
हरिभक्त शर्मा
काठमाडौं । म एक जना उद्योगी हुँ । अहिले नेपालका धेरै उत्पादन मुलक उद्योगहरु नेप्सेमा सूचिकृत भएका छैनन् । हामीले सरकारलाई दुई तीन वटा कुरामा पटक पटक ध्यानाकर्षण गराउँदै आएका छौं । आगामी दिनमा उत्पादन मुलक उद्योगहरुले पनि सूचिकृत हुने अवसर पाउन्, पूँजी बजारको लाभ उठाउन सकुन भन्ने हाम्रो अपेक्षा हो ।
उत्पादन मुलक उद्योगहरुलाई सूचिकृत गराउन नेपाल धितोपत्र बोर्डले त्यसको पहल गरिरहेको छ । हामीले पनि बिचबिचमा सुझावहरु दिईरहेका छौं । किन हामी जस्ता साना, मझौला तथा ठूला उद्योगहरु पूँजी बजारमा गएर त्यसबाट लाभ लिन पछि हटिरहेका छन् ? उनीहरुको मनोविज्ञानलाई धितोपत्र बोर्डले गहिरिएर अध्ययन गर्न जरुरी छ । सरकारले अनिवार्य गरेका संस्थाहरु त पक्कै पनि आउँलान अरुले पनि आउने वातावरण बनाउनु पर्छ ।
अहिले मुस्किलले २ सय वटा कम्पनी मात्रै सूचिकृत रहेछन् । त्यसमा पनि बैंक तथा फाइनान्स कम्पनीहरुकै हिस्सा ठूलो रहेछ । तर अझै पनि राष्ट्रिय बाणिज्य बैंक चाँही सूचिकृत नभएको रहेछ । सरकारले चलाएको कम्पनी भयो भने सूचिकृत नभए पनि हुने अनि निजी क्षेत्रले चलाएकालाई चाँही सूचिकृत हुनै पर्ने ? सरकारी कम्पनीलाई चाँही कानुनै नलाग्ने अनि निजी क्षेत्रलाई चाँही कानुन लाग्ने ? यो खालको दुविधालाई आगामी दिनमा सरकारले स्पष्ट पारोस । किन भने सरकारले दिशानिर्देश गर्ने हो, पथप्रदर्शन गर्ने हो ।
सरकारले चलाएका ठूला व्यापारिक कम्पनीहरु डुबेका छन् । जग्गा बेचेर तलब खानुपर्ने बाध्यता आएका छन् । पब्लिकमा लान सकिएको भए तीन कम्पनीहरु जोगिन सक्थे । पब्लिकको दबाव हुने थियो । नेपाल धितोपत्र बोर्डलाई मेरो अनुरोध छ, पहिले सरकारले चलाएका ठूला कम्पनीलाई सूचिकृत गराउनुस् । हामी निजी क्षेत्र पनि सूचिृकत हुन तयार छौं ।
हामी भारत र चीनसँग जोडिएको अवसर भएको मुलुकमा पर्छाै । हामीसँग ठूलो अवसर छ तर सँगै समस्या पनि छ । आयात नीति खुल्ला छ, बजार सानो छ, अर्थतन्त्रको आकार पनि सानो छ । यद्यपी हामी सानो देश भने होइनौं । भारत र चीनसँग जोडिएकाले हामी सानो देखिएका हौं । देश सानो होइन, नेपाल विश्वको ४१ औं ठूलो देश हो । अष्ट्रेलिया भन्दा हाम्रो जनसंख्या धेरै छ । स्वीजरल्याण्ड भन्दा पाँच।छ गुणा ठूलो छौं भने सिंगापुर भन्दा पाँच गुुणा ठूलो छ । त्यसकारण हामी ठूलै हो, ढंग नपुगेको, गरिब राखेको हुनाले सानो भनिएको हो । हामी दुनियाँको दरिद्रतम मुलुकका नागरिक भएका छौं । यहाँको बजारलाई ठूलो बनाउने तर्फ हामीले सोच्दै सोचेनौं । दक्षिण एसियाको पनि दरिद्र मुलुकमा हामी परिसकेका छौं ।
तर अब भने हामीले अवसरलाई सदुपयोग गर्नै पर्छ । देशको अर्थतन्त्रलाई कायापलट नै गर्नु पर्छ । त्यसलाई सहयोग गर्ने ठूलो उपकरणका रुपमा धितोपत्र रहन सक्छ । बोर्डले सरकारलाई रणनीतिक योजना बनाउन र हामीलाई पनि पूँजी बजारमा जोड्न प्रयास गर्न अनुरोध गर्छाै ।
