काठमाडौं । सुपर खुदी हाइड्रोपावरले सेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच माघ १० गते सेयर निष्कासन सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा सुपर खुदी हाइड्रोको तर्फबाट बरिष्ठ आयोजना प्रबन्धक रबि कुमार गौतम र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका हुन् ।
हाइड्रोले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँ दरको ६९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
वि.सं. २०६५ सालमा प्रा.लि. को रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको सुपर खुदी हाइड्रोपावरको रजिष्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं महानगरको वडा नंं. ३० डिल्लीबजार, चारखालमा रहेको छ । अधिकृत पूँजी १ अर्ब ७५ करोड रुपैयाँ र जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँ रहेको यस कम्पनीले ६९ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
लमजुङ्ग जिल्लाको मर्स्याङ्गदी गाउँपालिकाको वडा नं. २, खुदीमा रहेको निर्माणाधिन माथिल्लो खुदी जलविद्युत आयोजनाले खुदी खोलाबाट २६ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी वि.सं.२०७८ साल बैशाखबाट आयोजनाको निर्माण कार्य थालनी गरेको हो । भविष्यमा थप हाईड्रोपावर क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको यस कम्पनीमा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।