुपैयाँमा झरेको छ ।
बजारमा बैंकिङ्ग, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेका छन् ।