काठमाडौं । प्यानलको प्रयोग गरी आधुनिक घर बनाउँदै आएको एसवाई प्यानलले आफ्ना प्रडक्ट विदेशमा पनि निर्यात गर्न थालेको छ । कम्पनीले प्रि-फ्याब घर निर्माणका लागि आवश्यक सामग्रीहरू भारतसँगै भुटानमा पनि निर्यात गर्न थालेको हो । कम्पनीले भारतमा निर्यात गरिसकेको छ भने भुटानमा निर्यातको तयारी थालेको हो ।
एसवाई प्यानल र एसवाई प्यानल विल्डर्स भुटानबीच शुक्रबार भुटानमा प्रडक्ट निर्यातका लागि सम्झौता भएको छ । एसवाई प्यानलका निर्देशक बिमलराज गोसाईंले भुटान निर्माणका लागि आवश्यक पर्ने पर्खाल र छानोका प्यानल तथा झ्याल/ढोकाहरू निर्यात हुने बताए ।
‘हामीले भुटानमा डिलर बनाएर सामान निर्यात गर्ने तयारी गरेका छौं, पहिलो चरणमा आवासीय डिलर बनाउनका लागि सामान जान्छ, ‘उनले भने, ‘कम्पनी र भुटानी डिलरबिच भएको सम्झौता पश्चात् भुटानमा पनि निर्माणजन्य सामग्रीको निर्यात गर्ने ढोका खुलेको छ ।’
गोसाईंका अनुसार पहिलो चरणमा २० लाख रुपैयाँबराबरको निर्माण सामग्रीको निर्यात हुनेछ । कम्पनीले प्यानलको प्रयोग गरी कम लागतमा घर निर्माण गर्दै आएको छ ।
‘देशमा निर्माण सामग्रीको आयात बढिरहेको समयमा एसवाई प्यानल कम्पनीले निर्माण सामग्रीको निर्यात गर्नु खुसीको विषय हो, आगामी दिनमा निर्यात बढाउने तथा प्यानलका घर निर्माणलाई तीव्रता दिने हाम्रो योजना छ,’ गोसाईंले भने ।
कोरियाली लगानीमा चितवनको रत्ननगरमा सञ्चालनमा रहेको उद्योगबाट प्यानलको सामग्री उत्पादन हुँदै आएको छ । कम्पनीले केही समय अगाडि भारतको सिलगुडीमा प्यानल पठाएर निर्यातको सुरुवात गरेको थियो ।
गोसाईंका अनुसार नेपालमा एसवाई प्यानलका करिव ७/८ हजार घर बनिसकेका छन् ।
आईपीओ पनि आउँदै
एसवाई प्यानल कम्पनीले आईपीओ पनि जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनबित्तिकै सर्वसाधारणका लागि आईपीओ जारी हुने उनको भनाइ छ ।
‘हामीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि अनुमति माग गरेका छौं, बोर्डले स्वीकृति दिनेबित्तिकै सर्वसाधारणलाई बिक्री खुल्ला गर्ने छौं,’ गोसाईंले विकासन्युजसँग भने ।
सेयर जारी गर्नको लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कुल चुक्ता पुँजीको ४० प्रतिशत सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने कम्पनीको तयारी छ ।