इन्टरनेट डेटाको शुल्क घटाउँदै नेपाल टेलिकम
काठमाडाैं । नेपाल टेलिकमले डेटाको शुल्क घटाउने तयारी गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिएकी हुन् । ब्याण्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको तर त्यसमा पनि पुनर्विचार गर्न आफूहरु तयार रहेको उनले बताइन् । नायव प्रबन्ध निर्देशक पहाडीले वायरलेस डेटाको मूल्य भने कोभिडको कारणले पनि घटाउनु परेको बताइन् । कोभिडका कारण दुई वर्षको अवधिमा वायरलेसवाला डेटाको मूल्य सय प्रतिशतबाट २५ प्रतिशतमा झारिएको उल्लेख गर्दै उनले त्यसलाई महंगो भन्न नमिल्ने तर्क गरिन् । ‘वायरलेस डेटा प्याकेजमा नलिएको हुनाले महंगो भनिएको हो कि ? नत्रभने मलाई लाग्छ यो वायरलेस डेटाको कष्ट चाँही १०० प्रतिशतबाट २५ प्रतिशतमा झरिसकेको छ । यो कोभिडको कारणले गर्दाखेरी पनि गोभरमेन्टबाट नै यसको रेट घटाउन निर्देशन दिइएको थियो । त्यसकारण पनि यो डेटाको कष्ट धेरै घटाएका छौं । यता, ब्यान्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको हो । सरोकारवालाहरुले सुझाव दिए यसमा पनि विचार गर्न सकिन्छ,’ उनले भनिन् । नेपाल टेलिकमले पूर्वाधार निर्माणको लागत घटने बित्तिकै डेटाको मूल्य पनि सहजै घटेर जाने जानकारी पनि गराउँदै आएको छ ।
नेपाल टेलिकम र साइबरनेटिक्सबीच दुर्गममा वाइफाई सेवा पुर्याउने सम्झौता
काठमाडौं । नेपाल टेलिकम र साइबरनेटिक्सबीच फोरजि एलटिइ नमस्ते वाईफाईमार्फत दुर्गमका ग्राहकलाई डिभाइससहित सेवा प्रदान गर्ने सम्झाैता भएकाे छ । बुधबार सम्पन्न सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् । फोरजि एलटिइ नमस्ते वाईफाईमार्फत नेपाल टेलिकमले हाल इन्डिभिजुवल प्याकेज र गभरमेन्ट इन्स्टिच्युसन प्याकेज गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ । इन्डिभिजुवल प्याकेज अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक ८०० मा ६० जिबि ३० दिनका लागि उपलब्ध छ । त्यसैगरी १ वर्षका लागि ९००० मा ७२० जिबि प्याक उपलब्ध छ । यसलाई प्रतिमहिना ६० जिबिको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा ४०० मा १५ दिनका लागि ६० जिबि प्याक लिन सकिन्छ । होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत रु. १,२०० मा १२० जिबि प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी १ वर्षका लागि १३ हजार ५०० मा १,४४० जिबि प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १२० जिबिको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा ६०० मा १५ दिनका लागि १२० जिबि प्याक लिन सकिन्छ । गभरमेन्ट इन्स्टिच्युसन प्याकेजमा ३ हजार ६५० र २१ सयमा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको छ ।
नेपाल टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याक, यसरी प्रयोग गर्न सकिन्छ
काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ लोकप्रिय बनिरहेको छ । दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिनेछ । प्याक अवधिभरी ग्राहकले आफ्नो आवश्यकता अनुसार थप सुविधाहरु प्राप्त गर्न चाहेमा एड अन प्याक समेत खरिद गरी चलाउन सक्नेछन् । “सजिलो अनलिमिटेड प्याक” अन्तर्गत पोस्टपेडमा विभिन्न ४ प्याकहरु रहेका छन् । जसमा ५९९ रुपैयाँ, ७९९, ९९९ र एक हजार ४९९ रुपैयाँका का प्याकहरु उपलब्ध छन् । सजिलो अनलिमिटेड पोस्टपेड ५९९ रुपैयाँ अफर अन्तर्गत ३० दिनसम्म चलाउन मिल्नेगरी ५९९ रुपैयाँमा अनलिमिटेड अननेट (नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने) भ्वाइस सेवा उपलब्ध हुनेछ । सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर अन्तर्गत जम्मा ७९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस (अन्य नेटवर्कमा समेत कल गर्न सकिने) र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ । सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर अन्तर्गत जम्मा ९९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिन्छ । सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर अन्तर्गत जम्मा १४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जिबी डाटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ । उल्लेखित सबै प्याक लिंदा जिएसएम पोस्टपेडमा लागु हुने रेन्टल चार्जवापतको ३८४ रुपैयाँ समेत जोडेर प्याक लिन सकिन्छ । यी प्याकहरु *1415# डायल गरी प्राप्त निर्देशन अनुसार वा सहज रुपमा नेपाल टेलिकम एपबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । एड अन प्याक कसरी खरिद गर्ने ? कम्पनीले उपलब्ध गराउँदै आएको विभिन्न ४ प्याकेजमा प्रतिदिन १ जीबी, २ जीबी र ४ जीबी प्रयोग गर्न सकिने डाटा सकिएमा प्याकेजको बाँकी अवधिभरीका लागि सस्तो दरको एड अन प्याक खरिद गर्न सकिन्छ । यस अन्तर्गत २९९ रुपैयाँमा प्रतिदिन १ जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जिबी डाटा सेवा एड अन प्याकको रुपमा खरिद गर्न सकिन्छ । प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा ६४ केबिपिएसको निःशुल्क अनलिमिटेड डाटा सेवा भने उपलब्ध नै हुनेछ । यदि ग्राहकले ६४ केबिपिएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा जम्मा ३० रुपैयाँमा १ जिबी, ४० रुपैयाँमा २ जिबी र ५० रुपैयाँमा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड अन प्याक कै रुपमा खरिद गर्न सकिन्छ । यसैगरी अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन १ जिबी प्रयोग गर्न सकिने ३० जिबी डाटा सेवाको प्याक ५९९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । सो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा २९९ रुपैयाँमा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड अन प्याक खरिद गर्न सकिन्छ । यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा ६४ केबिपिएस अनलिमिटेड डाटा सेवा प्याकेजको बाँकी अवधिभरी निःशुल्क उपलब्ध हुनेछ । सो भन्दा बढी गतिको सेवा लिन चाहेमा जम्मा ३० रुपैयाँमा १ जिबी, ४० रुपैयाँमा २ जिबी र ५० रुपैयाँमा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिनेछ ।
