नेपाल टेलिकम एसईई विद्यार्थी सिम: ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएस निशुल्क
काठमाडौं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि एसईईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक सहितको सिम नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने भएको छ । साथै यदि कुनै विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने त्यही सिममा अफर उपलब्ध गराउने व्यवस्था टेलिकमले गरेको छ । नयाँ सिम लिनका लागि विद्यार्थीहरुले एसईई प्रवेश–पत्रको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ । सिम लिइसकेपछि अफरहरु प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट *१६००# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्दछ । नयाँ लिइएका सिमकार्ड एक्टिभ भए पश्चात् उनीहरुलाई स्टुडेन्ट रजिष्ट्रेसन प्याक योजना अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी र ५ वटा एसएमएस गर्न तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने गरी मासिक ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । नयाँ सिममा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । यो बोनसवापत पाइएको सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ । हरेक पटक रिचार्ज गरेपश्चात् प्राप्त हुने सो सुविधा एक वर्ष अवधिसम्म उपयोग गर्न सकिनेछ । कोभिड १९ ले गर्दा उब्जिएको विषम परिस्थितिका कारण कम्पनीका कार्यालयमा उपस्थित हुन सहज नहुने भएकाले विद्यार्थीहरुले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा विभिन्न प्याकहरु उपलब्ध गराउनेछ । यसका लागि पहिलेदेखि नै प्रयोग गरिरहेको कम्पनीको मोबाइलबाट ८१६००३ मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ । त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रुपमा रजिष्टर गर्दछ । यसरी रजिष्टर भएका सिमकार्डबाट विद्यार्थी रजिष्ट्रेसन प्याक सहजै प्राप्त गर्न सकिनेछ । एसईईका विद्यार्थीहरुका लागि कम्पनीले निःशुल्क प्रदान गरेका वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमका रुपमा रुपान्तरण गरिएका सिमकार्डमा मागबमोजिम स्वतः ई–शिक्षा प्याकेज समेत उपलब्ध गराउनेछ । यसअघि ई–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएकोछ । नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । यी अफर सहितका सिम हाललाई तीन महिनासम्म उपलब्ध गराइनेछ ।
प्याब्सनको व्यवहारप्रति नेपाल टेलिकम असन्तुष्ट, टेलिकमको प्याकेज छोडेर एनसेलसँग सम्झौता
काठमाडौं । विद्यालयहरुको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन)को व्यवहारप्रति नेपाल टेलिकमले असन्तुष्टि जनाएको छ । टेलिकमले आइतबार एक विज्ञप्ती जारी गर्दै असन्तुष्टि जनाएको हो । कोरोना भाइरस महामारीका कारण उब्जिएको विषम परिस्थितिमा सहज र सुलभ रुपले शिक्षा आदान/प्रदान गर्नका लागि बैशाखदेखि नेपाल टेलिकम र प्याव्सनबीच ई–शिक्षा प्याकेज दिने सम्बन्धि सहमति भएको थियो । तर, बीचमै प्याब्सनले नेपाल टेलिकमको नेटवर्कमा अनेक समस्या देखाएर जानकारी बिनै एनसेलसँग सम्झौता गरेको प्रति टेलिकमले असन्तुष्टि जनाएको हो । टेलिकम र प्याब्सनबीच विभिन्न समयमा हुने छलफलहरु सकारात्मक भएकाे भएपनि प्याब्सनले एक्कासी आएर कम्पनी माथि अनेकन दोषारोपण गर्ने खालका शब्दावली सहितको परिपत्र जारी गरेकाेप्रति कम्पनीको ध्यानआकर्षण भएको बताइएको छ । आफू अनुकुल कुनैपनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमती नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनीको असहमती रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयमा बिथोलिएको शैक्षिक वातावरणमा विद्यार्थी र शिक्षकलाई पुनः जोड्न यो प्याकेजले सेतुको काम गरेको कम्पनीको दावी छ । अनलाइन अध्ययनका लागि उपलब्ध विभिन्न प्रकारका एप्लिकेसनहरुमध्ये कम्पनीले विद्यार्थी र शिक्षकमाझ लोकप्रिय रहेका जुनसुकै एप्लिकेसनहरु उपयोग गर्न सकिने गरी ५ सय रुपैयाँमा १८ जिबी डाटा ई–शिक्षा प्याकेजमार्फत उपलब्ध गराइरहेको कम्पनीले बताएको छ । प्याव्सनले टेलिकमले दिइरहेको प्याकेजमा नेटवर्क नआउने, इन्टरनेट ढिलो चल्ने लगायतका समस्या देखाएर एनसेलसँग सम्झौता गरेको छ ।प्याब्सनले शिक्षक र विद्यार्थीहरुलाई एनसेलको सिमकार्ड प्रयोग गर्न र त्यसैकाे प्याकेज लिन भनेर आफ्नाे वेवसाइटकमै एउटा सूचना राखेको थियो । तर, अहिले त्यो सुचना हटाइसकेको छ ।
नेपाल टेलिकम सर्भर ह्याकः २४ हजार रुपैयाँ नोक्सान, अभियुक्त ५० हजार धराैटीमा छुटे
काठमाडौं । सहरी विकास तथा भवन कार्यालय धनकुटामा कार्यरत कम्प्युटर अपरेटर दिवाकर देउसाले नेपाल टेलिकमको २४ हजार रुपैयाँ नाोक्सान गरेको खुलेको छ । नेपाल टेलिकमको सर्भर ह्याक गरी रिचार्ज गर्ने देउजाले २४ हजार नोक्सान गरेको विभिन्न अनुसन्धानहरुले खुलाएको हो । देउसाले नेपाल टेलिकमका विभिन्न प्याकेजहरुमा नियन्त्रण राखेर आर्थिक लाभ लिएको प्रहरीले दावी गर्दै आएको थियो । विभिन्न समयमा आर्थिक चुहावट हुँदै आएको देखिएपछि नेपाल टेलिकमले असार १२ गते उजुरी गरेपछि सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो । घटना बारे बुझ्दै जाँदा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असार ३१ गते २८ वर्षीय देउसालाई धनकुटाबाट पक्राउ गरेको थियो । प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा देउजाले पटक–पटक पहुँच बनाएर नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गर्दै आएको साइबर ब्युरोले बताएको छ । ब्युरो स्रोतका अनुसार उनले टेलिकमका विभिन्न प्याकेज प्रयोग तथा बिक्री गरी २४ हजार जतिको रिचार्ज गरेका छन् । उनी त्यसबाट मासिक रुपमा लाभ लिँदै आएको ब्युरोले बताएको छ । विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनका लागि देउजालाई सो दिननै सीआइबीले नेपाल प्रहरी साइबर ब्युरोमा पठाएको थियो । सो मुद्दा काठमाडौं जिल्ला अदालतले हेरेको थियो । उनलाई काठमाडौं जिल्ला अदालतलबाट साउन १४ गते न्याधिश कमलप्रसाद पोखरेलको आदेशले ५० हजार रुपैयाँ धरौटीमा छोडेको छ ।
नेपाल टेलिकमद्धारा कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु
