काठमाडौं । बुधबारको सेयर बजारमा करेक्सन देखिएको छ । मंगलबार बढेर उच्च बिन्दुमा पुगेको नेप्से परिसूचकमा बुधबार १२.१० अंकको करेक्सन देखिएको हो । कारोबार खुल्दा उकालोको बाटो समाएको बजारले बन्द हुँदा ०.५५ प्रतिशतले घटेर २१६३.०६ बिन्दुमा झरेको छ ।
नाफा बुक गर्ने हाबी हुँदा बजारमा करेक्सन देखिएको हो ।
दिनभरको बजारमा पौने १० अर्ब बढीको सेयर कारोबार भएको छ । ३०० वटा स्क्रीप्स कारोबारमा आएको बजारमा ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दिनभरमा ३ करोड ३५ लाख २५ हजार ७०२ वटा सेयर खरिदबिक्री भएका छन् ।
बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ६५ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि निरन्तर सर्किट लागेको कम्पनीको सेयर मूल्यमा बुधबार पनि सर्किट लागेको छ । जसको सेयर मूल्य प्रतिकित्ता ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६०२.२० रुपैयाँ पुगेको छ ।
दोहोरो अंकले घटेको बजारमा हिमालयन रि इन्स्योरेन्ससहित चार कम्पनीको सेयर मूल्य सर्किट लागेको छ । जसमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, नेपाल वेयरहाउजिङ कम्पनीको १० प्रतिशत र गरिमा डिबेन्चर, २०८५ को ९.८९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
दोहोरो अंकले घटेको बजारमा तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । इष्ट्रन हाइड्रोपावर, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
बजारमा बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स र अन्य समूह बाहेक सबै समूह राताम्मे देखिएका छन् ।