नेपाल टेलिकमबाट यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा
काठमाडौं । शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । यसको नतिजा सजिलै थाहा पाउन र हेर्नको लागि टेलिकमले वेवसाइट र एसएमएसको व्यवस्था गरेको छ राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको कक्षा १२ को परीक्षाफल नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ लगइन गरी सिम्बोल नम्बर र जन्म मिति लेखेर हेर्न सकिन्छ । यसैगरी NEB टाइप गरी स्पेस छाडेर सिम्बोल नम्बर लेखी १६००मा सन्देश पठाएर पनि तत्कालै परीक्षाफल थाहा पाउन सकिन्छ । साथै १६०१ डायल गरी प्राप्त निर्देशन अनुसार सिम्बोल नम्बर राखी नतिजा थाहा पाउन सकिनेछ ।
सबैभन्दा बढी कर तिर्नेमा नेपाल टेलिकम, बैंकिङ्गमा नबिल र बीमामा पुनर्बीमा कम्पनी
काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेको छ । १०औं राष्ट्रिय कर दिवसको अवसर पारेर विभागले बुधबार सबैभन्दा बढी कर बुझाउने करदाताहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) परेकाे छ । गत आर्थिक वर्षको आय विवरण अनुसार टेलिकमले सबैभन्दा बढी कर तिरे विभागले जनाएकाे छ । त्यस्तै, निर्यात कारोबारबाट डाबर नेपाल (प्रा.) लिले सबैभन्दा बढी आयकार दाखिला गरेको छ । त्यसैगरी, विभागले व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने सिद्धार्थ शम्सेर जंगबहादुर राणालाई सम्मानित गरेको छ । गत वर्षको विवरण अनुसार बैंक तथा वित्तीय संस्थाको मध्ये नबिल बैंकले सबैभन्दा बढी कर तिरेको छ । त्यस्तै, बीमा व्यवसायमध्ये नेपाल पुनर्बीमा कम्पनी र सहकारी तथा लघुवित्तमध्ये छिमेक लघुवित्त वित्तीय संस्थाले गत वर्ष सर्वाधिक कर तिरेका छन् । त्यस्तै, विभागले सर्वाधिक कर तिरेबापत विशेष उद्योगहरुमध्ये एशियन पेन्टस् (नेपाल), कृषि एवं पशुपंछीजन्य उद्योगहरुमध्ये पूर्वाञ्चल एग्रीटेकलाई सम्मानित गरेको छ । उता सूर्य नेपालले सबैभन्दा बढी कर दाखिला गरेको छ । विभागले आयकारका साथै मूल्य अभिवृद्धि कर र अन्तः शुल्क समेत सबैभन्दा बढी कूल कर रकम दाखिला गरेकोले सूर्य नेपाललाई सम्मान गरेको हो । स्वास्थ्य तथा शिक्षा तर्फ नोबेल मेडिकल कलेज टिचिङ्ग, पर्यटनतर्फ तारागाउँ रिजेन्सी होटल्स, वस्तु व्यापार तर्फ भाटभटेनी सुपरमार्केट, मध्यमस्तरी करदातामध्ये कर्जा सूचना केन्द्र कम्पनी र नियमित कर बुझाउनेमध्ये घोराहि सिमेन्ट ईण्डष्ट्रि रहेका छन् ।
आर्थिक मन्दीको नेपाल टेलिकमको व्यापार उत्साहजनक, नाफा ४९ प्रतिशतले वृद्धि
काठमाडौं । नेपाल टेलिकमको खुद मुनाफा ४९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले असोज मसान्तसम्ममा रु २ अर्ब २६ करोड खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा रु. १ अर्ब ५१ करोड नाफा गरेको थियो । कम्पनीको आम्दानी पनि १३ प्रतिशतले बढेको छ । गत आ. व. को प्रथम त्रैमासमा कम्पनीको सञ्चालन आय रु. ८ अर्ब ६३ करोड रहेकोमा चालु आ. व. को सोही अवधिमा रु. ९ अर्ब ७७ करोड आर्जन गरेको छ । यस वर्षको प्रथम ३ महिनामा कम्पनीको कुल आय रु. १० अर्ब ९५ करोड रहेको छ । गत वर्षको सोही अवधिमा रु. १० अर्ब १० करोड थियो । कम्पनीको नाफा वृद्धि हुनुमा फोरजी सेवा विस्तार हुनु, मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुनु रहेको कम्पनीले जनाएको छ । कोभिड महामारीका बीच विश्वभर आर्थिक मन्दी रहेको बेलामा कम्पनीको आय वृद्धि हुनुलाई टेलिकमले सफलताको रुपमा लिएको छ ।
साेलुखुम्बुमा नेपाल टेलिकमकाे अप्टिकल फाइबर जडान
काठमाडौं । सोलुखुम्बुका सेवाग्राहीले दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको हो । समुद्री सतहबाट ३ हजार मिटर उचाईमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई हिजो ९२०७८ कात्तिक ११० १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो । रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा विगत लामो समयदेखि सेवाग्राहीहरुको आवश्यकता र चाहना भएतापनि उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध हुन सकेको थिएन । नयाँ अप्टिकल फाइबर लिंक सञ्चालनमा अप्रत्यासित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने देखिन्छ । पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरुको गुणस्तर अभिवृद्धि हुनेछ । यसका साथै यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरुको मोबाइल ट्राफिक आदान प्रदान गर्न सहज हुनेछ ।
बिहानैदेखि नेपाल टेलिकमको मोबाइल रिचार्जमा समस्या
काठमाडौं । बिहीबार बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्न नहुने समस्या देखिएको छ । आज बिहान करिब साढे ५ बजेदेखि मोबाइलमा रिचार्ज नहुने समस्या देखिएको टेलिकमले जनाएको छ । बैंक, ईसेवा, खल्ती, आईएमई पे लगायतका डिजिटल वालेट तथा मोबाइल बैंकिङ टपअप (अनलाइन रिचार्ज) रिचार्जमा समस्या देखिएको टेलिकमका प्रवक्ता राजेश जोशी बताउँछन् । उनका अनुसार नेटवर्कमा समस्या देखिएसगैँ प्राविधिक टिमले समाधानको काम गरिरहेका छन् ।
बिहानैदेखि नेपाल टेलिकमको मोबाइल सेवामा समस्या
काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्क सेवामा प्राविधिक समस्या देखिएको छ । बुधबार बिहानैदेखि देशभरका पोष्टपेड तथा प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो । बुधबार बिहानैदेखि फोन नलाग्ने समस्या भएपनि के कारण समस्या देखिएको थाहा नहुँदा समस्या समाधानमा ढिलाई भएको टेलिकमले जनाएको छ । समस्या देखिनासाथ समाधानको प्रयास भने भइरहेको छ ।
यस्ताे छ नेपाल टेलिकमकाे सुलभ दरकाे कल र भ्वाेइस प्याक
काठमाडौं । काेराेना संक्रमणकाे दर निकै बढेकाे कारण सरकारले हाल देशकाे अधिकांश भागमा निषेधाज्ञाकाे घाेषणा गरेकाे छ जसकारण प्राय सबै आफ्नाे घरभित्र नै छन् । यसैलाई मध्यनजर गर्दै नेपाल टेलिकमले ग्राहकहरुकाे लागि याे समय सजिलाे बनाउन सहजरुपमा उपयोग गर्नसक्ने आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक ल्याएको छ । टेलिकले ल्याएकाे यस अफरमा ४ किसिमकाे प्याकहरु रहेका छन् । यदि तपाई पनि सुलभ दरमा इन्टरनेट र भ्वाेइस प्याक चलाएर आफ्नाे घरभित्रकाे सयमलाई रमाइलाे बनाउन चाहानुहुन्छ भने टेलिकमले ल्याएकाे यस प्याक तपाईकाे लागि सबैभन्दा राम्राे राेजाई हुनेछ । प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने प्याकहरु यस्ता छन्: १. वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक २८ दिनसम्म प्रत्येक गर्न सकिने याे प्याकमा दिनम १ जीबी डाटा चलाउन सकिनुकाे साथैप्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिन्छ । यस प्याकको मूल्य मात्र ६४९ रुपैयाँ रहेको छ । यो अफर लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*८*२# डायल गर्न सकिन्छ । २. सात दिनका लागि १.५ जीबी प्याक ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा ९५ मा उपलब्ध गराइरहेको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*१*४# डायल गर्न सकिन्छ । ३. दुई घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक २ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । मात्र ३० रुपैयाँमा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*८*२# डायल गर्न सकिन्छ । ४. ५०० एमबी पर डे डाटा प्याक जम्मा २९९ रुपैयाँमा मा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*९*३# डायल गर्न सकिन्छ । मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिन्छ ।
अब नेपाल टेलिकमको डाटा, भ्वाइस तथा एसएमएस प्याक खल्ती वालेटबाटै किन्न सकिने
काठमाडौं । नेपाल टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाईल एपबाटै किन्न सकिने भएको छ । खल्ती डिजिटल वालेटबाट खरिद गर्दा आफ्नो नम्बरका साथै अरूको मोवाइल नम्बरका लागि समेत खरिद गर्न सकिने छ । नेपाल टेलिकमको प्याक किन्न खल्ती एपको होमस्क्रिनमा रहेको डाटा प्याकभित्र गइ चाहेको प्याक छनौट गरेर खरिद गर्न सकिने छ । यसरी नेपाल टेलिकमको विभिन्न प्याकको शुल्क कति पर्छ भनेर सहजै थाहा पाउने छन् । नेपाल टेलिकम र खल्ती डिजिटल वालेटबीच यस सम्बन्धि सम्झौतापत्रमा नेपाल टेलिकमका निर्देशक मिनु प्रधान र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका छन् । खल्तीका सहायक प्रबन्धक जोनाम भूर्तेल ग्राहकको आवश्यकता बुझी नेपाल टेलिकमको डाटा प्याकलाइ मोबाइल एपमै ल्याएका बताउँछन् । ‘अब ग्राहकले आफ्नो मात्र नभई आफ्नो परिवार तथा साथीहरुको लागि पनि प्याक खरिद गरिदिन सक्ने छन्,’ उनले भने, ‘यसले गर्दा प्याक कहाँबाट किन्ने थाहा नहुनेहरुलाई र डायल गर्नुपर्ने विभिन्न कोडले गर्दा झण्झट मान्नेहरूलाई समेत सजिलो भएको छ ।’ नेपाल टेलिकमका १२ देखि ३ हजार रूपैयाँसम्मका प्याक खल्तीमा उपलब्ध छन् । ग्राहकले एपमा पैसा लोड गरी वा ‘खल्ती’ एपमा बैंक खाता लिंक गरी सिधै बैंकबाट सबै प्याकको भुक्तानी गर्न सक्नेछन् ।
स्याङ्जाको करादीमा नेपाल टेलिकमको सेवा विस्तार
काठमाडौं । नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादीबजार र सोको आसपास क्षेत्रलाई समेटने गरि जिएसएम सेवाको विस्तार गरेको छ । करादीबजार र आसपासको क्षेत्रलाई समेट्ने गरि विस्तार गरिएको उक्त सेवा मार्पmत बजारमा रहेका ९८ घरधुरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हजाराै यात्रु प्रत्यक्ष रुपमा लाभान्वित हुने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख सुरेन्द्रमान सिंहले बताए । करादी बजार गल्याङ नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र हो । व्यापारिक केन्द्रहरुमा मानिसको चाप बढी हुने र नेपाल टेलिकमको सेवाबाट बन्चित हुने अवस्था देखिएपछि सेक्टर एक्सपानसन मार्फत करादी बजारमा जिएसएम सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख रवि मानन्धरले बताए । यस्तै, हाल जिएसएम प्रविधि मार्पmत वायरलेस सेवा प्रदान गरिएपनि निकट भविष्यमै सोही ठाँउबाट वायरलाईन सेवा अन्तर्गत उच्च गतिको हाई स्पिड फाइबर इन्टरनेट, एनटी टेलिभिजन र पिएसटिएन ल्याण्डलाईन सेवा सहितको ट्रिपल प्ले सेवा उपलब्ध गराउने तयारी भएको छ । उक्त सेवा मार्फत वायरलेस र वायरलाइन दुबै सेवा एकै स्थानबाट उपलब्ध गराउन सकिने गरि सञ्चालन गरिएको हो ।
नेपाल टेलिकमले शेयरधनीलाई प्रतिशेयर ४० रुपैयाँकाे दरले नगद लाभांश वितरण गर्ने