काठमाडौं । नेपाल टेलिकमले मुलुकको संघीय संरचना अनुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु गरेको छ । कम्पनीले मुलुकको संघीय संरचना बमोजिम कामकाज गर्न सहज हुनेगरी नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, विराटनगर प्रदेश नं. १, प्रादेशिक निर्देशनालय, वीरगञ्ज प्रदेश नं. २, प्रादेशिक निर्देशनालय, काठमाडौ वागमती प्रदेश, प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेश, प्रादेशिक निर्देशनालय, भैरहवा प्रदेश नं. ५, प्रादेशिक निर्देशनालय, सुर्खेत कर्णाली प्रदेश र प्रादेशिक निर्देशनालय अत्तरिया, सुदूरपश्चिम प्रदेशको स्थापना गर्ने निर्णय गरिसकेको छ । यस बमोजिम कम्पनीले आज साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गत रहेको नेपाल टेलिकमको पोखरास्थित कार्यालयलाई संघीय संरचना अनुसार नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा, गण्डकी प्रदेशमा रुपान्तरण गरेको हो । सो अवसरमा साविक नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय र हाल नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवा, प्रदेश नम्बर ५ का निर्देशक सूर्यनारायण मालाकारले नयाँ प्रादेशिक निर्देशनालयका रुपमा प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेशको शुभारम्भ गरे । उक्त अवसरमा निर्देशक मालाकारले नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, पोखराका निर्देशक सुरेन्द्रमान सिंहलाई गण्डकी प्रदेशसँग सम्बन्धित विकास निर्माण, योजना र प्रशासनिक दस्तावेजहरु हस्तान्तरण गरेका थिए । पोखरामा आयोजित उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पठाउनु भएको शुभकामना सन्देश बाचन गरिएको थियो । शुभकामना सन्देशमार्फत प्रबन्ध निर्देशक अधिकारीले एफटिटिएच वितरणको मूल लक्ष्यलाई आत्मसात गरी आफ्नो कार्यक्षेत्रमा क्रियाशील हुन निर्देशन दिएका थिए । यसका साथै कार्यसम्पादनमा आधारित प्रोत्साहन व्यवस्था लागु भइसकेकोले आफू कार्यरत सम्बन्धित प्रदेश प्रमुख तथा समस्त कर्मचारीहरुको संयुक्त प्रयासबाट प्रदेशलाई दूरसञ्चार सेवा विस्तार, सुदृढीकरण र ग्राहक सेवामा अब्बल सावित गर्नुहुने विश्वास लिएको उल्लेख गरेका थिए ।
नेपाल टेलिकमका कर्मचारीहरू आन्दोलित
काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरू आन्दोलित भएका छन् । बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम गम्भीर मोडमा पुगेको भन्दै हस्तक्षेप रोक्न मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् । समयानुसार सेवा विस्तार नभएको, गुणस्तर सुधारमा ध्यान नदिएको र व्यावसायिक क्षमता अभिवृद्धितर्फ समेत ध्यान नदिँदा कम्पनीमा नकारात्मक संकेत देखिन थालेको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव तेजबहादुर शाहीले बताए । पछिल्लो समय राजस्व घटेको, कर्मचारीको वृत्तिविकासमा संकुचन आएको र सरकारले मोबाइल सेवाको नवीकरणमा विभेद गरेको उनले बताए । नेपाल टेलिकममा ९२ प्रतिशत सरकार र आठ प्रतिशत कर्मचारी तथा सर्वसाधारणको सेयर छ । माघ ०७६ मा नै फाेरजी सेवाको काम सक्नुपर्ने भए पनि अहिलेसम्म ६० प्रतिशत मात्रै भएको, एफटिटिएच सेवाको दुई लाख १९ हजार लाइन वितरण गर्ने लक्ष्य भए पनि अहिलेसम्म ५० हजार मात्रै वितरण भएको, ठूलो रकम खर्च गरी भित्र्याएको इन्टरनेसनल ब्यान्डविथ तथा लिज लाइन पादरर्शी नबनाई निजी सेवा प्रदायकलाई पोस्ने माध्यम बनाइएको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारी संयुक्त संघर्ष समिति बनाएर आन्दोलित भएका हुन् । नवीकरण दस्तुर वैज्ञानिक बनाउनुपर्ने, संस्थाको आन्तरिक सबलीकरणका लागि कम्पनी पुनर्संरचना गर्नुपर्ने र वृत्ति विकासको अवसर रहने गरी लागू गर्नुपर्ने माग उनीहरूको छ ।
सहरी विकासका कम्प्युटर अपरेटरले गरे नेपाल टेलिकमको सर्भर ह्याक
काठमाडौं । सहरी विकास तथा भवन कार्यालय धनकुटामा कार्यरत कम्प्युटर अपरेटरले नेपाल टेलिकमको सर्भर ह्याक गरेका छन् । कम्प्युटर अपरेटर दिवाकर देउजाले टेलिकमको सर्भर सिस्टममा प्रवेश गरी टेलिकमका प्याकेज प्रयोग तथा विक्री समेत गरेर आर्थिक लाभ लिएका छन् । आफ्नो सर्भर ह्याक भएको नेपाल टेलिकमले गत असार दोस्रो साता थाहा पाएको थियो । सर्भरमा अनधिकृत प्रवेश गरी कम्पनीलाई हानी नोक्सानी पुर्याएको भन्दै टेलिकमले गत असार १२ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा अनुसन्धानको लागि पत्राचार गरेको थियो । टेलिकमको यस्तो पत्र प्राप्त भएपछि सीआईबीले अनुसन्धान गर्दा धनकुटा जिल्ला पाख्रिबास नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भइ हाल धनकुटा नगरपालिका वडा नम्बर ४ बस्ने सहरी विकास तथा भवन कार्यालय धनकुटाका कम्प्युटर अपरेटर दिवाकर देउजा भएको पाइएको सीआईबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । ‘टेलिकमको पत्र प्राप्त भएपछि अनुसन्धान गर्दा सहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्युटर अपरेटर पदमा कार्यरत दिवाकर देउजाले ह्याक गरेको पत्ता लाग्यो, उनलाई सीआईबीले पक्राउ गरी नेपाल प्रहरीको साइबर व्यूरो पठाएको छ, थप अनुसन्धान भइरहेको छ,’ सीआईबीका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक पाण्डेले भने । देउजाले नेपाल टेलिकमको मोबाईल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गरी आफूले आर्थिक लाभ समेत लिई नेपाल टेलिकमलाई हानिनोक्सानी पुर्याकई कम्पनीको राजस्व तथा व्यावसायिक छविमा समेत गम्भीर क्षति पुर्याएको हुँदा कारबाही गरी पाउँ भनि नेपाल टेलिकमको २०७७ असार १२ गते सीआईबीमा पत्र पठाएकाे थियाे । पत्र प्राप्त भएपछि अनुसन्धानको सिलसिलामा ह्याकरले अनट्रयाकेबल इन्टरनेट प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक/पटक पहुँच बनाएको पाइएकाे सीअइबीकाे भनाइ छ । देउजामाथि विद्युतीय कारोबार ऐन अनुसार कारबाही चलाउने प्रहरीले जानकारी दिएको छ । ह्याकरले टेलिकमको सिस्टमभित्र प्रवेश गरी के कति आर्थिक लाभ वा टेलिकमलाई कति हानी नोक्सानी पुर्याए भन्ने बारेमा थप अनुसन्धानबाट खुल्ने सीआईबीको भनाइ छ ।
लकडाउनमा थप कस्तो सेवा दिदैंछ नेपाल टेलिकम ?
