
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सूचीकृत संस्थाहरूलाई संस्थापक समूह तथा अन्य समूहको लकइन पिरियड सकिनुभन्दा ३० दिनअघि सार्वजनिक गर्न निर्देशन दिएको छ । सोमबार एक निर्देशन जारी गर्दै सेबोनले सूचीकृत कम्पनीहरूको संस्थापक समूह तथा अन्य समूहको लकइन अवधि समाप्त हुनुभन्दा ३० दिन अघि नै सार्वजनिक सूचना प्रकाशन गर्न निर्देशन दिएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत संगठित संस्थाको संस्थापक तथा अन्य समूहको सेयरको लक इन अवधि सम्बन्धी व्यवस्था रहेको छ । उक्त व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, सर्वसाधारण लगानीकर्ताहरूलाई समेत जानकारी तथा दोस्रो बजारमा हुने कारोबारलाई थप व्यवस्थित तथा पारदर्शी बनाउन नेप्से, सिडिएस एण्ड क्लियरिङ्ग र सम्पूर्ण कम्पनीलाई लक इन अवधि समाप्त हुनुभन्दा ३० दिन अगाडि जानकारी गराउन निर्देशन दिईएको उपकार्यकारी निर्देशक अम्बिका प्रसाद गिरीले जानकारी दिए ।
‘कम्पनीले संस्थापक समूह तथा अन्य समूहको सेयरको बिक्री गर्न नपाईने गरी तोकिएको लक इन अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० दिन अगाडि जानकारी गराउन सेयर लक इनमा रहेको वर्ग (जस्तैः संस्थापक, स्थानीय प्रभावित आदि), लक इनमा रहेको कुल सेयर संख्या, लक इन अवधी समाप्त हुने मिति समेत स्पष्टरुपमा खुलाई सूचना प्रकाशन गर्नुपर्नेछ,’ बोर्डले जारी गरेको निर्देशनमा उल्लेख छ ।
साथै, उक्त जानकारी बोर्ड, नेप्से र सिडिएस एण्ड क्लियरिङ्गलाई उपलब्ध गराउनुपर्ने छ । साथै सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भए पछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी सम्बन्धित संस्थाले आफ्नो वेवसाईटमा समेत राख्नु पर्ने बोर्डले भनेको छ ।