काठमाडाैं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट शेयरधनीलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । टेलिकमको शुक्रबार बसेको १३ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको ४० प्रतिशत नगद लाभांश पारित गरेको हो । यस्तै साधारणसभाले वार्षिक प्रतिवेदन पास गर्ने, अनुसूचीहरु परित गर्ने र आर्थिक वर्ष २०७७/०७८ को लागि महालेखापरीषकको कार्यालयको परामर्स तथा कम्पनीको लेखा परीक्षण समितिको सिफारिसमा लेखापरीक्षक नियुक्त गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताएका छन् । साधारणसभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधिमा अम्बिकाप्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको पनि प्रवक्ता जोशीले बताए। टेलिकमले गत आर्थिक वर्षमा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ६४ रुपैयाँ ९९ पैसा रहेको छ । गत आर्थिक वर्षमा टेलिकमको कुल ग्राहक संख्या २ करोड पुगेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
नेपाल टेलिकमकाे संचालक समितिमा अम्बिका पौडेल
काठमाडाैं । नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा सर्वसाधारण सेयरधनीका तर्फबाट अम्बिकाप्रसाद पौडैले निर्विरोध चयन भएका छन् । उनी पहिलो पटक आमसर्वसाधारणको तर्फबाट निर्विराेध सञ्चालक समिति सदस्यमा चयन भएका हुन् । सेयर लगानीकर्ताहरुको संगठन नेपाल इन्भेस्टर्स फोरमको पुर्व अध्यक्ष समेत रहेका पाैडेलकाे चयनलाई कम्पनीकाे चैत १३ गते बस्ने साधरणसभाले अनुमोदन गर्नेछ । टेलिकममा ८.४८ प्रतिशत सेयर सर्वसाधारणको छ । यसमध्ये ४.५ प्रतिशत कर्मचारी र ३.९८ प्रतिशत सर्वसाधारणको छ। नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर छ ।
नेपाल टेलिकमले डाक्यो वार्षिक साधारणसभा, ४० प्रतिशत नगद लाभांश पारित गर्ने
काठमाडौं । नेपाल टेलिकमले आगामी चैत १३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा तेह्रौं वार्षिक साधारणसभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ । त्यस्तै, सभाले कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यको निर्वाचन गर्ने भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण पारित गर्ने छ । सम्बन्धित समाचार टेलिकमले घोषणा गर्यो हालसम्मकै थोरै लाभांश नेपाल टेलिकमको नाफा घट्यो, यस्तो छ कारण
नेपाल टेलिकमको नाफा घट्यो, यस्तो छ कारण
काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा नेपाल दूरसञ्चार कमपनी लिमिटेडको नाफा घटेको छ । टेलिकमले आज सार्वजनिक गरेको दोस्रो वित्तीय विवरणका अनुसार गत आवकाे दाेस्राे त्रैमासकाे तुलनामा चालु आवकाे दाेस्राे त्रैमासकाे कम्पनीकाे नाफा ३३ प्रतिशतले घटेकाे हाे । गत आवमा ४ अर्ब ९३ कराेड नाफा गरेकाे कम्पनीले चालु आवकाे मसान्तसम्म ३ अर्ब ३२ कराेड नाफा गरेकाे हाे । कम्पनीको गत आवको दित्तीय त्रैमाससम्ममा कुल सेवा वाफतको आम्दानी १८ अर्ब ३ करोड ५७ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा कुल सेवा वाफतको आम्दानीमा १.७४ प्रतिशतले कमि आई १७ अर्ब ७ ७२ करोड ४९ लाख रुपैयाँ कायम रहेको छ । यस्तै, चालु आवको प्रथम त्रैमासमा कुल ८ अर्ब ६३ करोड ५३ लाख रुपैयाँ आम्दानी रहेकोमा चालु आवको दोस्रो त्रैमासमा ४५ करोड ४२ लाख ३३ हजार रुपैयाँले वृद्धि भई ९ अर्ब ८ करोड ९५ लाख रुपैयाँ रहेको छ । यतै, कम्पनीको चालु आवको दोस्रो त्रैमासमा १ अर्ब ७७ करोड १६ लाख रुपैयाँ नाफा भएको छ भने कम्पनीले चालु आवको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको दोस्रो त्रैमासको नाफा भने घटेको छ । कम्पनीले कोरोना भाइरसको कारण नाफा घटेको बताएको छ । बैंक तथा वित्तिय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको प्रथम त्रैमासिकको तुलनामा चालु आवको सोहि अवधिमा घट्न गएको हुँदा व्याज आम्दानीमा पनि करिब २० करोड ७४ लाखले आएको कमी बताएकाे बताएकाे छ । महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलव्ध गरिएको हुँदा जीएसएम सेवा तर्फ अघिल्लो आव को प्रथम त्रैमासिकको तुलनामा डाटाको कन्जम्सन बढेतापनि राजश्वमा आएको कमी र काेराेना महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको अभुतपूर्व गिरावट तथा ओटीटी को वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा आएको भारी गिरावट आएकाे बताएकाे छ ।
यसरी अगाडि बढ्दैछ नेपाल टेलिकम: एमडी अधिकारीको विचार
मुलुकमा दूरसंचार सेवाको शुरुवात, विकास र विस्तारको एक शताव्दि भन्दा लामो गौरवशाली इतिहास बोकेको संस्था वि.सं. २०६० माघ २२ गते “कम्पनी” मा रुपान्तरण भए पश्चात नेपाल टेलिकम आज आफ्नो कम्पनी स्थापनाको १७ औं वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ। यस यात्रामा शुभकामना, सहयोग र सद्भाव प्रदान गरी निरन्तर हौसला दिनु हुने नेपाल सरकारका निकायहरु, नियामक निकाय, कम्पनीका ग्राहकवर्ग, शेयरधनी, सेवा सञ्चालनमा सहयोग पुर्याउने आपूर्तिकर्ता लगायत विभिन्न निकायहरु तथा शुभेच्छुक महानुभावहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयात्राको अपेक्षा गर्दछु। गत वर्षदेखि काेभिड १९ को महामारीको कारणले विश्वलाई नै आक्रान्त बनाएको अवस्थामा सोको असर निःसन्देह मुलुक र कम्पनीलाई पनि पर्न गयो। महामारी र लकडाउनको कारणले एकातर्फ, कम्पनीका आयोजनाहरुका लागि कार्यतालिका अनुसारका उपकरणहरु आपूर्ति गर्न असम्भव हुन गयो भने अर्कोतर्फ कम्पनी परिसरमा प्राप्त भई सकेका उपकरणहरु निश्चित स्थानमा ढुवानी गर्न जनशक्ति लगायतका स्रोतसाधन परिचालन गर्न समस्या पर्न गयो। आपूर्ति गरिएका उपकरणसंग सम्बन्धित वैदेशिक तालिमहरु सञ्चालन गर्न असम्भव हुन गयो भने मुलुकभित्रै उपकरण जडान गर्नु पर्ने घरका घरघनीहरुले स्वास्थ्य सुरक्षाका कारणले वाह्य व्यक्तिलाई प्रवेश गर्न दिन सक्ने अवस्था रहेन। यी व्यावहारिक समस्याहरुको अवस्थामा समेत कम्पनीको सेवाहरुलाई अबिछिन्न रुपमा गुणस्तर कायम राख्दै संचालन गर्नको लागि कम्पनी सञ्चालक समितिबाट प्राप्त निर्देशन, कम्पनीका कर्मचारी मित्रहरुबाट प्रदर्शित जिम्मेवारी बोध