लुम्बिनी । लुम्बिनी प्रदेशमा श्रम बजारको सूचना प्रणाली विकास (ईएलएमएस) परियोजनाको सुरुवात भएकाे छ । विभिन्न उद्योगहरुको माग अनुरुप श्रमबजारको सूचना सम्बन्धी सरल र प्रभावकारी पद्धतिको निर्माण गर्ने उद्देश्यले नेपालका प्रमुख ५ वटा रोजगारदाता संस्थाहरुको संयुक्त पहलमा सचिवालय गठन गरि श्रम सुचनामा रोजगारदाताको माग अनुरुप कार्य गर्न ईएलएमएस परियोजना शुरु गरिएको हाे ।
नेपाल उद्योग परिसंघको आयोजनामा लुम्बिनी प्रदेशमा आयोजित एक कार्यक्रमा प्रदेश प्रमुख धर्मनाथ यादवले सो परियोजनाको सुरुवात गरेका हुन् । कार्यक्रममा प्रदेश प्रमुखले परियोजनाले कृषि, निर्माण र पर्यटन लगायत विविध क्षेत्रको समग्र शीप पहिचान गरी आवश्यक शीपहरुको एकरुपता कायम गर्दै सरकारलाई सो अनुरुप नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोरले प्राविधिक एवम् व्यवसायिक तालिम प्रदान गर्ने संस्थाले दिने गरेको तालिम तथा शिप र उद्योगको आवश्यकता बीच बेमेल रहेको जनाएका थिए । यस्तो अवस्थाले एकातिर तालिमको नाममा सरकारको धेरै रकम खर्च भइरहेको छ भने अर्कोतिर नेपाली युवाहरुले वान्छित रोजगारी नपाउँदा न्यून ज्यालाको काम गर्न विदेशिनु परेको यथार्थता छ ।
एकातिर यो स्थिति छ भने आर्कोतिर निजी क्षेत्रले आवश्यकता अनुसार शिपयुक्त जनशक्ति नपाउँदा उद्योग–व्यवसाय कम क्षमतामा सञ्चालन गर्नु परेको र सो जनशक्तिको न्यून पूर्ति गर्न विदेशी कामदारमा भर पर्नु परेको स्थिति उजागर गरेका थिए । यस्तो समस्यालाई दृष्टिगत गरि नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका प्रमुख संस्थाहरुले श्रम बजार अनुसार जनशक्ति पहिचान गर्ने कार्यको लागि सहकार्य प्रारम्भ गरेको समेत जानकारी दिएका थिए ।
मुलुकभित्र औद्योगिक क्षेत्रले श्रम बजार सम्बन्धी आवश्यक तथ्याङ्क एवम् जानकारीको अभावमा भोग्नु परेको समस्यालाई यस परियोजनाले सम्बोधन गर्नुका साथै मुलुकको औद्योगिक विकासमा सहयोग पुर्याउने, श्रम बजार सम्बन्धी सूचना प्रणलीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरुको लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन प्रत्याभूति दिलाउने, श्रम बजार सम्बन्धी तथ्याङ्क प्रणालीको विकास गर्ने कार्यमा काम गर्ने जानकारी गराए ।
सो कार्यक्रममा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र केसी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुशील चन्द्र तिवारी, भुमि व्यवस्थापन र कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले यस परियोजनाले कृषि, निर्माण र पर्यटन क्षेत्रका रोजगारदाताको माग अनुसारको प्राविधिक मानवस्रोत उत्पादन गर्न महत्वपूर्ण र सान्दर्भिक हुने बताए । परियोजनाले आफ्नो लक्ष्य र अपेक्षित उपलब्धि हासिल गर्न आफ्ना मन्त्रालयले सबै प्रकारको सहयोग, साझेदारी र समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमा प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा. डा. ईश्वर गौतमले विशिष्ठ अतिथिको रुपमा बोल्दै निजी क्षेत्रले तथ्यांकीय विवरण संकलन गर्ने कार्यमा सक्रियता देखिएको कार्यलाई सह्राहना गरेका थिए । उनले प्रदेशले सञ्चालनमा ल्याउन लागेको रोजगारी पोर्टलसँग सहकार्य गर्दा परियोजनाको उद्देश्य हाँसिल हुने विश्वास व्यक्त गरे । साथै यस परियोजनाद्वारा रोजगारदाताको माग अनुसार “सिप वर्गीकरण” नेपालको सन्दर्भमा निकै आवश्यक विषयको उठान भएको समेत बताए ।
सो समारोहमा प्रदेश सरकारका उच्चपदस्थ अधिकारी लगायत लुम्बिनी प्रदेश परिसंघका संयोजक एजाज आलम, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा सहित विभिन्न उद्योगका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजना नेपाल उद्योग परिसंघ, लुम्बिनी प्रदेश उद्योग परिसंघ तथा रुपन्देही उद्योग संघले संयुक्त रुपमा गरेका थिए ।