नेपाल टेलिकम २० औं वर्षमा प्रवेश : साढे ८ अर्ब नाफा, २ करोड इन्टरनेट डाटा ग्राहक
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) १९ औं बर्ष पुरा गरी २० औं बर्षमा प्रवेश गरेको छ । दूरसञ्चार क्षेत्रलाई प्रतिस्पर्धी बनाई मुलुकभर सर्वसुलभ र भरपर्दो अत्याधुनिक सेवा उपलब्ध गराईरहेको कम्पनी आजदेखि २० औं वर्षमा प्रवेश गरेको हो । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमले वि.सं. १९७३ मा ओपन वायर म्यग्नेटो सिस्टम प्रयोग गरेर दूरसञ्चार सेवा सुरु गरेको थियो । वि.सं.१९७४ देखि सर्वसाधारणले समेत टेलिफोन प्रयोग गर्नसक्ने व्यवस्था भएको थियो भने वि.सं.१९९१ मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना भएपछि वि.सं.१९९२ देखि मात्र दूरसञ्चार सेवा निजी प्रयोगमा उपलब्ध हुन थालेको थियो । वि.सं. २००५ मा मोहन आकाशवाणीको नामबाट आकाशवाणी सेवा शुरु भयो । यसको कार्यालयलाई आकाशवाणी हेड अफिस’को नामबाट चिनिन्थ्यो । वि.सं.२०१६ सालमा आकाशवाणी हेड अफिस र टेलिफोन हेड अफिस कार्यालयलाई एकै ठाउँमा गाभेर निर्माण यातायात र सञ्चार मन्त्रालयअन्तर्गत दूरसञ्चार विभागको स्थापना भएको थियो । यस विभागलाई वि.सं.२०२६ साल कात्तिक १ गते दूरसञ्चार समितिमा परिणत गरियो र वि.सं. २०३२ साल असार १ गते नेपाल दूरसञ्चार संस्थानमा परिणत गरिएको थियो । यसअघि नेपाल दूरसञ्चार संस्थान रहेको थियो । पछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरिएपछि आफ्ना व्यावसायिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । वि.सं. २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड स्थापना भएको हो । सरकारको पूर्ण स्वामित्व रहेको संस्थानलाई वि.सं. २०६१ वैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरियो । देशको सहरी क्षेत्रदेखि लिएर अति विकट ठाउँमा समेत सस्तो र भरपर्दो दूरसञ्चार सेवाहरु उपलब्ध गराउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कम्पनीले सन् १९१६ मा पहिलोपटक काठमाडौंमा टेलिफोन लाइनको स्थापना गरेको थियो भने सन् १९१७ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म ओपनवायर ट्रंक लाइन स्थापना गरेको थियो । कम्पनीले सन् १९५५ मा मात्रै सर्वसाधारण नेपालीलाई टेलिफोन सेवा उपलब्ध गराएको थियो । सन् १९८३ मा आएर कम्पनीले पहिलो पटक डिजिटल टेलिफोन एक्सचेन्जको स्थापना गरेको थियो । झण्र्ड २० वर्ष अर्थात् सन् १९९९ मा जीएसएम मोबाइल सेवा र सन् २००० मा इन्टरनेट सेवा शुरुवात गरेको हो । कम्पनीले मंसिर मसान्तसम्म २ करोड १३ लाख २५ हजारभन्दा बढीग्राहकलाई भ्वाइस सेवा प्रदान गरिरहेको छ । जसमध्ये जीएसएम मोबाइलका ग्राहक २ करोड १ लाख ६ हजार, सीडीएमए सेवाका ४ लाख ३७ हजार र पीएसटीएन सेवाका ग्राहक ४ लाख ५५ हजार रहेका छन् । त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक २ लाख ४७ हजार ११४ रहेका छन् भने एफटीटीएच डाटाका ग्राहक २ लाख ११ हजार ५७९ रहेका छन् । यो अवधिमा फोरजी प्रयोगकर्ता १ करोड १५ लाख ५० हजार छन् । गत असोजसम्म दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५२.