काठमाडौं । नेपाल टेलिकमले २०७२ साल वैशाख १२ गते भुकम्प पश्चात ग्राकहरुलाई निःशुल्क भ्वाईस सेवा उपलब्ध गराएको थियो । त्यो विपद्मा ग्राहकलाई निःशुल्क भ्वाइस सेवा दिएको टेलिकमले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको बेलामा थप कस्तो सेवा र सुविधा दिदैछ भन्ने आमचासो रहेको छ । भूकम्पको बेलामा भ्वाइस सेवाको जति महत्व र औचित्य हुन्थ्यो लकडाउनको अवधिमा भने इन्टनेटमा थप सुविधा दिनु त्यति नै आवश्यक रहेकोले सोही अनुसारको सेवा प्रवाहमा केन्द्रीत रहेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भुकम्पको बेलामा ग्राहकहरुलाई निःशुल्क भ्वाइस सेवा दिनु त्यस बेलाको लागि आवश्यक भएकोले अहिलेको लकडाउनमा इन्टरनेट सेवाका जरुरी रहेकोले आवश्यक मोडेल अपनाएर सोही अनुसारको सेवा दिने काम भइरहेको बताए । ‘भुकम्पको बेलामा हामीले निशुल्क भ्वाइस सेवा दियौं, अहिले इन्टरनेटको आवश्यकता बढी छ, यसका लागि विभिन्न प्याकहरु ल्याएका छौँ, संकटको बेलामा हाम्रा ग्राहकलाई आवश्यक सुविधा दिन हामी सदैव तयार छौं,’ प्रबन्ध निर्देशक अधिकारीले भने । उनले सस्तो दरमा गुणस्तरीय इन्टरनेट सुविधा प्रदान गर्न टेलिकमले विभिन्न प्याकहरु ल्याएको जानकारी दिए । यी हुन् टेलिकमका प्याकेज टेलिकमले आफ्ना नियमित ग्राहकहरुलाई लक्षित गरेर ईन्टरनेट र डाटा प्याकमा सुविधा दिन आवश्यक ठानेकोे छ । लकडाउनको अवधिमा सबै जना घरमा रहने र इन्टरनेटको प्रयोग धेरै हुने भएकोले टेलिकमले सोही अनुसारको सेवा प्रवाह गरिरहेको जानकारी दिएको छ । सय रुपैयाँ ४ जिबी डाटा सामान्य अवस्थामा टेलिकमले सय रुपैयाँमा १ जिबी डेटा दिने गरेको थियो । लकडाउनको समयमा सोही मूल्यमा ३ जिबी डेटा थप गरेर जम्मा ४ जिबी डेटा पाइन्छ । यो डेटाप्याक ७ दिनमा उपभोग गरिसक्नुपर्छ । सो बोनस रकम फोरजी नेटवर्क सेवा अन्तर्गत चल्ने नेपाल टेलिकमले बताएको छ । टेलिकमले सो सेवा आगामी २६ गते राती १२ बजेसम्म लागू हुने तथा उक्त डाटा प्याक लिएको अवधिबाट ५ दिनसम्म खपत गर्न मिल्ने योजना रहेको जनाएको छ । २ सय रुपैयाँमा १० जिबी डेटा सामान्य अवस्थामा २ सय रुपैयाँमा २ जिबी डेटा पाइन्थ्यो । टेलिकमले लकडाउनको समयमा सोही मूल्यमा थप ८ जिबी डेटा बोनस दिएर २ सय रुपैयाँमा १० जिबी डेटा दिइरहेको छ । २ सय रुपैयाँमा लिइएको १० जिबी डेटा पनि ७ दिनमा नै उपभोग गरिसक्नुपर्छ । सय रुपैयाँमा २ सय ८५ मिनेटको भ्वाइस कल ग्राहकले *1415*10# डायल गरेमा ७ दिनका लागि भ्वाईस कल सुविधा पाउँन सक्ने छन् । सो सुविधा अनुसार सय रुपैयाँमा २ सय ८५ मिनेटसम्म एनटीसीका अन्य ग्राहकहरुसँग कुरा गर्न सकिनेछ । ‘पहिले डिजीटल टपअपको जमाना थिएन, अहिले प्रविधिको पहुँच ग्राहकमा बढ्दै गर्दा जस्तो माग आयो त्यस्तै काम गरिरहेका छौँ, तत्कालका लागि ईन्टरनेटमै माग बढ्दो छ, हामीले इन्टरनेटमा सकेसम्म सुविधा दिने प्रयास गरिरहेका छौं, प्रबन्ध निर्देशक अधिकारीले भने । साथै, सरकारले स्थापना गरेको कोरोना भाईरस (कोभिड १९) को कोषमा समेत नेपाल टेलिकमले १२ करोड रुपैयाँ सहयोग गरेको छ । यो रकम कर्मचारीहरुको तर्फबाट २ करोड तथा टेलिकम आफैले १० करोड रुपैयाँ सहयोग गर्ने भएको हो । कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक रिङव्याक टोन अहिले टेलिकमा जीएसएम, सिडीएमए वा ल्याण्डलाइनमा फोन गर्दा कोरोना भाइरस (कोभिड १९) बाट जोगिने र अपनाउनु पर्ने सावधानीका उपायबारे जनचेतनामुलक सन्देश सुन्न पाइन्छ । महामारीको बेलामा कोभिड १९ रोकथाम र नियन्त्रणका लागि टेलिकमले दिएको यो सेवा पनि सह्रानीय छ ।
कोरोना रोकथाम कोषमा नेपाल टेलिकमकाे १२ करोड रुपैयाँ सहयोग
काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । जसमध्ये कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान गरिएको टेलिकमले जनाएकाे छ । आज(चैत २० गते) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहमा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको समुपस्थितिमा प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका सदस्य-सचिव नारायण प्रसाद बिडारीलाई नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले १२ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री खतिवडा र भट्टले प्राप्त आर्थिक सहयोगप्रति कृतज्ञता प्रकट गर्दै यस विषम परिस्थितिमा सबैलाई सचेत रहन आग्रह समेत गरेका थिए । सो अवसरमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह(सचिव तथा कम्पनी सञ्चालक समिति सदस्य राधिका अर्याल र कम्पनीका प्रमुख वित्तीय तथा प्रमुख मानव संसाधन अधिकृत शैलजा राईको पनि उपस्थिति रहेको थियो । हाल नोबेल कोरोना भाइरस९कोभिड १९० महामारीको रुपमा विश्वभर फैलिरहेको र नेपाल पनि उक्त भाइरस संक्रमणको उच्च जोखिममा रहेको अवस्थामा नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा कम्पनीले आर्थिक सहयोग गरेको हो ।
