काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले तनहूँ जिल्लामा दुई शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले एकैसाथ तनहूँको साँखे बजारमा र कलेस्तीमा उक्त सेवा सञ्चालनमा ल्याएको छ ।
यी दुई बैंकको चौधौँ र पन्ध्रौँ शाखारहित बैंकिङ्ग सेवा हो । बैंकले गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ ।
बैंकले साँखे बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोही नगरपालिकाका अध्यक्ष रामचन्द्र भण्डारी र वडा अध्यक्ष दल बहादुर थापाले संयुक्त रुपमा गरेका छन् । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले मानबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।
यसैगरि, बैंकले कलेस्तीमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोहि नगरपालिकाका वडा अध्यक्ष सतिश चन्द्र न्यौपानेले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा सिकन्दर गुरुङ्गलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।
हाल बैंकले २२६ शाखा कार्यालयहरु, २ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।