काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को संक्रमण नकारात्मकता तिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् । बुधबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड-१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड-१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका हुन् ।
यद्यपि अहिले भयावहको स्थिति नभएको उनको भनाई छ । प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड-१९ को संक्रमण निर्मुल पार्न सजिलो नभएको पनि बताए । पूर्ण रुपमा नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दुरी कायम राख्नुपर्ने बताए ।
‘३ दिनदेखि लक्षणहरु फेरी नकारात्मकतातिर जान खोज्या होकी, यद्यपी स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनभन्दा अगाडी नै हामीले ध्यान दिनुपर्दछ । अहिले स्थिति भयावह छैन । यसको अर्को जेनेरेशन चाहीँ अझ बढी खतरनाक ढंगले अर्कै प्रकृतिमा पैदा भएको छ । हिजोको कोभिड-१९ लाई हेरेर तयार गरेको खोपले नयाँ भाइरसलाई काम गर्छ कि गर्दैन त्यो पनि थाहा छैन । एकपटक कडाइका साथ नियन्त्रण गरेर निर्मुल गर्नुपर्ने । खोप लगाएर निर्मुलन हुन सजिलो छैन । पूर्ण रुपमा नियन्त्रण नगरेसम्म खतरा भइरहन्छ । पूर्ण रुपमा नियन्त्रण गर्न सामाजिक दुरी, संक्रमण हुने स्थितिबाट बच्ने, बचाउने । संक्रमण हुने स्थिति नहोस् ।’, उनले भने ।
प्रधानमन्त्री ओलीले अन्य देशको तुलनामा नेपालमा कोभिड-१९ संक्रमणको असर कम परेको भन्दै फेरि पनि असर कम पर्ने बताए । संक्रमण बढ्न नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन मान्नुपर्ने बताए ।
‘हामी कहाँ यसको असर कम पर्यो । फेरी पनि कम पर्छ र बाहिर, अन्यत्रजस्तो यसलाई हामी संक्रमित हुन दिदैनौँ । दिनु हुँदैन । विभिन्न तरिका अवलम्बन गर्नुपर्छ । हामीले नियम, आदेशको पालना गर्नुपर्छ । स्वास्थ्य मन्त्रालय, सिसिएमसीले जारी गरेको नियम मान्नुपर्छ । त्यसो गरे मात्रै हामी यसबाट जोगिन सक्छौं ।’, उनले भने ।
प्रधानमन्त्री ओलीले सरकारको निरोगी नेपाल स्वास्थ्य नीतिका कारण देशमा कोभिड-१९ को प्रभाव कम भएको र नियन्त्रण गर्न सकेको दाबी पनि गरे ।