काठमाडौं । सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट एक आपसमा गाभिई एलएस क्यापिटलको नामबाट एकीकृत कारोबार शुरु गरेका छन् । क्यापिटलले पुस २३ गते सोमबारबाट एकीकृत कारोबार शुरु गरेको हो ।
सोमबार कम्पनीको प्रधान कार्यालय नयाँ वानेश्वरमा आयोजना गरिएको एक समारोहमा साबिक लक्ष्मी क्यापिटल मार्केटका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटलका अध्यक्ष अपछ कुमार यादवले एकिकृत कारोबार शुरु गरेका हुन् ।
कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्न स्वीकृति पाएको क्यापिटलले पुस २३ गतेबाट ग्राहकलाई थप सशक्त रुपमा सेवा सुविधा उपलब्ध गराउने लक्ष्य लिएको छ ।
विगत तीन दशकदेखि पुँजी बजारको उत्थानमा समर्पित यस मर्चेण्ट बैंकले आफ्ना समस्त ग्राहकलाई उच्चतम सेवा उपलब्ध गराउँदै आईरहेको र दुई कम्पनी गाभिए पश्चात नवीनतम सेवा सुबिधाका साथ छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य लिएको क्यापिटलले बताएको छ । मर्जर पश्चात राजिव सापकोटाले अध्यक्षको पदभार ग्रहण गरेका छन् भने विजयलाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीलाई निरन्तरता दिएका छन् ।
साथै, मर्जर पश्चात कम्पनीले हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ व्यवसायमा प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी आफ्ना सेवाहरुको विस्तार गर्ने र सकारात्मक सोचका साथ आफ्ना सेवाहरुलाई अझ सुदृढ र सशक्त रूपमा विस्तार गर्दै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापिटलले लिएको छ ।
मर्चेण्ट बैंकको एकीकृत चुक्ता पुँजी मर्जर पश्चात ४८ करोड ८९ लाख कायम भएको छ । कम्पनीले सर्वसाधारणका लागि २०० भन्दा बढी धितोपत्र निष्काशन, ४१ वटा बोलपत्र मार्फत धितोपत्र निष्काशन र ५२ वटा सेयर प्रत्याभुति व्यवस्थापन गरिसकेको कम्पनीको रुपमा परिचय बनाउन सफल भएको छ ।
साथै, ३०० जनाको करिब ६४ करोड रकम बराबरको पोर्टफोलियो व्यवस्थापन गरेको, ९ वटा म्युचुअल फण्ड व्यवस्थापन गरीसकेकोमा हाल १ खुल्लामुखी म्युचुअल फण्ड सहित ७ वटा म्युचुअल फण्ड व्यवस्थापन गर्दै आईरहेको छ । जस अन्तर्गत ७ अरबको सम्पत्ति व्यवस्थापन भईरहेकोे, एक बिशिष्टीकृत लगानी कोष अन्र्तगत प्राइभेट इक्विटी भेन्चर क्यापिटल फण्डको रुपमा १ अर्ब बराबरको लक्ष्मी सस्टेनेबल इनर्जी फण्ड संचालनमा रहेको, ३२ वटा कम्पनीहरुको सेयर रजिष्ट्रारको काम गरिरहेको र ३ लाख ३० हजारभन्दा बढी डिम्याट खाता खोल्न सफल भएको छ ।