नेपाल टेलिकमको डाटा शुल्क ३० प्रतिशतले घट्यो
काठमाडौं । नेपाल टेलिकमले डाटा शुल्क ३० प्रतिशतसम्म घटाएको छ । सरकारले चैत्र १६ गते इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई २५ प्रतिशत शुल्क घटाउन निर्देशन दिएपछि टेलिकमले ३० प्रतिशतसम्म शुल्क घटाएको जनाएको छ । जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको प्रबक्ता राजेश जोशीले जानकारी दिए । नयाँ व्यवस्था अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा पर्ने टेलिकमले जनाएको छ । तर यस्तो छुट ७ दिनका लागि मात्र दिएको टेलिकमले जनाएको छ । चैत्र २० देखि २६ गतेसम्म मात्र छुट भएको उसको भनाई छ । सेवाहरू सुपथ मूल्यमा उपलब्घ गराउने क्रममा नेपाल टेलिकमले जीएसएम सेवामा डाटा प्याक उपलव्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयामा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयामा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसरी रू. १ सयमा बोनस सहित कुल ४ जीबी र रू. २ सयमा बोनस सहित कुल १० जीबी डाटा प्राप्त हुनेछ । यसैगरी कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गदा चैत्र २० देखि २६ गतेसम्म लागू हुने गरी ५० प्रतिशत छुट उपलव्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि रु. २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ । यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि रु. १०० मा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी रु. २५ मा एक दिनका लागि बोनस सहित ६० मिनेट र रु १०० मा ७ दिनका लागि बोनस सहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।
नेपाल टेलिकमको फोरजी सेवा पर्यटकीय स्थल स्याङ्बोचेमा
काठमाडौं । नेपाल टेलिकमले विश्वप्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी सेवाको शुरुवात गरेको हो । विश्वकै सबभन्दा अग्लो शिखर सगरमाथा आरोहणका लागि जाने आरोहीहरु लगायत हिमालको दृश्यावलोकनका लागि विश्वभरबाट आउने पर्यटकहरुले यसबाट प्रत्यक्ष लाभ उठाउन सक्नेछन् । पर्यटकीय मौसममा स्याङ्बोचे हुँदै खुम्जुङ, खुण्डे तथा चर्चित गोक्यो ताल जाने पदयात्रीहरुको आवतजावत बाक्लो हुने गर्दछ । स्याङ्बोचे नजिकै रहेको एभरेष्ट भ्यु होटलबाट सगरमाथाको दृश्यावलोकन गर्ने विदेशीहरुको संख्या पर्यटकीय मौसममा दैनिक ५ सयभन्दा बढी पुग्ने गरेको छ । यसका साथै यहाँ नेपालकै सबैभन्दा अग्लो स्थानमा अवस्थित स्याङ्बोचे विमानस्थल समेत रहेको छ । पर्यटकीय दृष्टिबाट अत्यन्त महत्वपूर्ण सो स्थान आसपास पर्यटकीय मौसममा दैनिक ७ सयभन्दा बढी विदेशी पर्यटकहरु आउने गरेका इलाका प्रहरी कार्यालय नाम्चेका इन्सपेक्टर केशबकुमार कटुवालले बताए । स्याङ्बोचेमा स्थापित मोबाइल बीटीएसबाट त्यहाँ पुग्ने विदेशी तथा स्वदेशी यात्रुहरुले पनि उच्च गतिको डाटा र गुणस्तरीय भ्वाइस सुविधा सहितको फोरजी मोबाइल सेवा उपभोग गर्न सक्ने छन् । सगरमाथा आरोहणका लागि वेस क्याम्प जाने मार्ग समेत स्याङ्बोचे हुँदै अघि बढ्ने भएकाले आरोहीहरुले यो सेवाको प्रयोग गर्न सक्ने छन् । यही मार्ग हुँदै पर्यटकीय मौसममा दैनिक आउने र जाने गरी एक हजारभन्दा बढी पर्यटकले फोरजी सेवा प्रयोग गर्न सहज हुनेछ । फागुन १५ देखि जेठ १५ सम्म र असोज, कात्तिक र मंसिरलाई त्यस क्षेत्रको भ्रमणका लागि उपयुक्त समय मानिन्छ । ती दिनमा नाम्चे, स्याङ्बोचे, खुम्जुङ, खुण्डे, चर्चित गोक्यो ताल लगायत स्थानहरु भ्रमण गर्ने तथा सगरमाथा आरोहण गर्ने पर्यटकको आवतजावत अत्याधिक हुने गरेको छ ।
नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का
काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले हस्ताक्षर गरेका हुन् । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले टेलिकम र फास्ट बलरका रुपमा परिचित पारस खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने अपेक्षा गरेका छन् । सो अवसरमा उनले नेपाल प्रहरीको फुटबल टिमलाई पनि प्रायोजन गरेको स्मरण गर्दै खेल क्षेत्रलाई कम्पनीले विशेष प्राथमिकतामा राखी सहयोग गरिरहेको बताए । समारोहमा कम्पनीका नवनियुक्त ब्रान्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी टेलिकमसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए । उनले यो सहकार्यले क्रिकेट खेलका साथै टेलिकमद्वारा प्रदत्त सेवाहरु र नेपाल टेलिकमको ब्रान्डको प्रभावकारी प्रवद्र्धन हुने विश्वास व्यक्त गरेका छन् । हाल एक वर्षको लागि गरिएको सम्झौता अन्तर्गत रहेर क्रिकेट खेलाडी खड्का सम्झौता अवधिभर नेपाल टेलिकमका सेवा सुविधाहरु तथा कम्पनीको ब्रान्ड प्रवद्र्धनका विविध क्रियाकलापहरुमा सहभागी हुने छन् ।
नेपाल टेलिकमकाे अनलिमिटेड डाटा र भ्वाइस प्याक यस्ता छन्, कसरी लिन सकिन्छ ?
