काठमाडौं । आइतबार विभिन्न २ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर १० गते अन्तिम दिन हो ।
साधारणसभा तथा लाभांश प्रयोजनार्थ सांग्रिला डेभलपमेन्ट बैंकले मंसिर ११ गतेदेखि मंसिर २४ गतेसम्म र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले मंसिर ११ गतेदेखि मंसिर २३ गतेसम्म सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त गर्नेछन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद गरी कूल ५.२६३ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले १९औं वार्षिक साधारणसभा मंसिर २४ गते लैनचौर ब्याङ्क्वेट काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ नगद गरी कूल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले १५औं वार्षिक साधारणसभा मंसिर २३ गते रुपन्देहीमा बिहान ११ बजे बोलाएको हो