२४ प्रतिशत रहेको छ । कम्पनीले मंसिर मसान्तसम्म कुल २ करोड ६ लाख १८ हजार ६ सयभन्दा बढी ग्राहकलाई इन्टरनेट डाटा सेवा प्रदान गरिरहेको छ । जसमध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता २ करोड १ लाख ८६ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता ७ हजार र एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता २ लाख ११ हजाररहेका छन् । यस अवधिसम्म आईपीटीभी प्रयोगकर्ता १५ हजार ४५७ छन् । गत आर्थिक वर्ष २०७८÷७९ मा कम्पनीको ४४ अर्ब ३७ अर्ब रुपैयाँ कूल राजश्व रहेको छ । जसमा ८ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको छ । देशका सबै स्थानमा दूरसञ्चार सेवाको पहुँच पुर्याउन र डिजिटल डिभाइड न्यूनीकरण गर्न दूरसञ्चार पूर्वाधारहरु निर्माण कार्यलाई तीव्रता दिएको छ । समिक्षा अवधिमा ७७ वटै जिल्लाका ७३९ स्थानीय तहहरुमा फोरजी एलटीई सेवाको पहुँच स्थापित गरिसकेको छ । हाल थ्रीजी सेवा उपलब्ध भइरहेका १४ वटा स्थानीय तहहरुमा पनि फोरजी सेवा पुर्याउन अध्ययन भइरहेको कम्पनीले बताएको छ । फोरजी विस्तार कार्य हालसम्म ९८ प्रतिशत सम्पन्न भइसकेको छ । कम्पनीका अनुसार फाइबर नेट ६८ जिल्लामा पुगेको छ । कम्पनीले मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश १ मा कुल ५५ किमी र सुदूरपश्चिम प्रदेशमा कुल २०१ किमी अप्टिकल फाइबर नेटवर्क सञ्चालनमा ल्याएको छ । हालसम्म १ हजार १४४ किमी फाइबर नेट विस्तार कार्य सम्पन्न भइसकेको कम्पनीले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशसा १० जीबीपीएस ब्याकबोन नेटवर्कलाई पूर्ण रुपमा विस्थापित गरी १०० जीबीपीएस ब्याकमोन नेटवर्क सञ्चालन गरिएको छ ।
नेपाल टेलिकमको नेटवर्कमा समस्या
काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । मंगलबार मध्यान १२ बजेदेखि टेलिकमको मोबाइल तथा ल्याण्ड लाइनमा समस्या देखिएको हो । टेलिकमले के कारणले १२ बजेदेखि सबै सेवा अवरुद्ध भएको विषयमा अध्ययन भैरहेको जनाएको छ । अहिले केही पोस्टपेड मोबाइल प्रयोगकर्ताले फोन नलाग्ने, डेटा नचल्ने जस्ता समस्याको सामना गरिरहेको गुनासो गरिरहेका छन् ।
नेपाल टेलिकमको ४० प्रतिशत नगद लाभांश पारित
काठमाडाैं । नेपाल दूरसञ्चार कम्पनीकाे लाभांश पारित भएकाे छ । कम्पनीकाे बिहीबार सम्पन्न पन्ध्रौँ वार्षिक साधारणसभाले संचालक समितिकाे प्रस्तावित ४० प्रतिशत लाभांश पारित गरेकाे हाे । समितिले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ । यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/८० को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट महेशकुमार गुरागाईं र चार्टर्ड एकाउण्टेण्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ । पन्ध्रौँ साधारण सभाले पारित गरे बमोजिमको लाभांश रकम आज (पुस २८ गते) देखि एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जानकाी दिएकाे छ । सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले कोभिड–१९ को महामारी तथा यसको प्रभाव र असरकाबिच कम्पनीले सापेक्षित सफलता पाएको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रको विश्वबजारमा विकास भइरहेका नवीनतम र अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे । नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभजी प्रविधिको परीक्षण अनुमति प्राप्त भएअनुसार निकट भविष्यमा यसको परीक्षण कार्य सफलतापूर्वक सम्पन्न गर्नेगरी काम अघि बढाइएको पनि अर्यालले बताए । आर्थिक वर्ष २०७८/७९मा कम्पनीले कुल ४४ अर्ब ३७ करोड राजश्व आम्दानी गरी ८ अर्ब ४७ करोड खुद नाफा गरेकाे छ । यो नाफा गत वर्षको भन्दा १ अर्ब ३५ करोडले बढी हो । यसै आ.व.मा कम्पनीले कर तथा शुल्क वापत आफ्नो कुल आयको ५९.५२ प्रतिशत अर्थात् २६ अर्ब ४१ करोड राजश्वका रुपमा नेपाल सरकारलाई बुझाएको छ । कम्पनीका चालु तथा नयाँ आयोजनाहरु अन्तर्गत वायरलाइन, वायरलेस, सूचना प्रविधि तथा बिलिङ र व्याकबोन प्रसारणतर्फ भइरहेका कार्यहरु बारेमा समेत उहाँले जानकारी प्रदान गर्नुभएको थियो ।
