काठमाडौं । संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधारको लागि हालसम्म भएको अध्ययन प्रतिवेदनहरु यथाशिघ्र समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले निगम तथा विमानस्थलहरुको सुधारका लागि हालसम्म भएको अध्ययन, अनुसन्धानसम्बन्धि सम्पूर्ण प्रतिवेदन पेस गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकमा समितिले सो सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराँती र निगमका पदाधिकारीसँग छलफल गरेको थियो । समितिको बैठकमा भएको छलफलको आधारमा निगम र विमानस्थलहरुको सुधारसम्बन्धि हालसम्मको अध्ययन प्रतिवेदन छिटोभन्दा छिटो समितिमा पेस गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति राजकिशोर यादवले बताए ।
त्यसैगरी समितिले प्रधानमन्त्री कार्यालयको विधेयक शाखामा अड्केर बसेको नागरिक उडड्यनसम्बन्धि विधेयकबारे गम्भीर चासो व्यक्त गर्दै त्यसको अवस्थाबारे पनि समितिलाई जानकारी गराउन सरकारलाई सचेत गराएको छ ।
‘नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधार तथा समग्र विषयमा के–कस्ता अध्ययन, अनुसन्धानहरु भएका छन्, तिनको प्रतिवेदनहरु समिति समक्ष यथाशिघ्र पेस गर्न मन्त्रालय र नेपाल नेपाल वायुसेवा निगमलाई निर्देशन दिने, यो भन्दा अगाडिको बैठकमा मन्त्रीले नै नागरिक उडड्यनसम्बन्धि विधेयक क्याविनेटमा पठाइसकिएको जानकारी गराएको स्थिति छ । त्यसैले मन्त्रालयले त्यो विधेयकको स्थितिको बारेमा के हो ? मन्त्रालय कुन दिनमा निर्णय गरेर त्यहाँ पठाएको हो, त्यो डेट सहित यो समितिमा उपलब्ध हुनुपर्यो ’, उनले भने ।
बैठकमा समितिका सदस्यहरुले नेपाल वायुसेवा निगमको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै यसको सुधारका लागि ठोस कदम नचालेको भन्दै सरकारको आलोचना गरेका थिए ।