एवम् ग्राहकवर्गबाट प्राप्त माया र सद्भाव प्रति कम्पनीको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु । विगत र वर्तमानलाई संक्षिप्त विवेचना गर्ने हो भने १७ वर्ष अघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिव ४ लाख २२ हजार रहेकोमा आज कम्पनीको ग्राहक आधार २ करोड ९ लाख नाघिसकेको छ । यसको अर्थ, हाल मुलुकको करिव ७० प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ । कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फाेरजी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइवरमा आधारित फिट्थ सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको छ । कम्पनीले आधारभूत टेलिफोन(पीएसटीएन/फिक्स्ड), ताररहित जीएसएम/मोबाइल, अति दुर्गम विकट स्थानहरुमा स्याटेलाइट प्रबिधिमा आधारित भीस्याट टेलिफोन सेवा, इन्टरनेट/डाटा सेवा(वायरलेस अन्तर्गत फाेरजी, थ्रीजी, इभीडीअाे, वाइम्याक्स, वाइफाइ हटस्पट र वायरलाइन अन्तर्गत फिट्थ, एडीएसएल, फाइबर लिज) तथा अन्य भ्याल्यु याडेड सर्भिसेस्(भीएएस) सेवाहरु उपलब्ध गराउंदै आएको छ। फिट्थ सेवा अन्तर्गत एउटै फाइबरको माध्यमबाट डाटा र भ्वाइस उपलव्ध भइरहेकोमा गत जनवरी १ तारिखमा एटीटीभी ब्राण्डमा आइपीटीभी सेवाको शुभारम्भ भए पश्चात त्रिपल प्ले(अर्थात्, भ्वाइस, डेटा र भिडियाे) को अवधारणा कार्यान्वयन गर्ने सफलता कम्पनीलाई प्राप्त भएको छ । कम्पनीको प्रगतिको तुलनात्मक तथ्याङ्क हेर्ने हो भने कम्पनीको ग्राहक आधार आधारभूत सेवा(पीएसटीएन), जीएसएम, सीडीएमए तर्फ २०७६ असार मसान्तमा करिव २ करोड २७ लाख (७६.९५ प्रतिशत टेलीघनत्व) रहेको थियो। करिव २० लाख निष्क्रिय ग्राहक सिष्टमबाट हटाउने क्रममा २०७७ असार मसान्तमा ग्राहक आधार करिब २ करोड (६७.७६ प्रतिशत टेलीघनत्व) पुगेतापनि ग्राहक आधारमा क्रमिक रुपमा वृद्धि हुँदै २०७७ मंसिर मसान्तसम्म ग्राहक आधार २ करोड ९ लाख (६९.८ प्रतिशत टेलीघनत्व) पुगेको छ | यसैगरी काेभिड १९ बाट सिर्जना भएको असहज परिस्थितिका बाबजुद आ.व. २०७६/७७ मा कम्पनीको आय ४२ अर्ब ९८ करोड रूपैयाँ पुगेको छ भने कम्पनीको खुद मुनाफा ९ अर्ब ७४ करोड रूपैयाँ भएको छ। मुलुकको अर्थतन्त्रमा कम्पनीले पुर्याएको योगदान हेर्ने हो भने आ.व. २०७५/७६ मा इन्कम ट्याक्स, भ्याल्यु एडेड ट्याक्स, टीएससी, ओनरसीप ट्रयाक्स, कस्टमस् डियुटी, राेयालिटी, आरटीडीएपफ, डिभिडेन्ड, प्रपर्टी एण्ड भेकल ट्याक्स लगायतका कर तथा गैह्रकर गरी कम्पनीले ३३ अर्ब ३० करोड (कूल आयको ७५%) रकम योगदान गरेको थियो भने यस आ. व. २०७६/७७ मा ३५ अर्ब ५ करोड (कूल आयको ८१%) योगदान गरेको छ। कम्पनीको सेवा विस्तार सम्बन्धमा भ्वाइस सेवातर्फ: कम्पनीको ग्राहक आधार २०७७ मंसिर महिनाको अन्त्य सम्ममा २ करोड ९ लाख २७ हजारभन्दा बढी रहेको छ । सो मध्ये जीएसएम मोबाइलका ग्राहक १ करोड ८४ लाख ३१ हजार, सीडीएमए सेवाका १८ लाख ८ हजार र पीएसटीएन सेवाका ग्राहक ६ लाख १७ हजार रहेका छन् । त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक ७१ हजार ३ सय रहेका छन् । २०७७ कात्तिक महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस रिर्पाेट अनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५३.६५ प्रतिशत रहेको छ । इन्टरनेट डाटा सेवातर्फ: कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०७७ मंसिर महिनाको अन्त्यसम्ममा कुल १ करोड ६४ लाख ९ हजार ५ सय भन्दा बढी पुगेको छ। सो मध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता १ करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता १ लाख ८१ हजार ५ सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार र वाइम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेका छन् । जीएसएम फाेरजी तर्फ हालसम्म करिव २५ लाख ग्राहक पुगिसकेको छ। मुलुकका सम्पूर्ण भूभागमा अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने योजना अन्तर्गत मुलुकमै पहिलो पटक अत्यन्त तीव्र गतिको वायरलेस प्रविधिको एलटीइ एडभान्स्ड फोरजी मोबाइल सेवा देशव्यापी रुपमा विस्तार भइरहेको छ । यो सेवा ७७ वटै जिल्लाको ६२० स्थानीय तह सम्म पुगिसकेको छ । कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने फाइबर टु दी हाेम(फिट्थ) सेवाको योजनालाई चालू आर्थिक वर्षमा निरन्तरता दिँदै सेवा विस्तार तीव्र रुपमा गरिरहेको छ । यो सेवा ४२ जिल्लामा पुगिसकेको छ । फिट्थ नेटवर्कमा एनटीटीभी टेलिभिजन सेवा जनवरी १, २०२१ देखि शुरु भएको हो । यसबाट फिट्थ भएका स्थानमा भिडियाे अन डिमाण्ड(भीओडी) जस्ता सेवा ग्राहकलाई उपलव्ध गर्न सकिने छ । एउटै फाइवरबाट भ्वाइस, इन्टरनेट तथा टीभी उपलब्ध हुने भएकाले कम्पनीका लागि यो एक महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास लिइएको छ । कम्पनीको फिट्थ सेवामा ग्राहकहरुको ठूलो आकर्षण देखिएको र हालसम्म १ लाख १५ हजार फिट्थ कनेक्सन पुगिसकेको छ। मुलुकमा फिट्थ सेवाको विस्तारको क्रम हेर्ने हो भने धवलागिरी अञ्चलका वाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्ला सदरमुकामहरुबाट तामाको तारको नेटवर्कलाई अप्टिकल फाइवर नेटवर्कले पूर्ण रुपमा विस्थापित गर्ने कार्य सम्पन्न भई सकेको छ। यसको अलावा वाग्लुङको कुँडुले एक्सचेञ्ज, वलेवा एक्सचेञ्ज, म्याग्दीको गलेश्वर एक्सचेञ्ज, मुस्ताङको मार्फा र कागवेनी एक्सचेञ्ज क्षेत्रमा तामाको तारको नेटवर्क पूर्ण रुपमा विस्थापित भई सकेको छ। यसैगरी पश्चिम नवलपरासीको वर्दघाट एक्सचेञ्ज र काभ्रे जिल्लाको बनेपा एक्सचेञ्ज क्षेत्रमा समेत तामाको तारको नेटवर्कलाई अप्टिकल फाइवर नेटवर्कले पूर्ण रुपमा विस्थापित