नेपाल टेलिकमको ४० प्रतिशत लाभांश घोषणा, डाक्यो साधारण सभा
काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले सेयरधनीहरुलाई लाधांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत बर्षको नाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा पुस २८ गते राष्टिय सभागृह, काठमांडौमा बिहान १० बजेद बोलाएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोक्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेपाल टेलिकमको मोबाइल रिचार्ज गर्दा १० जिबीसम्म डाटा नि:शुल्क पाइने
काठमाडाैं । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले २००, ५०० र १००० दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो । टेलिकमकाे अनुसार २०० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी, १ हजारको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस स्वरुप प्राप्त हुनेछ । यो अफर मंसिर २० गतेदेखि पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने टेलिकमले जनाएकाे छ ।
नेपाल टेलिकमबाट विश्वकप प्याकेज खरिद गर्दा १२ जिबी डाटा निःशुल्क पाइने
काठमाडौं । नोभेम्बर २० अर्थात् मंसिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्वकप फुटबल–२०२२ हेर्न नेपाल टेलिकमले आफ्ना एनटीटीभी ग्राहकहरुका लागि फिफा वल्र्ड कप प्याकेज उपलब्ध गराउने भएको छ । फिफा वल्र्ड कप–२०२२ हेर्नका लागि निर्धारित करसहितको शुल्क ५६५ एनटीटीभीका ग्राहकहरुले कम्पनीका ग्राहक सेवा केन्द्रमा नगई घरमै बसेर पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यसका लागि वल्र्ड कप प्रसारण हुने हिमालयन एचडी टेलिभिजन च्यानलमा गई ‘बाई प्याकेज’ मा क्लिक गरी आफ्नो मोबाइल नम्बर इन्ट्री गर्नु पर्नेछ । त्यसपछि नेपाल टेलिकमबाट प्राप्त ओटीपी प्रयोग गरी सेवा खरिद गर्न सकिन्छ । सेवा खरिद गर्दा ग्राहकको मोबाइल व्यालेन्सबाट रकम काटिनेछ । फिफा वल्र्ड कप–२०२२ हेर्नका लागि तोकिएको फिफा वल्र्ड कप प्याकेज खरिद गर्ने कम्पनीका एनटीटीभी सेवाका ग्राहकहरुलाई उक्त प्याकेज खरिद गर्न प्रयोग गरिएको मोबाइल नम्बरमा कम्पनीका तर्फबाट २८ (अठ्ठाइस) दिनसम्म प्रयोग गर्न सकिने १२ जिबी डाटा समेत निःशुल्क उपलब्ध गराइने छ । फिफा वल्र्ड कप–२०२२ हेर्नका लागि निर्धारित करसहितको शुल्क ५६५ एनटीटीभीका ग्राहकहरुले नजिकको कम्पनीको ग्राहक सेवा केन्द्रमा गएर पनि बुझाउन सकिन्छ । विश्व कप फुटबल अवधिभर उपलब्ध हुने सो अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।
नेपाल टेलिकमको नाफा २.२२ अर्ब, ईपीएस ४९.४६ रुपैयाँ
काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आम्दानी घटेपनि खुद नाफामा सामान्य धक्का लागेको छ । कम्पनीको तीन महिनामा खुद नाफा १.५२ प्रतिशत घटेर २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा कम्पनीको आम्दानी ७.१४ प्रतिशत घटेर ९ अर्ब ७ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी ६६.७३ प्रतिशत बढेर १ अर्ब ९६ करोड २५ लाख ६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १७ करोड ७० लाख ५२ हजार रुपैयाँ अन्य आम्दानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २० प्रतिशत बढेर १८ अर्ब रुपैयाँ र जगेडा कोष ५.