काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले आईपीओमा दिँदै आइएको १० कित्ता सेयरको नीति खारेज नहुने स्पष्ट पारेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त नीतिमा पुनरावलोकन हुन सक्ने तर खारेज नहुने स्पष्ट पाएका हुन् ।
‘आईपीओमा १० कित्ता नीतिका सकारात्मक र नकारात्मक पक्षका बारेमा अध्ययन गरिनेछ, अध्ययनले जे देखाउँछ सोही निर्णय गरिनेछ, तर यो खारेज हुँदैन, उनले भने ।
उनले नियामक निकायको निर्देशन बमोजिम काम गर्न पुँजीबजारका सरोकारवालाहरुलाई आग्रह गरेका छन् । पुँजी बजारसङ्ग सम्बन्धित सबै कम्पनीको सबै त्रैमासिक तथा वार्षिक रिपोर्ट समयमै पेश गर्नुपर्ने बताउँदै उनले भने- ‘हाम्रो काम गर्ने प्रणालीमा बदलाब ल्याउन जरुरी छ ।’
त्यस्तै, हालै बोर्डले लकिङ पिरियडसङ्ग सम्बन्धि जानकारी दिनुपर्ने व्यवस्था गरेको छ । यसले लगानीकर्तालाई सहज हुनेछ । यसअघि सेयर बजारका लगानीकर्ताहरु पुँजी बजारको सूचनाबाट बञ्चित भएका बताउँदै अध्यक्ष हमालले अब लकिङ पिरियड अवधिको बारेमा जानकारी दिएपछि लगानीकर्ता सजग हुने र यो व्यवस्थाले बजारमा कति भोलुम हुन्छ भन्ने जानकारी गराउने समेत उनले बताए ।
त्यस्तै, आफ्नो कार्यकालमा विभिन्न व्यवस्थामा पुनरावलोकन भएको बताउँदै अध्यक्ष हमालले आफ्नो फाइदाको लागि नभई बजारको लागि काम गरेको जिकिर गरेका छन् । आफ्नो कार्यकालमा आईपीओ, बजार संचालन गर्ने कस्टडी, सुशासन लगायतका विभिन्न ५ वटा काम गर्ने उनको लक्ष्य छ ।
साथै, उनले अध्यक्षबाट बिदा भएर जानु भन्दाअघि दीर्घकालीन वा महत्वपूर्ण निर्णय गर्ने बताउँदै उनले त्यसमा सबैको सहयोगको अपेक्षा गरेका छन् । बोर्डको निर्देशनअनुसार काम नगर्ने कम्पनीहरुलाई तत्काल कारबाही गर्ने मनसायमा आफू रहेको उनको भनाई छ ।
‘३० वर्षको अवधिमा ८८ वटा कम्पनीलाई कारबाही गरें । एकैपटक यति धेरै कम्पनीलाई कारबाही गरेको यो पहिलो पटक हो । आगामी दिनमा पनि वित्तीय विवरण पठाउन ढिला गर्ने कम्पनी स्वतः कारबाहीमा पर्नेछन्,’ अध्यक्ष हमालले भने ।