गर्ने कार्य सम्पन्न भइसकेको छ। यी कार्यालयहरुका कार्यालय प्रमुख लगायत संलग्न सबै लगनशील कर्मचारी मित्रहरुलाई हार्दिक बधाई दिन चाहन्छ र देशभरका अन्य कार्यालयहरुमा समेत फिट्थले कपर बेस नेटवर्कलाई विस्थापित गर्ने कार्य तिब्ररुपमा अगाडी बढाउने ब्यहोरा समेत अनुरोध गर्न चाहन्छु। पूर्वाधार विकास तर्फ मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, २ र बाग्मति का जिल्ला, नगरपालिका र गाउँपालिकाहरु लाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने मध्य पहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भई कार्य अगाडि बढाइएको छ । अन्तर निकायबीच समन्वयको कमी कमजोरी, काेभिड-१९को प्रभावले सुस्त बनेको आयोजना कार्यान्वयन हाल काेभिड-१९ कम प्रभाव, अन्तरनिकायबिच को सुमधुर समन्वयको कारणले तीव्र रुपमा अगाडि बढिरहेको र चालु आ.व. मा अधिकांश कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ।यस पूर्बाधारले सूचना महामार्ग निर्माणको परिकल्पनालाई पूरा गरि डिजीटल नेपाल निर्माणका लागि आवश्यक डिजिटल फाउण्डेशन तयार गर्न महत्वपूर्ण योगदान दिने विश्वास लिएको छु। मोबाइल बैङ्किङ तर्फ मोबाइलबाटै अधिकांश आर्थिक कारोबार गर्न सकिने योजना कार्यान्वयनका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको स्थापना गरिएको छ। नेपाल टेलिकमको सहायक कम्पनीको रुपमा कार्य गर्ने गरी मोबाइल फाइनान्सियल सर्भिस सञ्चालनको अन्तिम चरणको कार्य भइरहेको छ । कम्पनीले डिजिटल पेमेन्ट्स अर्थात मोबाइल मनीका लागि चाहिने आवश्यक पूर्वाधारका लागि तयारी गरिरहेको छ । आगामी दिनमा मोबाइलबाटै सबै कारोबार गर्न सकिने भएकाले नेपाली जनताका लागि यो नयाँ अनुभव हुनेछ । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन, क्यासलेस साेसाइटीको परिकल्पनालाई साकार पार्ने र वित्तीय पहुँच विस्तार गरी सुशासन र वित्तीय कारोबारमा पारदर्शिता कायम गर्नमा यसले महत्वपूर्ण योगदान दिनेछ । संस्थागत सामाजिक उत्तरदायित्व तर्फ १. बागमती सरसफाइ महाअभियानमा सहभागिता तथा सहयोग । २. नेपालमा फुटबल खेलको विकास तथा खेलाडीहरुको व्यावसायिकतालाई सहयोग पुगोस् भन्ने उद्देश्यले नेपालको ए डिभिजन फुटबलको विभागीय टिम नेपाल पुलिस क्लबलाई वि.सं. २०६८ देखि नियमित रुपमा प्रयोजन गर्दै आइरहेको । ३. भूकम्प प्रभावित तथा अन्य दुर्गम १७ जिल्लाहरुमा आईसीटी सेन्टर स्थापना गर्ने कार्य सम्पन्न । ४. कागजरहित वातावरणको सिर्जना गर्न एमपीओएस तथा अन्य पिनलेस रिचार्जको प्रवर्द्धन । ५. बोल्न तथा सुन्न नसक्ने व्यक्तिहरुका लागि मोबाइलमा सहुलियत दर (प्रतिमिनेट ५० पैसा, करबाहेक) मा कल सेवा उपलब्ध । ६. पर्यटकीय स्थल राराताल वरपर फोहोर व्यवस्थापन गर्न ८० थान डष्टबिन राखी फोहोर व्यवस्थापन गर्ने कार्य भएको । ७. विभिन्न दिवसलगायत पर्व, अभियान, सम्मेलन र प्राकृतिक विपद्का समयमा सूचना तथा अन्य जानकारीमूलक सन्देशहरु निःशुल्क बल्क एसएमएस मार्फत प्रवाह गर्दै आएको । ८. कोभिड-१९ को अवस्थामा गरिएको लकडाउन समयमा सेवाग्राहीहरुलाई डाटा सेवामा विभिन्न छुट, रिचार्जमा शतप्रतिशत बोनस र अन्य विभिन्न प्याकेजको व्यवस्था । ९. लकडाउनको समयमा विदेशबाट आएका नेपाली नागरिकहरुलाई होल्डिङ सेन्टर तथा क्वारेन्टाइन सेन्टरमार्फत निःशुल्क सिम वितरण । होल्डिङ सेन्टरहरुमा निःशुल्क वाइफाई सुविधा उपलब्ध गराएको । १०. नेपाल सरकारको शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना अनुरुप देशभरका विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकको लागि निःशुल्क पाठशाला सीयूजी सिम तथा ह्याप्पी लर्निङ्ग प्याकको व्यवस्था गरिएको । कम्पनीको १७ औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले कम्पनीको १७औं वार्षिकोत्सवका अवसरमा आज (२०७७ माघ २२) देखि मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक सुविधा सहित फोरजी वायरलेस होम ब्रोडव्याण्ड सर्भिस र मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सेवाको शुरुवात गरेको छ । एफटीटीएच वा तारवाला टेलिफोन नपुगेका वा वाईफाई सेवा उपलब्ध नभएका तर वायरलेस माध्यमबाट धेरै डाटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले सीपीई प्रयोग गरी सुलभ दरमा फोरजी वायरलेस होम ब्रोडव्याण्ड सेवाबाट इन्टरनेट प्रयोग गर्न सक्नेछन् । हाल यो सेवा प्रतिमहिना रु. ९ सयमा ६० जिबी, रु. १५ सयमा १२० जिबी र वार्षिक रु. ९,६०० सयमा ७२० जिबी र रु. १६,००० मा १,४४० जिबी उपलब्ध हुनेछ । व्यावसायिक उपकरणहरु वीच डाटा आदान प्रदान गरी सवारीसाधन लगायत अन्य उपकरणहरुको लाेकेसन अपडेट गर्ने, लाेजिस्टिकस् म्यानेजमेन्ट गर्ने प्रयासहरु विश्वव्यापी रुप मै वृद्धि भइरहेको परिप्रेक्ष्यमा कम्पनीले आजैबाट शुरु गरेको “मेसिन टु मेसिन डाटा र एसएमएस प्याक” कार्यालय प्रयोजनका लागि आकर्षक हुने देखिन्छ । यसका अतिरिक्त कम्पनीको वार्षिकोत्सवको उपलक्ष्यमा सम्मान र कदरपत्र प्रदान गर्ने कार्यक्रम पनि तय गरेको छ :- (क) मिति २०७७ श्राबण ०१ गतेदेखि २०७७ पौष मसान्त सम्ममा रिचार्ज सेवा तर्फ तोकिएको लक्ष्य पूरा गरी सबैभन्दा बढी रकमको कारोबार गर्ने सात वटै क्षेत्रबाट एक/एक जना गरी ७ जना र एमपीओएस, एसओएपी एक्सएमएलतर्फ एक जना गरी जम्मा ८ जना डिलरहरुलाई कदरपत्र सहित सम्मान गर्ने र निजहरुले प्रयोग गर्ने नेपाल टेलिकमको पोष्टपेड मोवाइलमा १ बर्ष सम्मको लागि मासिक रु.१,४९९।