४० प्रतिशत घटेर ७९ अर्ब २९ करोड १६ लाख ९८ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेकाले चुक्ता पूँजी बढेको हो । कम्पनीको नाफा घटेका कारण प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८१ पैसा घटेर ४९ रुपैयाँ ४६ पैसामा सिमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५४० रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.४८ गुणा रहेको छ ।
नेपाल टेलिकमबाट एक हजार रुपैयाँमा एकैपटक २ हजार एसमएमएस पठाउन सकिने
काठमाडौं । नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने सेवा मंगलबारबाट संचालनमा ल्याउने भएकाे छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएकाे छ । यस अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने छ । टेलिकमकाे अनुसार प्रति सन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० मात्र लाग्नेछ । त्यसैगरी, २५ सयमा ५ दिन भित्रमा ५ हजार एसएमएस, ५ हजारमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने छ । कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश नभएकाे कम्पनीले बताएकाे छ । ग्राहकले यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सक्नेछन् । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्टयाक्टमा भएका नम्बरहरु एक्सेल सिट मार्फत अपलोड गरी सन्देश पठाउन सक्नेछन् ।
नेपाल टेलिकममा ६ जिबी डाटा ९८ रुपैयाँमा, असाेज ४ गतेसम्म लागु हुने
काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको संविधान दिवस अफर असोज ५ गतेसम्म लागु हुने भएको छ । टेलिकमले असोज ३ गते मनाइने संविधान दिवस २०७९ को अवसरमा हाल संविधान दिवस अफर उपलब्ध गराइरहेको छ । यस अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिने छ । त्यसैगरी, २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ मा उपलब्ध हुनेछ । यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा २९४ रुपैयाँमा खरिद गर्न सकिने छ । असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने बताइएकाे छ ।
नेपाल टेलिकमको नाफा एक अर्ब २५ करोडले बढ्यो
काठमाडौं । नेपाल टेलिकमको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँले बढेको छ । गत वर्षको तुलनामा टेलिकमको खुद नाफा एक अर्ब २५ करोड ६ लाख ४७ हजार रुपैयाँले बढेको हो । नेपाल टेलिकमले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २०७८ असार मसान्तसम्ममा टेलिकमको खुद नाफा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपैयाँ रहेकोमा २०७९ असार मसान्तसम्ममा बढेर ८ अर्ब ३८ करोड ८८ हजार रुपैयाँ पुगेको छ ।
नेपाल टेलिकमले पोष्टपेड ग्राहकको धरौटी रकम फिर्ता गर्ने
काठमाडौं । नेपाल टेलिकमले धरौटी रकम ग्राहकलाई फिर्ता गर्ने भएको छ । टेलिकमबाट पोष्टपेड लिदै आएका ग्राहकले यसअघि राखेको धरौटी फिर्ता पाउन लागेका हुन् । कम्पनीले जीएसएम, सीडीएमए, पीएसटीएन, एफटीटीएच, आईएसडीएन, एएफएस सेवा वितरण गर्दा ग्राहकसँग प्रति ग्राहक ३ हजारदेखि ५ हजार रुपैयाँसम्म धरौटी लिएर सेवा दिएको थियो । उक्त रकम ग्राहकलाई फिर्ता गर्न लागिएको नेपाल टेलिकमले जनाएको छ । धरौटी रकम एडभान्सको रुपमा ग्राहकलाई फिर्ता गर्ने र बाँकी बक्यौता भएका ग्राहकको हकमा उक्त रकम समायोजन गरिने टेलिकमले जनाएको छ । रकम फिर्ता यहि साउन १ गतेबाट शुरु भईसकेको र साउन मसान्तसम्म सबैले रकम फिर्ता गरिने टेलिकमले जनाएको छ ।
