काठमाडौं । एनआईएमबि एस क्यापिटलले आज माघ २ गतेदेखि एनआईबिएल स्टेबल म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले १२ वर्ष अवधि रहेको १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड बिक्री खुला गरेको हो । यो फण्ड एक बन्दमुखी योजना हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल (साविक एनआईबिएल एस क्यापिटल) र १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेन्ट बैंक)लाई छुट्याई बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधरण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
क्यापिटलको फण्डमा लगानीकर्ताहरूले न्यूनतम १ सय इकाईदेखि अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सक्ने छन् । फण्डको इकाईमा छिटोमा माघ ५ गते आवेदन दिनु पर्नेछ । उक्त समयमा पर्याप्त आवेदन नपरेमा माघ १६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।
फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।