- को पाेष्ट पेड डाटा प्याक निःशुल्क उपलब्ध गराउने । (ख) मिति २०७७ श्राबण ०१ गतेदेखि २०७७ पौष मसान्त सम्मको कम्पनीका सेवाहरु माेबाइल पाेष्टपेड एण्ड माेबाइल प्रीपेड, पीएसटीएन, लिज्ड लाइन, फिट्थ प्रयोगका आधारमा सर्वाधिक बिल भुक्तानी गर्ने ग्राहकहरु एक/एक जना गरी जम्मा ५ जनालाई कदरपत्र सहित एक वर्षसम्म २० एमबीपीएस फिट्थ वा ५ एमबीपीएस एडीएसइल सेवा निःशुल्क उपलब्ध गराउने । (ग) नेपाल टेलिकमको बिभिन्न सेवाहरुको रिङ्ग ब्याक टाेन(आरबीटी) मा आवाज दिने कलाकारहरु अनिता बिन्दु, अनुपमा कर्माचार्य र भुमिका थापालाई कदरपत्र सहित एक वर्षसम्म २० एमबीपीएस फिट्थ वा ५ एमबीपीएस एडीएसइल सेवाको बेसिक प्याकेज निःशुल्क उपलब्ध गराउने । (घ) काेभिड-१९ संङ्क्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा कम्पनीमा कार्यरत कर्मचारीहरुको पीसीआर परीक्षण तथा उपचार गरी संङ्क्रमण रोकथाम गर्न पुर्याएको योगदानको लागी बिध म्यानेजमेण्ट प्रा.लि. वि एण्ड बि हस्पिटल प्रा.लि. र किष्ट हस्पिटल प्रा.लि.लाई कदरपत्र प्रदान गर्ने । (ङ) यसैगरी, आ.व.०७७।७८ को वार्षिक कार्यक्रमको वार्षिकोत्सवका लागि बिनियोजित बजेटको परिधि भित्र रही निम्न कार्यक्रम गर्नेः सातै प्रदेशका सरकारी वा सामुदायिक विद्यालय छनौट गरी स्टेशनरी लगायतका सामग्रीहरु वितरण गर्ने छ । क्यान्सर काउन्सिल नेपाल काठमाडाैं मार्फत स्वास्थ्य जनचेतना कार्यक्रमहरुमा सहकार्य गर्नको लागि प्राप्त प्रस्ताब बमोजिमको खर्च रु.३,८५,०००।- र ब्रोसर, ब्यानर लगायतका बितरण सामग्रीहरुको लागि रु.१,१५,०००।- उपलब्ध गराउने कार्यक्रम रहेकाे छ । गंगालाल अस्पताल, बाँसबारी, काठमाडाैंमा उपचारत गरीब तथा असहाय बाल बालिकाहरुको लागि मुटुको भल्भ फेर्न अस्पतालसँग समन्वय गरी सहयोग गर्ने । विगतका वार्षिकोत्सव कार्यक्रमहरु भन्दा यस वर्षको कार्यक्रम काेभिड-१९ महामारीको कारणले फरक गर्नु परेको व्यहोरा अनुरोध गर्न चाहन्छु। वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरुमा गरिने रक्तदान कार्यक्रम, प्रभातफेरी र खेलकुद यस वर्ष स्थगित गरिएको छ। काेभिड-१९ महामारी यस वर्ष काेभिड-१९ महामारीले प्रत्येक व्यक्तिलाई कुनै न कुनै रुपले असुरक्षित गरायो। पारिवारिक र सामाजिक रुपले व्यक्तिगत स्वास्थ्य सुरक्षा प्राथमिकतामा राख्नु पर्ने वाध्यता सिर्जना हुन गयो । महामारीको समयमा आफ्ना ग्राहकवर्गले सेवा उपयोग गर्न कुनै कठिनाई नहोस् भन्ने उद्देश्यले कम्पनीका सेवाहरु र नेटवर्कको मर्मतसम्भार चुस्त दुरुस्त राख्न व्यक्तिगत स्वास्थ्यलाई केहि हदसम्म जोखिममा राखी आ-आफ्नो जिम्मेवारी बहन गर्नु हुने समस्त कर्मचारी मित्रहरुलाई हार्दिक सम्मान ब्यक्त गर्दै धन्यवाद व्यक्त गर्न चाहन्छु। कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल टेलिकमले १२ करोड रुपैयाँ सहयोग गरेको छ । विभिन्न भ्वाइस सेवा, डाटा सेवा र रिचार्जमा छुट प्रदान गरेको छ । विद्यार्थीहरुलाई ई-शिक्षामा सहयोग पुर्याउनका लागि सहुलियत दरमा विभिन्न प्याकेजको व्यवस्था गरेको छ । स्वास्थ्य सतर्कताका वावजुद काेभिड-१९ कै कारणले ज्यान गुमाउनुभएका कम्पनीको राजविराज, टीकापुर र वीरगंजमा कार्यरत जम्मा ३ जना कर्मचारी प्रति आज वार्षिकोत्सवको अवसरमा स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। कर्मचारी विनियमावली लोक सेवा आयोगबाट परामर्स प्राप्त भई आएर बिगत लामो समय देखि कार्यान्वयनमा कठिनाई भइरहेको कम्पनीको कर्मचारी विनियमावलीलाई कर्मचारीको वृत्ति विकास र सरोकारको बिषय तथा कम्पनीको विशेष कार्य प्रकृतिलाई समेत मध्यनजर गरी अधिकतम सर्बस्विकार्य बनाउन सहयोग पुग्ने गरी सम्बन्धित सबै पक्षसंग सहकार्य गरी कार्यान्वयन गर्न अधिकतम पहल गरिने प्रतिवद्धता समेत व्यक्त गर्दछु। कम्पनीको भावी रणनीति १. चालु आयोजनाहरुलाई स्वीकृत कार्ययोजना अनुसार समयमा नै सम्पन्न गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने । २. मर्मत सम्भारलाई थप वैज्ञानिक र भरपर्दो बनाउने र नेटवर्क एभाइलअबिलिटी बढाई गुणस्तलाई सुनिश्चित गरिने छ । ३. जीआएस मार्फत पूर्वाधारहरुको अभिलेखिकरण तथा सो को प्रयोगबाट योजना तथा कार्यान्वयनमा प्रभावकारीता कायम गरिने, डाइभरलेस अप्टिमाइजेसन मार्फत मोबाइल सेवाको गुणस्तरलाई निरन्तर अनुगमन तथा सुधार गरिने छ । ४. डिजिटल प्लाटफर्म मार्फत सेवा प्रवाह, गुनासो व्यवस्थापन लगायतका कार्यहरु गर्ने । ५. नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसंचार प्राधिकरण को सहकार्य र सहमतिमा दूरसंचार पूर्वाधार सेवा प्रदायक कम्पनी गठन गरी संचालन गर्ने र पूर्बाधारको सह-प्रयोग मार्फत लागत कम गराई सेवालाई सस्तो बनाउन कम्पनी अग्रणि भूमिका निर्बाह गर्न तयार रहेको ब्यहोरा अनुरोध गर्न चाहन्छु । ६. कम्पनीको कार्यशैली र व्यवस्थापकीय सुधार गर्नका लागि स्ट्रयाटेजिक म्यानेजमेन्ट भित्र्याउन पहल गर्ने । ७. सबै स्थानिय निकायहरुमा ब्राेडब्याण्ड सेवा पुर्याई डिजिटल डिभाइट कम गर्दै डिजिटल लिटरेसीलाई प्रोत्साहन गर्ने बाताबरण तयार गरिने छ डिजिटलाइजेसनको प्रकृयालाई सहयोग गरिने छ। ८. बिग डाटा/बीआई, आर्टिफिसियल इन्टिलिजेन्स(एआई) को प्रयोग मार्फत सेवालाई बढि ग्राहक मैत्री बनाइने छ । ९. एफजी सेवा सञ्चालनको लागि परिक्षण तथा अध्ययन गर्ने र व्यावसायिक सञ्चालनको लागि प्रारुप तयार गर्ने । (नेपाल दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले कम्पनीकाे १७ औं वार्षिकोत्सव २०७७ को अवसरमा राखेका धारणा)
नेपाल टेलिकमले फाइभजी सेवामा लैजान तयारी सुरु गर्नुपर्छ: मन्त्री गुरुङ