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय रहेका छन् । सस्तो मूल्यमा असीमित अर्थात कम्पनीकै नेटवर्कमा जति पनि कल गर्न र डाटा चलाउन पाइने भए पछि सेवाग्राहीहरु समेत निकै नै लाभान्वित भएको पाइएको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक निकै नै रुचाइएका छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार आफूलाई उपयुक्त प्याक खरिद गर्न सक्छन् । एक घण्टा अनलिमिटेड प्याक यो प्याक २० रुपैयाँमा लिन सकिन्छ । प्याक एक्टिभ भए पश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सकिन्छ । एक घण्टा सम्म जति पनि भ्वाइस कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने भएकोले यो प्याक निकै नै रुचाइएको छ । डे टाइम भ्वाइस प्याक डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म जति पनि कल गर्न सकिने छ । सो प्याक खरिद गरेको २४ घण्टाभित्र उपयोग गर्न सकिने छ । उदाहरणका लागि विहान १० बजे खरिद गरेको प्याक बेलुकी ५ बजे सम्म र भोलि विहान फेरि १० बजे सम्म प्रयोग गर्न सकिन्छ । आफ्नो आवश्यकता अनुसार आफन्त वा प्रियजनसँग कुराकानी गर्नका लागि यो प्याक निकै नै उपयोगी बनेको छ । अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म कल गर्न सकिन्छ । रातको समयमा जति पनि कल गर्न सकिने भएकाले यो निकै नै उपयोगी बनेको छ । अनलिमिटेड नाइट डाटा प्याक अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत एक रातका लागि १८ रुपैयाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिने प्याक पनि उपलब्ध छ । रातको समयमा डाटा चलाउनु पर्ने व्यवसायीहरुका लागि समेत यो प्याक निकै नै उपयोगी बनेको छ । प्याक खरिद गर्ने तरिका विभिन्न प्रकारका प्याक प्राप्त गर्नका लागि ग्राहकले स्टार१४१५ह्याज मा डायल गरेर आवश्यकता अनुसारको प्याक खरिद गर्न सकिन्छ । विभिन्न नम्बर डायल गरेर वा एसएमएस पठाएर पनि प्याक खरिद गर्न सकिन्छ । एक घण्टा अनलिमिटेड प्याक खरिद गर्नका लागि सिधै स्टार१४१५स्टार८ ह्याज डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्नु पर्छ । त्यसैगरी सिधै एफडि प्याक टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । त्यसैगरी, डे टाइम भ्वाइस प्याक खरिद गर्नका लागि सिधै स्टार१४१५स्टार९स्टार दुइ ह्याज डायल गर्न सकिन्छ । सिधै डिभियुएनएल टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । अनलिमिटेड नाइट टाइम भ्वाइस प्याकका लागि सिधै स्टार१४१५स्टार१स्टार५स्टार४ ह्याज डायल गर्न सकिन्छ । सिधै एनभियुएनएल टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । अनलिमिटेड नाइट डाटा प्याकका लागि सिधै स्टार१४१५स्टार३ह्याज डायल गरेर १ दिनका लागि प्याक लिने भए १ र ७ दिनका लागि प्याक लिने भए २ अंक डायल गर्नुपर्छ । त्यसैगरी एक दिनको प्याकका लागि एनयुएनएल र ७ दिनका लागि भए युएनएल७ टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ । बाँकी प्याक थाहा पाउने तरिका मोबाइलमा लिएको भ्वाइस प्याक वा अन्य कुनै पनि प्याक कति बाँकी छ भनी थाहा पाउनका लागि स्टार१४१५स्टार५५ह्याज डायल गर्न सकिन्छ । त्यसैगरी भिएल लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । त्यसपछि कति भ्वाइस प्याक वा अन्य प्याक बाँकी छ भन्ने जानकारी सहितको एसएमएस आउँछ । साथै नेपाल टेलिकम एपमार्फत पनि बाँकी प्याक थाहा पाउन सकिन्छ ।
नेपाल टेलिकम गल्याङद्वारा साढे दुई हजार सिम निःशुल्क वितरण
काठमाडौं । दूर संचार कार्यालय गल्याङले दुई हजार पाँच सय सिम निःशुल्क वितरण गरेको छ । गल्याङ चेम्बर अफ कमर्शले आयोजना गरेको १० दिने महोत्सवका अवसरमा उक्त सिम वितरण गरिएको हो । सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गरिएको उक्त सिममा रु.५० टक भ्यालु समेत रहेको छ । चौथो पुस्तामा आधारित फोरजी प्रविधिमार्फत उच्च गतिको इन्टरनेट सेवामा सर्वसाधारणको अत्याधिक रुचि देखिएकाले यति धेरै संख्यामा निःशुल्क सिम वितरण गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए । उनका अनुसार फोरजी प्रविधि मार्फत उच्च गतिको इन्टरनेट प्राप्त हुने हुँदा उच्च गुणस्तरीय श्रव्य दृश्य सामग्रीहरु हेर्न तथा सुन्न सकिने भएकाले आम उपभोक्ताको रोजाई बढ्दै गएको हो । नेपाल टेलिकमले देशको ७७ वटै जिल्लामा फोरजी सेवाको पहुँच विस्तार गरिसकेको छ भने फोरजी नेटवर्क विस्तार गर्नेमा पहिलो र सबैभन्दा ठूलो सेवा प्रदाएक पनि हो ।
नेपाल टेलिकमको १६औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं। नेपाल टेलिकमले आफ्नो स्थापनाको १६औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बुधबार विभिन्न कार्यक्रमको आयोजना गरी १६औं वार्षिकोत्सव मनाएको हो । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्व योजना बमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको र एक वर्षको अवधिमा फोरजी मोबाइल सेवा ७७ वटै जिल्लामा विस्तार गरेकोमा सन्तोष व्यक्त गरे । उनले एफटीटीएच प्रविधिको विस्तार र अप्टिकल फाइबर परियोजना निर्धारित अवधिमै सम्पन्न गर्नुपर्ने र कम्पनीले प्रदान गरेका सेवाहरुमा गुणस्तर कायम गरी सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकताको विषय बनाउनु पर्ने बताए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपक सुवेदीले टेलिकमले अब समयानुकुल विभिन्न स्मार्ट सेवाहरु वितरण गर्ने र अत्याधुनिक प्रविधिका सेवाहरु गुणस्तरसहित प्रदान गरी ग्राहकको मन जित्नु पर्ने बताए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणसँगको सम्झौता अनुसार एक वर्षको अवधिमा कम्पनीले ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यमा हासिल गरेको उपलब्धिप्रति सन्तोष व्यक्त गर्दै पूर्ण क्षमतामा प्रयोग नभएका पूर्वाधारहरु सहप्रयोग गर्न पनि नेपाल टेलिकम तयार हुनुपर्ने सुझाव दिए । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको समग्र अवस्था बारेमा जानकारी गराउँदै सम्झौता भएको एक वर्षभित्रै देशभर फोरजी विस्तार गर्ने महत्वाकांक्षी र चुनौतीपूर्ण लक्ष्य अनुरुप यसै साता देशका ७७ वटै जिल्लामा फोरजीको पहुँच पुर्याइएको बताए । उनले स्थानीय टेलिफोन सेवाको रुपान्तरणको लागि एफटीटीएच परियोजनालाई अगाडि बढाइएको र निकट भविष्यमा आईपीटीभी सेवा समेत एफटीटीएच मार्फत प्रदान गरिने बताए । उनले गएको १ वर्ष नेपाल टेलिकमको लागि निकै महत्वपूर्ण र चुनौतिपूर्ण रहेकाे बताए । उनले हालसम्म देशका २८ जिल्लाका ५७ एक्स्चेञ्जहरू मार्फत १ लाख ४५ हजारको नेटवर्क जडान भै ३६ हजार ४ सय भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकिएको बताए । उनले नेपाल दूरसञ्चार प्राधिकरणको कार्तिक महिनाको मीस रिपाेर्ट अनुसार कम्पनीको बजार हिस्सा भ्वाइस सेवा तर्फ ५५ पुगेको बताए ।
सेयर बजारको सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकमको सेयर किन्ने बेला आएको हो ?
