भरतपुर । उद्याेग वाणिज्य संघ-चितवनले सदस्य अनुषा कृषि फर्मका प्रोपाईटर खगराज पाठकलाई व्यवसायी राहत कोष अन्तरर्गत २५ हजारको चेक हस्तान्तरण गरेकाे छ । संघका अध्यक्ष राजु श्रेष्ठले गत असोज १३ गते आगलागी भई ठुलो क्षति भएको संघको सदस्य पाठकलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
संघले सामाजिक उत्तरदायित्व एवम् व्यवसाय राहत कार्यक्रम अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको हो । संघले आफ्ना सदस्य व्यवसायीहरुलाई राहत उपलब्ध गराउने उद्देश्यले व्यवसायी राहत कोषको स्थापना गरेको छ ।
उद्याेग वाणिज्य संघ-चितवनले करदाता शिक्षा एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उद्यमी व्यवसायीलाई कर शिक्षा,करको दायरा,कर नीति, करको छुटको व्यस्था, व्यवसाय कर लगायतका विषयमा जानकार गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजु श्रेष्ठले कोभिड १९ का कारण धरासायी भएका व्यवसायीहरु भर्खरमात्र उठ्ने प्रयास गरिरहेको अवस्थामा कर, करजन्य विषय वस्तुमा अनभिज्ञ भएमा व्यवसाय चुस्त रहन नसक्ने बताए । कार्यक्रममा उनले व्यवसायीहरुले निश्चित भुगोलमा व्यवसाय गर्दा सरकारलाई तोकिए बमोजिमको कर तथा राजश्व बुझाउनु पर्ने कर्तब्य भएको बताउंदै सोही बमोजिम सरकारले पनि व्यवसायमैत्री वातावरण सिर्जना गर्नुपर्ने दायित्व रहेको बताए ।
सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले व्यवसायी कर तिर्न सदैव तयार रहेको तर करको दरमा बृद्धि भन्दा दायरा बृद्धिमा जोडदिनुपर्ने बताए । करदाता शिक्षा एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत घनश्याम पन्थीले प्रत्येक व्यवसायी आ-आफ्नो व्यवसायको कर अधिकृत आफै रहेको बताउंदै व्यवसाय नभए कर पनि नहुने बताउंदै व्यवसायको सफलतानै कर संकलनको सफलता रहेको बताए । कार्यक्रममा उनले आर्थिक विधेयक २०७७ ले ल्याएका विशेष छुट तथा कोभिड १९ प्रभावित क्षेत्रमा भएका सहुलियतका वारेमा सम्पूर्ण व्यवसायी जानकार हुनुपर्ने बताउंदै यस किसिमको कार्यक्रमको आयोजना गरेकोमा उद्योग वाणिज्य संघ-चितवन प्रति आभार व्यक्त गरे ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्याल र आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत विमल घर्ति मगरले कार्यपत्र प्रस्तुत गरेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । कर शिक्षा एवम् अन्तरक्रिया कार्यक्रममा संघमा आवद्ध वस्तुगत संघका अध्यक्ष,पदाधिकारी, संघका कार्यसमिति सदस्य, पदाधिकारी लगायत ८० जना व्यवसायीहरुको सहभागिता रहेको थियो । संघका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता एवम् कार्यकारी निर्देशक निलबहादुर केसीको सञ्चालन रहेको उक्त कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम संघको आयोजना एवम् भरतपुर महानगरपालिका कार्यालय एवम् आन्तरिक राजश्व कार्यालय भरतपुरको सहयोगमा आयोजना गरिएको हो ।