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले फाइभ जी सेवामा लैजानको निम्ति तयारी गर्नुपर्ने बताएका छन्। बिहिबार नेपाल टेलिकमको १७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल टेलिकमले तुरुन्तै फाइभ जीमा जानको लागि तयारी गर्नुपर्ने बताएका हुन् । फोर जी सेवाको व्यवस्थापन, कार्यान्वयन तथा लगानी गर्दाको प्रभावकारीता समिक्षा गर्दै फाइभ जी तर्फ जानुपर्ने आवश्यकता रहेको उनको भनाई छ । नेपाल टेलिकमको फ्रिक्वेन्सीहरुलाई प्रयोगहिन नबनाउन उनले आग्रह समेत गरे । मन्त्री गुरुङले नेपाल टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा अघि बढाउनुपर्ने पनि बताए । टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा व्यवस्थापन गर्ने पहलकदमी मन्त्रालयले लिने उनको भनाई छ । उनले कर्मचारीको नियमावली पास गरेर कर्मचारी व्यवस्थापनको क्षेत्रमा नयाँ ढंगले सुधार गर्नुपर्ने र कर्मचारीहरुले फिल्डमा जान मन नगरेको अवस्थामा कार्यविधि बनाएर कर्मचारी एकपल्ट फिल्डमा जानैपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए । संस्थाको हितको निम्ति कर्मचारीहरुले उठाएका आवाजहरुलाई पुरा गर्न मन्त्रालय तयार रहेको उनको भनाई छ । कर्मचारीको वृत्तिविकास र हकहितमा मन्त्रालयले ध्यानदिने भएपनि कर्मचारीको मागहरु व्यक्तिकेन्द्रीत नभई टेलिकम र सेवाग्राहीको हितमा पनि हुनुपर्ने उनले बताए ।
नेपाल टेलिकमको सेयर संरचना परिर्वतन गर्नु पर्नेमा मन्त्री गुरुङको जोड
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सेयर सर्वसाधारण नागरिकले पनि पाउनु पर्ने बताएका छन् । सर्वसाधारणको उपस्थिती तथा सहभागिताले मात्र कम्पनी दिगो हुने बताउँदै उनले नेपाल टेलिकमको सेयरमा सर्वसाधारणको पनि उल्येख्य सेयर स्वामित्व हुनु पर्ने जोड दिएका हुन् । बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गुरुङले टेलिकमको सेयर स्वामित्वमा सर्वसधारणको पनि सहभागिता हुनु पर्ने धारणा राखेका हुन् । कार्यक्रमममा प्रमुख अतिथि समेत रहेका मन्त्री गुरुङले भोलि नै सञ्चालक समितिको बैठक बसेर यसको बारेमा छलफल गर्न निर्देशन समेत दिए। ‘मैले सबै कूरा बझेको छु, अध्ययन गरको छु, यो कम्पनीलाई दिगो बनाउनको लागि जनताको सहभागिता अति नै आवश्यक हुन्छ, यस कम्पनीमा जनताको स्वामित्व चाहिन्छ, जनता पनि यस कम्पनीको मालिक हुनु पर्छ,’ उनले भने । उनले जनताको सहभागिता विनाको संस्था तथा कम्पनी दिगो नहुने बताउँदै छिटो भन्दा छिटो सर्वसाधारणले यसको उल्लेख्य स्वामित्व पाउने निर्णय गर्न समेत निर्देशन दिए । ‘जब सम्म जनताले यसको मालिक भएको अपनत्व लिन सक्दैनन्, तवसम्म त्यो दीगो रहन सक्दैन, त्यसैले जनता मालिक हुने र जनता पनि सहभागी हुने किसिमको नीति बनाउनुु पर्छ, यसको बारेमा छलफल चलोस्, उनले भने, ‘कम्पनीको अहिलेसम्मको संरचना कस्तो छ ? हामीले कस्तो संरचना बनायौं ? जनतालाई पनि मालिक बनाउने यसको सेयर संरचनामा के परिवर्तन गरेका छौं, भोलि नै छलफल गरौं ।’ कम्पनीले जति सहयोग गरे पनि ती सबै सहयोग मानिसले अनुभुति गर्ने खालका नभएको समेत उनले बताए । धेरै लामो समयदेखि टेलिकमको सेयर संरचना परिवर्तन गर्ने तयारी भइरहेको बताए पनि हालसम्म कुनै टुङ्गो लाग्न सकेको छैन । पूर्व मन्त्री गोकुल बाँस्कोटाले पनि यसको बारेमा छलफल तथा तयारी भइरहेको विभिन्न कार्यक्रममा बताउँदै आएका थिए । सर्वसाधारणमा सेयरको हिस्सा बढाउने र सरकारको सेयर घटाउँदै लैजाने योजना भएपनि हालसम्म सर्वसाधारणले यसको सेयर स्वामित्व पाउन सकेका छैनन् । सरकारसँग हाल कायम रहेको ९१.३ सेयर स्वामित्व रहेको छ भने सर्वासधारण र कर्मचारीहरुसँग ८.४७ प्रतिशत सेयर छ । पूर्वमन्त्री बाँस्कोटाले सरकारको स्वामित्वमा रहेको सेयर स्वामित्वमध्ये २६ प्रतिशत बिक्री गरेर ६६ प्रतिशतमात्र कायम गर्ने तयारी भइरहेको विभिन्न कार्यक्रममा बताउँदै आएका थिए । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा टेलिकमको १ सय रुपैयाँ अंकित मूल्य कायम रहेको १५ अर्ब रुपैयाँ बराबरको १५ करोड कित्ता सेयर सूचीकृत छ । त्यसमा सरकारको १३ करोड २७ लाख र सर्वसाधारण तथा कर्मचारीको १ करोड २७ लाख कित्ता सेयर रहेको छ । यस्तै मन्त्री गुरुङले रणनीतिक साझेदार भित्र्याउन पनि पहल गर्न निर्देशन दिएका छन् । लामो समयदेखि यो विषय उठ्दै आएको भए पनि हालसम्म यसको काम अगाडि नबढ्नु विडम्बना भएको उनको भनाई छ । कम्पनीका गत आर्थिक वर्ष २०७६/७७ मा ४२ अर्ब ९८ करोढ रुपैयाँ आम्दानी पुगेको छ भने कम्पनीको नाफा ९ अर्ब ७४ करोड रुपैयाँ भएको छ । कम्पनीले गत आवमा मुलुकको अर्थतन्त्रमा ३५ अर्ब ५ करोड अर्थात कुल आयको ८१ प्रतिशत योगदान गरेको छ । हाल कम्पनीको २ करोड ९ लाख ग्राहक पुगिसकेका छन् । मुलुकको ७० प्रतिशत जनसंख्या टेलिकमको सेवाको पहुँचमा रहेको बताइएको छ ।
नेपाल टेलिकम अनलिमिटेड अफर: मात्र ५५ रुपैयाँमा तीन दिन युट्युब र फेसबुक
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध गराउन आवश्यक तयारी पुरा गरेको छ । असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु. ५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ । साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा रु. १५ मा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुने टेलिकमले जनाएकाे छ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ । हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक रु. ८५० मा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको छ । सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा रु. ५५५ मा उपलब्ध हुनेछ । संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु *१४१५*११# डायल गरी प्राप्त गर्न सकिनेछन् । साथै, ग्राहकवर्गको सहजताका लागि नेपाल टेलिकम एपबाट समेत यी प्याकहरु खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।