काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंकको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले संस्थासँग तीन दिने स्पष्टिकरण माग्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो ।
बैंकले सेयर कारोबार खुला भएको समयमा लाभांश घोषणा सम्बन्धी निर्णय गरेको भन्दै नेप्सेले कारबाही स्वरुप कम्पनीको सेयर कारोबार रोकिदिएको हो ।
कम्पनीको पुस ५ गते दिउँसो साढे २ बजे बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ९.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत नगद गरी कूल १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
यससँगै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने निर्णय वा सूचना नेप्सेलाई जानकारी सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ । तर बैंकले त्यसको विपरित अर्थात कारोबार खुला रहेको समयमा लाभांश सम्बन्धी जानकारी गराएको भन्दै नेप्सेले कम्पनीको कारोबार स्थगन गरेको हो ।
साथै, यस विषयमा के भएको हो ? के कारणले समयमा नै जानकारी दिन नसकेको हो ? भन्दै यसमा नेप्सेले संस्थासँग यसको स्पष्टिकरण माग गरेको छ । जसको लागि तीन कार्यदिनको समय दिइएको छ ।
यससँगै कम्पनीले पुस १२ गते बिहीबारभित्रमा नेप्सेलाई स्पष्टिकरण दिइसक्नु पर्ने हुन्छ । पुस ९ र १० गते सार्वजनिक बिदा परेकाले कम्पनीले तीन कार्यदिन अर्थात पुस १२ गतेभित्रमा स्पष्टिकरण दिनुपर्ने हुन्छ ।