काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले हाल बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा लिने व्याजदर अत्याधिक भएको गुनासो गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘गहिरिँदो तरलता अभावः कारण र समाधान’ विषयक कार्यक्रममा बोल्दै उनले व्याजदरले व्यवसायलाई प्रभाव परेको बताएका हुन् ।
उनले अहिले बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा लिने व्याजदर अत्याधिक भएका बताउँदै यसबारे पुनर्विचार गर्नु पर्ने धारणा पनि राखे ।
‘विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस कम भएपछि व्यवसायले एक किसिमको गति लिएको थियो, त्यो गतिको बिचमै व्याजदर उच्च भयो, अब हामी गति अगाडि बढाउन सक्दैनौं भन्ने कुरा प्रष्ट देखिन्छ, यसले उत्पादन र उपभोगलाई पनि असर पर्छ, यसबारे हामीले सोच्न आवश्यक छ,’ उनले भने ।
उच्च व्याजदरले कोरोनाको अति प्रभावित क्षेत्र र साना तथा मझौला उद्योगीलाई पनि समस्या हुने र समग्र अर्थतन्त्र सुस्त हुने उनको भनाई छ ।
यो तरलताको अभाव विगतमा पनि थियो । जब अर्थतन्त्र ६/७ प्रतिशतभन्दा माथिको ग्रोथमा जान्छ । त्यसबेला बैंकिङ क्षेत्रमा तरलता अभाव देखिने गरेको छ ।
‘हाम्रो अर्थतन्त्र रेजिलेन्ट छ, हामीले यसअघि पनि धेरै चुनौतिहरु भोगेका छौं, कोरोना भाइरस अहिलेसम्म आएको सबैभन्दा ठूलो संकट हो, तर, नेपाल राष्ट्र बैंकको कुशल व्यवस्थापनले सहज भयो, हामी चाँडै रिभाइब भयौं, अहिले बैंकिङ क्षेत्रमा २० अर्ब मात्रै तरलता छ, यो गम्भीर अवस्था हो, निक्षेपभन्दा ३ खर्ब भन्दा बढी कर्जा प्रवाह भएको छ, तरलता व्यवस्थापनका लागि पुँजीगत खर्च हुनु पर्ने हुन्छ तर अहिले त्यो अवस्था देखिँदैन, अब हामीले कसरी समग्र अर्थतन्त्रलाई गति दिने भन्ने विषयमा सोच्ने बेला आएको छ,’ उनले भने ।
उनले अहिलेको तरलता अभावले ४५ लाख सेयर लगानीकर्तालाई असर पार्ने पनि बताए । तरलता अभावले उत्पादन र उपभोग घटाउने र सेयर बजारमा पनि असर पर्ने बताउँदै उनले पर्यटन साना तथा मझौला उद्योगहरुको उत्थानका लागि लाग्नु पर्ने पनि बताए ।
‘तरलता अभावले ४५ लाख सेयर लगानीकर्तालाई प्रभाव पर्छ, हामीले जोखिम लिन आवश्यक छ, जुन गतिमा हामी बढ्नु पर्ने थियो त्यो अवस्था अहिले छैन, समग्र अर्थतन्त्रलाई बढाउनको लागि जोखिम उठाउन बढाउनु पर्ने हुन्छ,’ उनल भने ।
उनका अनुसार तरलता अभाव हुँदा शोधनान्तरमा पनि असर पर्ने र समग्र सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न पनि चुनौति हुने बताए ।