स्याङ्जाको मिर्मिमा नेपाल टेलिकमको एफटिटिएच सुरु, गल्याङ कपर फ्रि
काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको मिर्मिमा अप्टिकल फाइबरमा आधारित उच्च गतिको फाइबर टु द होम एफटिटिएच सेवा सुरु गरेको छ । यसका साथै टेलिकमे गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरु पूर्ण एफटिटिएचमय बनाइ कपर फ्रि नेटवर्क बनाएको छ । कपर फ्रि नेटवर्क हुँदा अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्न समेत सहज हुने गर्दछ । तामाको तारमा आधारित नेटवर्कको सट्टा अप्टिकल फाइबरमार्फत एउटै रेशाबाट ब्रोडब्याण्ड इन्टरनेट, भ्वाइस, टेलिभिजन तथा मोबाइल डेटा उपलब्ध हुनेगरि सेवा उपलब्ध गराइएकोले उपभोक्तालाई सहज भएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए । गण्डकी प्रदेशका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश ठाँउहरुमा एफटिटिएच सेवा क्रमिक विस्तार गर्दै उपभोक्ता लक्षित सेवा उपलब्ध गराइने उनले बताए । त्यसैगरि, नेपाल टेलिकम सरकारी स्वामित्वको संस्था भएकाले सहुलियत दरअनुसारकै ुउच्च गति न्यून दर” को एफटिटिएच सेवा उपलब्ध गराईएको दूरसञ्चार कार्यालय पोखराका प्रमुख रवि मानन्धरले बताए । यस सेवामार्फत उपभोक्ताले आफ्नो इच्छा अनुसार इन्टरनेटको स्पिड प्राप्त गर्न सक्नेछन् । सामान्य घरमा प्रयोग हुने ८ एमबिपिएसदेखि लिएर स्कुल तथा कलेजलाई आवश्यक पर्ने ८० एमबिपिएस स्पिडसम्मको उच्च गतिको फाइबर इन्टरनेट सस्तो दरमा प्राप्त गर्न सकिने टेलिकम कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए । उनका अनुसार वार्षिक प्याकेज अनुसार यो सेवा लिने ग्राहकले पिएसटिएन टेलिफोनको न्युनतम मासिक महसुल वर्षैभरी निःशुल्क प्राप्त गर्नुको साथै अन्य छ प्रकारका सेवाहरु समेत निःशुल्क पाउने बताए ।
नेपाल टेलिकमले ३६ प्रतिशतले घटायो इन्टरनेट शुल्क
काठमाडौं । नेपाल टेलिकमले ३६ प्रतिशतले इन्टरनेट शुल्क घटाएको छ । टेलिकमले इन्टरनेट र इन्ट्रानेट लिज लाइन अन्तर्गतको शुल्क ३६ प्रतिशतले घटाएको हो । योसँगै इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले र २५ सय रुपैयाँ रहेकोमा अब १६ सय मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि २३ सयबाट घटाएर १६ सय रुपैयाँ कायम गरिएको छ । ५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः २१ सय रुपैयाँ र १९ सय रुपैयाँ रहेकोमा अब दुवैको महशुल दर १५ सय रुपैयाँ कायम गरिएको छ । यस्तै इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल २७ सय रुपैयाँ रहेकोमा अब २४ सय रुपैयाँ, ११ देखि १०० एमबीपीएसको २४ सय रहेकोमा अब २१ सय र १०० एमबीपीएस भन्दा बढीको २१ सय रहेकोमा अब १८ सय कायम गरिएको छ । नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैँ बराबर रहन्छ ।
‘नमस्ते पे’ वालेटमार्फत नेपाल टेलिकमको डाटा र भ्वोइस प्याक किन्न सकिने
काठमाडौं । नमस्ते पे प्रयोगकर्ताहले अब नमस्ते पे वालेट ब्यालेन्समार्फत नेपाल टेलिकमले उपलब्ध गराएको डाटा एण्ड भ्वोइस प्याकहरु खरदि गर्न सक्नेछन् । यस्तै नमस्ते पे का ग्राहकहरुले आगामी दिनमा टेलिकमको डाटा र भ्वोइस प्याकमा विशेष सहुलियत पाउने कम्पनीले जनाएको छ । एडिपिसी नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रवर्द्धित भुक्तानी सेवा प्रदायक संस्था हो । नमस्ते पे अन्तर्गत इन्टरनेट र फोन आवश्यक नपर्ने गरी युएसएसडी मार्फत बैंक र वित्तिय पहुँच नभएका ग्रामिण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुवै प्रकारका विशेषता रहेका छन् ।