काठमाडौं । दूरसञ्चार संस्थानबाट २२ माघ २०६० मा रुपान्तरण भएर नेपाल टेलिकम कम्पनी (एनटीसी) को स्थापना भएको हो । हाल कम्पनीले जीएसएम, सीडीएमए, पीएसटिएन र डाटा सेवा अन्तरगत थ्रीजी, फोरजी, इभिडिओ, वाइम्याक्स, एडीएसएललगायतको सेवा दिदै आएको छ । बजार प्रतिस्पर्धाको आधारमा हेर्दा मोबाइल सेवा (जीएसएम) मा टेलिकम अग्रस्थानमा छ । दूरसञ्चार प्राधिकरणको असोजसम्मको तथ्यांक अनुसार एनसेलको जीएसएम प्रयोगकर्ता १ करोड ६८ लाख छ भने एनटीसीको २ करोड ९ लाख छ । तर, अहिलेको पछिल्लो प्रविधि फोरजीमा भने नेपाल टेलिकमको तुलनामा एनसेल अगाडी छ । एनसेलबाट ३४ लाख ९० हजारले यो सेवा लिदा टेलिकमबाट ८ लाख ३८ हजारले लिएका छन् । फोरजी सेवा विस्तारको लागि महंगो प्रस्ताव (१९ अर्ब रुपैयाँ) स्वीकर गरेकोले कम्पनीको दायित्व बढ्ने चर्चा पनि हुँदै आएको छ । इन्टरनेट सेवामा समेत टेलिकम दोस्रो स्थानमा छ । वल्र्डलिंकबाट ३ लाख ३४ हजारले सेवा लिदा टेलिकमबाट २ लाख ३५ हजारले सेवा लिइरहेका छन् । टेलिकमले बजार प्रतिस्पर्धाबाट सिर्जित चुनौंति कम गर्न पछिल्लो प्रविधिलाई सर्वसुलभ बनाउने लगायतका काम गर्ने वित्तीय विवरणमा उल्लेख गर्दै आएको छ । कम्पनी बजार पुँजीकरणको आधारमा सेयर बजारमा रहेको सबैभन्दा ठूलो कम्पनी हो । १५ करोड सेयर सूचीकृत भएको कम्पनीको हाल मूल्य ६ सय ५७ छ । यसको आधारमा बजार पूँजीकरण ९८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । सेयर बजारमा कम्पनीको हिस्सा आधारमा ६.५ प्रतिशतभन्दा धेरै छ । कम्पनीमा नेपाल सरकारको ९१.४९ प्रतिशत, नागरिक लगानी कोषको ०.०३ प्रतिशत र सर्वसाधारणको ८.४८ प्रतिशत सेयर लगानी छ । बन्द बोलपत्र आवहानबाट ९ माघ २०६४ मा कम्पनीको सेयर विक्री गरिएको थियो । प्रिमियम मूल्य सहित ६ सय रुपैयाँमा कम्पनीको सेयर बिक्री भएको थियो । हाल कम्पनीमा दिपक सुवेदी अध्यक्ष छन् भने प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी छन् । कम्पनीले ५ वर्षयता बार्षिक औसत ५१.२ प्रतिशत लाभांश दिएको छ । नगद लाभांश वितरणमा जोड दिदै आएको कम्पनीको चुक्ता पुँजी स्थिर छ । गत आवको नाफापछि पनि बैंकले ४५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । १४ पुससम्म लगानी गर्नेले यस्तो लाभांश पाउने छन् । पहिलो त्रैमाशमा नाफा सुस्तियो कम्पनीले पहिलो त्रैमाशमा ३ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा ६.१ प्रतिशतले कमी आएको हो । सञ्चितीमा भने ८९ अर्ब ४६ करोड रुपैयाँ छ । कम्पनीले २३ पुसमा हुने साधारणसभामा सञ्चितीमा रहेको रकम बैंक तथा वित्तीय संस्था तथा अन्य कम्पनीको सेयरमा लगानी गर्ने प्रस्तावसमेत लैजादैछ । रणनीतिक तरिकाले लगानी गर्न सकेमा यसले कम्पनीको नाफामा वृद्धि समेत गराउन सक्नेछ । कम्पनीको सञ्चालन आम्दानी ९ अर्ब ४ करोड र अन्य आम्दानी १ अर्ब ५६ करोड छ । प्रशासनिक खर्च १० प्रतिशतले बढेको कम्पनीको कुल खर्च ४ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड छ । कम्पनीमा उत्पादनको लागि र तयारी अवस्थामा रहेको सामग्री (इन्भेन्ट्रिज) २८ करोड बराबर छ । इन्भेन्ट्रिजमा ५० प्रतिशतको वृद्धि छ । उत्पादन बढाउने उदेश्यले समेत यो बढेको हुनसक्छ । यसको बिक्री पछि कम्पनीको नाफा थप बढ्न सक्छ । कम्पनीले व्यापार लगायतबाट २ अर्ब ६४ करोड उठाउन बाँकी छ । ग्राहकबाट उठाएको अग्रिम निक्षेप २ अर्ब दायित्वको रुपमा छ । कम्पनीको कुल सम्पत्ती र कुल दायित्व सन्तुलित छ । कम्पनीको १२ अर्ब बराबरको काम सञ्चालन (वर्क इन प्रोग्रस) को अवस्थामा रहेको उल्लेख गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८६ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात ७.१६ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ ६ सय ९६ रुपैयाँ छ । सेयर विश्लेषण कम्पनीको मूल्य वर्षकै न्यून बिन्दु (६ सय ६ रुपैयाँ) बाट केही माथि लागेको छ । यद्यपि ६ सय ७० को आसपासमा मूल्यले प्रतिरोध पाइरहेको रेखा चित्रले देखाउँछ । लाभांश प्रस्ताव र नजिकिदो बुक क्लोजले मूल्यमा सानो तिनो सुधारसहित सामान्य उतारचढाव देखिएको छ । कम्पनीको आरएसआई सूचक ५५.९ छ । यसले कारोबार सन्तुलित क्षेत्रमा रहेको संकेत गर्छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । ७ दिने सिम्पल मुभिङ एभरेज रेखा २१ दिनेभन्दा माथि रहेकोले मूल्य बुलिश प्रवृत्तिमा नै रहेको संकेत गरिरहेको छ । तर यी दुई रेखा नजिकिएका छन् । यो समय थप ध्यान दिनुपर्ने देखिन्छ । २१ दिने रेखा माथि लागेमा मूल्य वियरिश प्रवृत्तिमा आउने सम्भावना छ । पीभट विश्लेषणले आगामी महिना काराबोरमा ६ सय ७७ मा पहिलो प्रतिरोध र ६ सय २९ मा पहिलो टेवा पाउने संकेत गर्छ । कम्पनीको सेयर मूल्यले पछिल्लो तीन दिनमा पहिलो दुई दिन डार्क क्लाउड कभर आकृति बनाएको छ । जसमा सेतो लामो मैनवत्तिपछि बनेको कालो मैनवत्तिको आकार माथिसम्म गएको छ । यसले मूल्य घट्ने संकेत गर्छ । तर अन्तिम दिन डोजी स्टार बनेको छ । यसले भने लगानी गर्नुअघि विचार पु¥याउनु पर्ने देखाइरहेको छ । लगानीकर्ताहरु निर्णय गर्न नसकिरहेको यसले संकेत गर्छ । नजिकिदो मुभिङ एभरेज रेखालेपनि तत्काल लगानी गर्नुभन्दा आगामी दिनको गतिलाई याद गर्न सुझाव दिइरहेकोछ ।