तर हाम्रा सफ्टवेयहरु कति प्रतिष्पर्धी छन् ? साइबर सुरक्षा कस्तो छ ? हाम्रा तथ्यांकहरु कति सुरक्षित छन् ? हरेक नागरिकबाट संकलन गरिएको तथ्यांक कति सुरक्षित छन् ? अहिले त अमेरिकामा बसेर पनि नेपालका कम्पनी र व्यक्तिहरुको विवरण तुरुन्तै लिन सक्छन्, त्यस्तो असुरक्षाको अवस्था छ । नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराउँछु ।
भारत वा चीनसँग जोडिएर मात्रै हामीले लाभ लिन सक्ने अवस्था छैन्, जबसम्म हाम्रो एक्सचेञ्जलाई पनि भारत वा चीनीयाँ एक्सचेञ्जसँग जोड्दैनौं । उताको इण्डेक्स बढ्दा यता पनि बढ्ने व्यवस्था गरौं । घट्दा नेपालको पनि घट्ने व्यवस्था गरौं । हामीले पाँच बर्षदेखि भनिरहेका छौं, नेपाली कम्पनीलाई नेप्सेमा आइपीओ गर्न दिन्छौं तर फ्र्यांकफर्ट एक्सचेञ्ज, लण्डन एक्सचेञ्जमा जान किन नदिने ? हजार डलर लगेर लगानी गर्न दिन नहुने कानुन बोकेर बस्ने गभर्नरले त्यति खोल्न केले बाधा व्यवधान गर्यो ?
दुनियाँ।संसारका कुरा गर्ने तर संसारमा गएर कामै गर्न नदिने अनि नेपालीले कसरी सिक्छन् ? कसरी हामीले आफ्नो क्षमता बढाउन सक्छौं ?
हामीले संसारका बजारमा गएर आफ्नो क्षमता प्रर्दशन गर्न नसक्ने हो भने कसरी क्षमता बढ्छ ? धितोपत्र बोर्डलाई मेरो अनुरोध छ, पैसा बाहिर नजाने भएकाले नेपाली कम्पनीहरुले संसारको कुनै पनि एक्सचेञ्जमा गएर आइपीओ निकाल्न सक्ने व्यवस्था गरिनुपर्छ । हङकङ स्टक एक्सचेञ्जमा मलावी र सेरालियोन जस्ता देशका स साना कम्पनी पनि सूचिकृत भएका छन् ।
कारण के हो भने त्यहाँ पैसा लिन सहज छ, यदि एफडिआई ल्याएर नाफा विदेश जान दिन्छौं भने हामीलाई विदेशी स्टकमा गएर सूचिकृत हुने सुबिधा किन नदने ? नेप्सेमा सूचिकृत भएपछि म फ्र्यांकफर्ट वा न्युयोर्क एक्सचेञ्जमा गएर सूचिकृत हुन सक्दिन । त्यसकारण खोल्दिनुस, म लण्डन जान चाहान्छु की मुम्बई जान चाहान्छु की दिल्ली वा सांघाई जान चाहान्छु त्यहि जाउँला । त्यहाँ जादा के के कागजात बनाउनु पर्छ भन्नुस, हामी बनाउँछौं तर हामीलाई विदेशी स्टक एक्सचेञ्जमा जान दिनुस् ।
हाम्रो अर्थतन्त्रको आकार सानो छ, मैले आफ्नो कम्पनी सूचिकृत गरेँ भने पनि सिमित मान्छेहरुले खेलेको बजारमै सिमित हुनेछ । त्यसकारण अर्काे स्टक खोलौं तर त्यसलाई काठमाडौंमा होइन, प्रदेशको राजधानीमा लैजाऔं । पोखारा, बिराटनगर, बिरगञ्ज, भैरहवा वा अन्य कुनै ठूलो शहरमा लैजाऔं । त्यसले काठमाडौं खाल्डोबाट बाहिरका नेपाली नागरिकहरुलाई स्टकमा जोड्न सहयोग गर्छ । (नेपाल धितोपत्र बोर्डको रजत जयन्ती समापन समारोहमा नेपाल उद्योग परिसंघ अध्यक्ष शर्माले व्यक्त गरेको विचार)