दार्चुलाको छाङ्गरुमा नेपाल टेलिकमको फोरजी, कालापानीसम्म नेपाली फोनको पहुँच पुग्ने
दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुको ज्याक्तीमा नेपाल टेलिकमको फोरजी सहितको टेलिफोन टावर जडान सुरु गरिएको छ । चीनको सीमा नजिकको गाउँ तिङ्करमा भिसेट एनटिसेट जडान गरिएको छ । नेपाल टेलिकमले तिङ्कर गाउँमा दुई लाइन एनटिसेट लाइन जडान गरेको हो । सञ्चार सम्बन्धबाट टाढा रहेको व्यासको तिङ्कर गाउँमा पहिलो पटक भिसेट एनटिसेट जडान गरिएको व्यास–१ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए । यसअघि छाङ्गरुमा सशस्त्र प्रहरी र स्थानीयवासीका लागि भन्दै एनटिसेट लाइन जडान गरिएको थियो । छाङ्गरुमा स्काई फोन पनि सञ्चालनमा छ । छाङ्गरुमा फोरजीसहितको नमस्तेको लाइन जडानको तयारी छ । सामरिक महत्व बोकेको छाङ्गरु र तिङ्करमा पछिल्लो समय टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङले आफैँ खटिएर टेलिफोन सेवा सञ्चालन गरेका छन् । ‘स्काई फोन पनि केही दिनदेखि अवरुद्ध रहेको थियो’, सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले भने, ‘अहिले कार्यालय प्रमुख आएर सञ्चालन गर्नुभएको छ, छांगरुको ज्याक्ती डाँडामा फोरजी जडान हुँदैछ, सोलार व्याट्री अपुग भएका कारण केही समय लाग्ने छ ।’ तिङ्कर गाउँमा भने ल्यान्डलाइन सञ्चालन गरिएको छ । अहिले तिङ्कर गाउँका लागि ९९४९३००५० र ९९४९३००५१ नम्बर सञ्चालन गरिएको वडा सचिव बुढाथोकीले जानकारी दिए । यसअघि यहाँका नागरिकले फोन सेवाबाट बञ्चित हुनुपरेको थियो । छाङ्गरुमा फोन लागे पनि तिङ्करमा फोन लाग्दैन थियो । टेलिकमको फोरजी सेवा सञ्चालन भए छाङ्गरु मात्र नभई कालापानी, कुटी गुञ्जी नाभी लगायतका क्षेत्रसम्म नेपाली फोनको पहुँच हुनेछ । ज्याक्ती डाँडाबाट कालापानी, गुञ्जी कुटी गाउँ सहजै देख्न सकिन्छ । सबैभन्दा अग्लो डाँडामा रिपिटर टावर राखिएका कारण भारतीय गाउँतिर कभरेज बढ्ने छ । रासस
नेपाल टेलिकमले निर्वाचनकाे अवसरमा ल्यायाे अफर
काठमाडाैं । नेपाल टेलिकमले स्थानीय तह निर्वाचनको अवसरमा नयाँ अफर ल्याएको छ । आइतबार २५ गतेदेखि जेठको चार गनेसम्म लागू हुने गरी टेलिकमले ९८ रुपैयाँ मूल्य पर्ने विभिन्न अफर ल्याएको हो । अफरमा ९८ रुपैयाँमा तीन दिनसम्म जुनसुकै नेटवर्कमा २ सय मिनेट कल गर्न सकिनेछ । यस्तै, ९८ रुपैयाँमै तीन सय वटा एसएमएस वा ६ जिबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
ई-सिम उपलब्ध गराउँदै नेपाल टेलिकम
काठमाडौं । नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा गत आइतबार नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरूलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ । उक्त अवसरमा प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडीले नेपाल टेलिकमले नयाँ-नयाँ प्रविधि भित्र्याउने क्रममा ई–सिमसमेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक कार्य छिट्टै नै प्रारम्भ हुने विश्वास व्यक्त गरिन् । अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले ई–सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई–सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायत विभिन्न कार्य गर्न सकिन्छ ।