नेपाल टेलिकमले ल्यायो गिफ्ट प्याकेज, कसरी पाउन सकिन्छ ?
काठमाडौं । नेपाल टेलिकमले ‘आफन्तलाई उपहार , सम्बन्ध सदाबहार‘ गिफ्ट प्याकेज ल्याएको छ । ग्राहकको रुचीलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने गरी सो सुविधा ल्याएको हो । यस अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा साथीभाई वा आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यो सेवा उपयोग गर्न सर्वप्रथम नेपाल टेलिकमका ‘नेपाल टेलिकम’ एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्दछ । एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गई नेपाल टेलिकमको लोगो अंकित एप डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरेपछि ‘रजिष्टर’मा क्लिक गर्नुपर्दछ । एपमा मागिएबमोजिम प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्ड लगायत विवरण राखेपछि लग इन हुन्छ । यसपश्चात मोबाइलमा तत्कालै सन्देशका रुपमा एक पटकका लागि कोड नम्बर आउँछ । सो कोड नम्बर इन्ट्री गरी हामी कम्पनीको एप प्रयोग गर्न सकिन्छ । यही एपमार्फत आफन्त वा साथीभाइलाई कुराकानी गर्ने वा इन्टरनेट चलाउने समय उपहारका रुपमा प्रदान गर्न सकिनेछ । इन्टरनेट चलाउने डाटा सेवा उपहारस्वरुप दिन चाहनेले एप खोली गिफ्ट प्याकेजमा क्लिक गर्नुपर्दछ । त्यसपछि डाटा लेखिएको एपमा गएर जम्मा १२ रुपैयाँमा २४ घण्टासम्म २८ एमबी डाटा चलाउन सकिने, रु.३० मा ३ दिन चलाउन मिल्ने ९० एमबी, रु.६० मा ७ दिनको १९० एमबी र रु.१०० को ५०० एमबी तथा रु.२४० को २८ दिन चलाउन सकिने १५०० एमबी डाटा गिफ्ट गर्न सकिन्छ । कति एमबीको डाटा उपहार दिइने हो निश्चित गरेपछि क्लिक टु सब्सक्राइब लेखिएको स्थानमा क्लिक गरी दिन चाहेको मोबाइल नम्बर लेखी ओके गर्नुपर्दछ । प्रिपेड तथा पोस्टपेड मोबाइलका प्रयोगकर्ताले यो सुविधा उपभोग गर्न सक्नेछन् । यसैगरी, यही एपको गिफ्ट प्याकेजमा गई भ्वाइस क्लिक गरी रु.२५ रुपैयाँको ४० मिनेट कुरा गर्न सकिने एकदिने प्याकेज उपहार दिन सकिन्छ । सात दिनसम्म १९० मिनेट कुरा गर्न सकिने प्याकेज उपहार दिने हो भने जम्मा रु.१ सय मात्र लाग्दछ । जम्मा रु.२४० मा २८ दिनसम्म ४९० मिनेट कुरा गर्न सकिने प्याकेज पनि उपहार प्रदान गर्न सकिने छ । साथै रु. ५ सयमा ४२ दिनसम्म प्रयोग गर्न सकिने ११ सय मिनेट गिफ्ट गर्न पनि सकिन्छ । यस योजनामा जसले गिफ्ट दिने हो उनीहरुकै मोबाइल व्यालेन्सबाट रकम काटिन्छ ।
नेपाल टेलिकमले सागमा सहभागी सबैलाई निःशुल्क फोरजी सिम दिँदै
काठमाडौं । नेपाल टेलिकमले यही मङ्सिर १५ देखि २४ गतेसम्म हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)लाई लक्षित गरि सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई लक्ष्य गरेर निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले पत्रकार सम्मेलन मार्फत काठमाडौँ, जनकपुर र पोखरामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीका लागि चार हजार पाँच सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराउने जानकारी दिएको छ । सागको पार्टनर स्पोन्सर रहेको नेपाल टेलिकमका सेवाहरु सो खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै काउन्टर राखी साग आयोजक कमिटीले प्रदान गरिरहेको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीद्वारा हस्ताक्षरित गरिएको हो । एकताको भावनामा बढोत्तरी गर्नसक्ने ठानिएको साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि टेलिकमले खेल अवधिभर खेलस्थलमा अतिरिक्त मोबाइल टावरको व्यवस्था गरेको छ । मोबाइल भ्यान तथा खेलस्थल वरपर थप गरिएका अन्य मोबाइल टावरबाट सञ्चालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवा सहजै र तीब्र गतिमा उपलब्ध हुने जनाएको छ । कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्रीलगायत सम्पूर्ण खेलकर्मीको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ । सोका लागि ११६६ मार्फत कल गरेर यो सेवा लिन सकिने छ । कम्पनीले खेलस्थलमा ग्राहक सेवाका साथै फोरजीलगायत अन्य सेवाको प्रचारप्रसार तथा व्यवसाय प्रवद्र्धन कार्यका लागि स्टल राख्ने जानकारी दिए ।
नेपाल टेलिकमको बल्क एसएमएस सेवाः एकै पटक धेरै जनालाई सन्देश पठाउन उपयोगी
