काठमाडौं । साताको पहिलो दिन कारोबार भएको सेयर बजारमा सुधार देखिएको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.५१ प्रतिशतले बढेको छ ।
बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । गत बिहीबार ४ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ३१४ वटा स्क्रीप्सको कारोबार भएको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ३५ करोड ६८ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक सय रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीको ३ करोड ५२ लाख रुपैयाँ बराबरको साधारण सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने प्रतिकित्ता ६७२ रुपैयाँ छ । संस्थापक र साधारण सेयर गरी कम्पनीको आइतबार मात्रै ३९ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बजारमा ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा हिमालयन पावर पार्टनर, कालिका पावर कम्पनी, तेह्रथुम पावर कम्पनी, मध्य भोटेकोशी जलविद्युत कम्पनी, माथिल्लो मैलुन खोला जलविद्युत, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ्ग कम्पनी, हिमालयन रि इन्स्योरेन्स, दिब्याश्वरी हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर कम्पनी रहेका छन् ।
बजारमा होटल्स र ट्रेडिङ्ग समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् ।