आहाराको प्रायोजन गर्नेबारे नेपाल टेलिकम र चिडियाखानाबीच सम्झौता
काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका एउटा बाघ र अन्य जनावरहरूको लागि १ वर्षसम्म आहाराको प्रायोजन गर्ने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा आज नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना, जावलाखेलको तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका छन् । सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम गर्न सकिने र यो एउटा सुरुवात भएको बताइन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले धेरै पर्यटकहरूको उपस्थिति हुने सदर चिडियाखानामा नेपाल टेलिकमसँगको सम्झौताले दुवै पक्षलाई फाइदा पुग्ने र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट प्राप्त यो सहयोगलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले सदुपयोग गर्ने विश्वास दिलाएका छन् । सम्झौता अनुसार चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि १ वर्षसम्म आहाराको व्यवस्थाका लागि नेपाल टेलिकमले रकम उपलब्ध गराउनेछ ।
सुनिल पौडेल बने नेपाल टेलिकमको एमडी, पहिलो पटक संस्थाभन्दा बाहिरबाट नियुक्ती
काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) मा सुनिल पौडेललाई नियुक्त गरेकाे छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषदको बैंठकले पौडेललाई एमडीमा नियुक्त गरेको हो । सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्तावमा उनी एमडीमा नियुक्त भएका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको छनौट समितिले टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्ति गर्न संगीता पहाडी, सुनिल पौडेल र बुद्धि आचार्यको नाम सिफारिस गरेको थियो । राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेल नेपाल टेलिकमको प्रवन्ध निर्देशक नियुक्त भएका हुन् । टेलिकममा पहिलोपटक संस्थाभन्दा बाहिरबाट प्रवन्ध निर्देशक नियुक्त भएका हुन् । टेलिकमको प्रबन्ध निर्देशकबाट डिल्लीराम अधिकारी गत पुस २२ मा सेवानिवृत्त भएका थिए। अधिकारी रिटायर भएयता टेलिकमको कायमुकायक प्रबन्ध निर्देशकको जिम्मेवारी प्रतिभा वैद्यले सम्हाल्दै आएकी छन् ।
नेपाल टेलिकमले २० प्रतिशत बोनस दिने
काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७७/०८७ को मुनाफाबाट २० प्रतिशत बोनस दिने भएका छन् । टेलिकमले सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर उपलब्ध पनि गराउने सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले जानकारी दिए । १४औं वार्षिक साधारणसभामामा बोल्दै यस्तो बताएका हुन् । साथै उक्त आर्थिक वर्षमा नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम संचालक समितिका अध्यक्ष अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताएका हुन् । उनका अनुसार अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय आवद्धता सेवाबाट ५ अर्ब ८० करोड, वायरलेस सेवाबाट ३ अर्ब ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व खुद नाफा ४२ अर्ब २१ करोड संकलन गरी ७ अर्ब १३ करोड नाफा कायम गर्न कम्पनी सफल भएको हो । अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताए । अनलाइन पेपेन्ट गर्ने सरकारको कार्यक्रम अनुसारको तयारीको कामलाई पनि फोकस गरिएको नेपाल टेलिकमले जनाएको छ ।