काठमाडौँ । नेपाल टेलिकमले एकै पटकमा धेरै जनालाई एकै प्रकारको सन्देश अर्थात् एसएमएस पठाउनका लागि बल्क एसएमएस सुबिधा उपलब्ध गराएको जनाएको छ । यो सेवा विशेष गरी धेरै सदस्य वा ग्राहकसँग नियमित सम्पर्क गर्नुपर्ने व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, वित्तीय संस्था, पर्यटन व्यवसायी, सरकारी, अर्ध सरकारी र गैरसरकारी निकायलगायतका संघ÷संस्थाहरुका लागि बढी उपयोगी छ । व्यक्तिगत प्रयोजनका रुपमा एकैपटक धेरै व्यक्तिहरुलाई एसएमएस (छोटो सन्देश) पठाउनका लागि पनि यो उपयोगी हुन्छ । संघ÷संस्थाहरुले नेपाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालय, विभिन्न ठाउँमा रहेका निर्देशनालय मार्फत र व्यक्तिगत उपभोक्ताले कम्पनीको अनुमति प्राप्त भ्यालु एडेड सर्भिससेवा प्रदायक संस्थासँग सम्पर्क गरी सेवा प्राप्त गर्न सकिन्छ । यस सम्बन्धी सेवा उपलब्ध गराउन चाहने सेवा प्रदायकले आफ्नो प्रस्ताव र अन्य कागजातका साथ प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा सम्पर्क राख्नु पर्दछ । यो सेवा प्रिपेड प्रकृतिको भएको हुनाले एसएमएस संख्याका आधारमा लाग्ने शुल्क भुक्तानी गरिसकेपछि युजर नेम र पासवर्ड उपलब्ध हुनेछ । युजर नेम तथा पासवर्ड प्राप्त गरेपश्चात टेलिकमको वेबसाइट प्रयोग गरी यो सेवा उपभोग गर्न सकिन्छ । ग्राहक स्वयम्ले आफ्नो समूहभित्र रहेका नेपाल टेलिकमका जीएसएम तथा सीडीएमए दुवै किसिमका पोष्टपेड तथा प्रिपेड मोबाइल नम्बरमा एउटा एसएमएस बराबर अंग्रेजीमा १४० अक्षर तथा युनिकोडमा ७० अक्षर पठाउन सकिन्छ । वेब सुविधा नभएका ग्राहकहरुले पठाउन चाहेको सन्देश र पठाउनु पर्ने मोबाइल नम्बरहरु उपलब्ध गराएमा कम्पनी वा सेवाप्रदायकले एसएमएस पठाइदिने सुविधा पनि उपलब्ध छ । नेपाल टेलिकमबाट यो सेवा लिन चाहने संघ-संस्थाले मासिक न्यूनतम १ हजार ५ सय एसएमएस पठाउनु पर्ने हुन्छ । सो भन्दा कम एसएमएस पठाउन चाहने संघ/संस्थाले कम्पनीबाट अनुमति प्राप्त सेवा प्रदायकहरुसँग सम्पर्क गरी लाभ लिन सकिने छ र एसएमएस संख्याको आधारमा शुल्क निर्धारण गरिएको छ ।
चाडपर्वमा नेपाल टेलिकमको अफर, कात्तिक १० देखि १६ गतेसम्म रिचार्जमा कति पाइन्छ बोनस ?
काठमाडौँ । नेपाल टेलिकमले नेपालीहरुको महान चाड तिहारका साथै छठ र नेपाल संवतका अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ । सो अवसरमा मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । यो भन्दा पहिले देखि नै उपलब्ध फोरजी÷एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफरहरुलाई समेत निरन्तरता दिइएको छ । रिचार्जमा बोनस: जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यस योजनामा रु. ५०।–, १००।– र २००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– र १०००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु. ५०।–, १००।– र २००।– को बोनस ३ दिन भित्र र रु. ५००।– र १०००।– को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ । त्यसैगरी एमपोसबाट रु. १०।– देखि ४९९।– सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ । यी अफरहरुलाई पनि निरन्तरता १. फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने छ । २. पहिलो पटक फोरजी÷एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । ३. पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ । यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहने छ । ४. प्रिपेड नम्बरमा पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सकिनेछ । ५. कम्पनीको इन्टरनेट/इन्ट्रानेट लिज लाइन सेवा लिने नयाँ ग्राहकहरुलाई दर्ता शुल्क रु. ३२०।– आगामी छठसम्म निःशुल्क गरिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।
नेपाल टेलिकमले पर्वतको विद्यालयलाई दियो चार थान कम्प्युटर
काठमाडौँ । नेपाल टेलिकमले पर्वतको फलेवास नगरपालिका वडा नम्बर ३ पोखराचौरस्थित श्रीराम माविलाई चार थान कम्प्युटर हस्तान्तरण गरेको छ । विद्यालयको ४० औं वार्षिकोत्सव तथा अभिवावक दिवसको अवसर पारेर कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर प्रदान गरिएको हो । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माको समुपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम विश्वकर्मालाई दूरसञ्चार कार्यालय पर्वतका कार्यालय प्रमुख मोहन सुवेदीले कम्प्युटरहरु हस्तान्तरण गरे । सो अवसरमा नगरपालिका प्रमुख शर्माले कम्पनीले देशका सबै स्थानमा सेवा पु¥याउनुका साथै अन्य सामाजिक कार्यमा समेत संलग्न भएकोमा खुसी ब्यक्त गरे । कार्यालय प्रमुख मोहन सुवेदीले प्रविधिमैत्री शिक्षाका लागि थप टेवा पुगोस् भन्ने उद्देश्य अनुरुप विद्यालयलाई कम्प्युटर प्रदान गरिएको कुरा व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भुसालले कम्प्युटर प्रदान गरेकोमा नेपाल टेलिकमप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा गरे । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत सूचना प्रविधि क्षेत्रमा समेत टेवा पुग्ने गरी पठनपाठनमा सहजताका लागि सामुदायिक विद्यालयहरुलाई कम्प्युटर प्रदान गर्दैै आएको छ । कम्पनीले यो वर्ष १५ थान कम्प्युटर वितरण गर्ने कार्यक्रम रहेकोमा डोटीको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पसलाई ५ थान र दुर्गा माध्यमिक विद्यालयलाई २ थान तथा कपिलवस्तुको बाल माध्यमिक विद्यालयलाई ४ थान कम्प्युटर वितरण गरिसकेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।