काठमाडौं । गुणस्तरहीन सिमेन्ट उत्पादन तथा बिक्री वितरण गरेको पाइएपछि गुणस्तर तथा नापतौल विभागले तीन सिमेन्ट उद्योगलाई कारवाही गरेको छ ।
विभागले बजारबाट नमुना संकलन गरी गुणस्तर परीक्षण गर्दा तोकिए अनुसारको गुणस्तर नपाइएपछि मारुती, युनाइटेड र जगदम्बा सिमेन्टलाई कारवाही गरेको हो । विभागले यी तीनवटै कम्पनीलाई आफ्ना उत्पादन बजारमा विक्री वितरण नगर्न, बजारमा पठाइएको सिमेन्ट फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण पेश गर्न विभागले कम्पनीहरुलाई पत्राचार गरेको छ ।
बजार अनुगमनका क्रममा संकलन गरेको नमूना विभागको प्रयोेगशालामा परीक्षण गर्दा तथा उद्योग निरीक्षण गर्दा सम्बन्धित नेपाल गुणस्तर बमोजिम नपाइएकोले नेपाल गुणस्तर (प्रमाण–चिन्ह) ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम कारवाही गरिएको महानिर्देशक विश्वबावु पुडाशैनीले जानकारी दिए ।
उनका अनुसार सिराहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्ड अनुसार गुणस्तर नभएको भेटिएको हो ।
कुनमा के कमजोरी ?
विभागका अनुसार मारुती सिमेन्टले उत्पादन गरेको ४३ ग्रेड सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तर अनुरुप नरहेको, कम्पनीले उत्पादन गरेको सिमेन्टको ७ र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै कारबाही गरेको हो । कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको क्रमशः ३३ र ४३ हुने पर्नेमा ३१ र ३७ फेला परेकोले कारबाही गरिएको विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

यस्तै, युनाइटेड सिमेन्टले उत्पादन गरेको ५३ ग्रेडको ७ र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै विभागले कारबाही गरेको हो । कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको क्रमशः ३७ र ५३ हुने पर्नेमा ३५ र ३९ फेला परेको परेको थियो । यस्तैगरी, जगदम्बा कम्पनीले उत्पादन गरेको पीपीसी सिमेन्टको ३ र ७ दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै कारबाही गरेको हो । कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः १६ र २२ हुने पर्नेमा १५ र २० फेला परेको विभागले जानकारी दिएको छ ।
‘कर्मचारीले गल्ती गरे’
बजार जानुभन्दा अगाडी तीन ठाउँमा परीक्षण हुने गरेको सिमेन्टमा गुणस्तर नभएको भन्नै विभागको जानकारी आएपछि अचम्मित भएको मारुती सिमेन्टका राजु श्रेष्ठ बताउँछन् । उनले १५ वर्षको अवधिमा अहिलेसम्म कुनै गल्ती नभएको भन्दै यो विषयमा अध्ययन भइरहेको बताए ।
‘हामीले तीन ठाउँ परीक्षण गरेपछि मात्रै बजार पठाउने गरेका छौं, यस्तो परीक्षणमा कैफियत देखिएका उत्पादन बजार पठाउन रोक्ने गरिन्छ, हामीले उत्पादन थालेको १५ वर्षसम्म यस्तो कुनै समस्या आएको थिएन, कर्मचारीबाट केही गल्ती भएको पनि हुन सक्छ, यो विषयमा हामी पनि अध्ययन गरिरहेका छौं, छिट्टै निष्कर्शमा पुग्छौं,’ श्रेष्ठले भने ।
उनका अनुसार अहिले दैनिक रुपमा २० देखि ३० हजार बोरा सिमेन्ट बजार जाने गरेको छ । सो व्याचमा कति उत्पादन भएर बजार गएको छ भन्ने यकिन भइनसकेको उनको भनाई छ ।
युनाइटेड सिमेन्ट भने विभागले नै गतल गरेको हुन सक्ने बताउँछ । कम्पनीका उच्च तहका एक कर्मचारीले अहिलेसम्म कुनै गल्ती नभेटिने गरेकोमा अनुगमनमै केही समस्या भएजस्तो देखिएकोे बताए ।
‘विभागबाट भर्खर हामीलाई जानकारी आएको छ, जानकारी पाएलगत्तै हाम्रा प्रतिनिधि गुणस्तर परीक्षणमा जानुभएको छ, के भएको रहेछ छिट्टै थाहा हुन्छ, समस्या हाम्रो उत्पादनमा भन्दा पनि विभागको अनुगमनमा हुन सक्ने हाम्रो प्रारम्भिक अनुमान छ,’ ती कर्मचारीले भने ।