काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज एफपीओ बाँडफाँड गरेको हो । निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटलका अनुसार लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट गरिएको हो ।
लघुवित्तले कात्तिक २१ गतेदेखि कात्तिक २४ गतेसम्म एफपीओ बिक्री खुला गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गरेको थियो ।
साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात् उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको थियो । सोही पूँजी संरचना कायम गर्न लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका १ लाख ७८ हजार ४५१।१८ कित्ता सेयर बिक्री खुला गरेको थियो ।
लघुवित्तको एफपीओमा १० लाख ७२ हजार ७६८ जनाले आवेदन दिएका थिए । जसमध्ये ३२५ जनाको आवेदन विभिन्न कारणले रद्द भएको छ । योग्य १० लाख ७२ हजार ४४३ जनलाई गोलाप्रथा विधिमार्फत् बाँडफाँट गर्दा १७ हजार ८४५ जनाले लघुवित्तको सेयर प्राप्त गरेका छन् । साथै, १ जना लगानीकर्ताले भने ११ कित्ता, १ जनाले १०.१८ कित्ता सेयर र बाँकीले १० कित्ता सेयर प्राप्त गरेका हुन् ।