काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको अवितरित हकप्रद सेयरमा १८० रुपैयाँसम्मको आवेदन परेको छ । शुक्रबारदेखि शिलबन्दी बोलपत्र खोल्दा प्रतिकित्ता १८० रुपैयाँसम्म आवेदन परेको सनराइज क्यापिटलका चिफ अप्रेटिङ अफिसर बिजेन्द्र प्रधानले जानकारी दिए ।
‘आजबाट बोलपत्र खोल्न थालिएको छ, अहिलेसम्म ४ हजार आवेदन खोलिएका छन्, अझै बोलपत्र खोल्न बाँकी छ,’ उनले भने, ‘अहिलेसम्म खोलिएका बोलपत्रहरूमध्ये सबैभन्दा धेरै १८० रुपैयाँसम्मको आवेदन परेको छ । तर, अधिकांश आवेदन १३० देखि १५० रुपैयाँको बीचमा छन्, यही बीचको मूल्य नै कट अफ प्राइस हुन सक्छ ।’
उनका अनुसार कट अप प्राइस आउन एक/दुई दिन लाग्ने उनले बताए । कम्पनीको सेयरमा ३० हजार बढीले सेयर खरिदका लागि आवेदन दिएका छन् । ‘चेकबाट आएको रकम कति छ भनेर सबै खोलिएपछि मात्रै थाहा हुन्छ, बैंकमा मात्रै ७ अर्ब रुपैयाँ बढीको आवेदन परेको छ,’ उनले भने ।
कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँको १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता बिक्री भएको थिएन ।
बिक्री नभएको उक्त सेयर गत पुस १२ गतेदेखि पुस २९ गतेसम्म लिलामीमार्फत बिक्री खुला गरेको थियो ।
कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।