नेपाल टेलिकमको कपर प्रविधि बन्द, सबै सेवा अब एफटीटीएचमा

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (पीएसटीएन) सेवालाई फाइबर टू दी होम (एफटीटीएच)प्रविधिमा स्तरोन्नति गरेको छ । बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गरी सो सेवा बन्द गरेकी हुन् । कपर प्रविधिबाट वितरित टेलिफोन तथा एसडीएसएल लाइनहरु पूर्णरुपमा आधुनिक फाइबर प्रविधिको एफटीटीएच नेटवर्कमा माइग्रेसन सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा प्रमुख अतिधि रहेकी प्रबन्ध निर्देशक अर्यालले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको मागअनुरुप पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रुपान्तरण गरिएकोमा खुशी व्यक्त गरिन् । एफटीटीएचमा माइग्रेसन भइसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवासमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  

नेपाल टेलिकम र सर्वोच्च अदालतबीच विभिन्न दूरसञ्चार सेवाहरु उपलब्ध गराउने सम्झौता

काठमाडौं । नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबीच बुधबार सम्झौता भएको हो । सो सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्च अदालतको तर्फबाट सह-रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपाल टेलिकमले सम्झौता पत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा डेडिकेटेड इन्टरनेट र डेडिकेटेड इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा एसएमएस अलर्ट सर्भिस र पुल एसएमएस सर्भिस (सर्ट कोड) उपलब्ध गराउने छ । हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरु तथा उच्च अदालत अन्तर्गतका इजलासहरु र विभिन्न जिल्ला अदालतहरुमा उपलब्ध हुनेछ ।

विपद जोखिम न्यूनिकरणमा योगदान पुर्याउने नेपाल टेलिकम सम्मानित

काठमाडौं । विपद जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ । जल तथा मौसम विज्ञान विभागले विभागबाट सम्प्रेषण गरिने पूर्वसूचना सन्देशहरु २०७३ साल देखि अनवरत रुपमा निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा पुर्याई विपद् जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्याएकोमा नेपाल टेलिकमको भूमिकाको उच्च कदर गर्दै कदर पत्र प्रदान गरेको हो । चैत ८ गते काठमाडौंमा आयोजित नेसनल वर्कसप अन अर्ली वार्निङ सिस्टम कार्यक्रममा जलस्रोत तथा सिंचाई सचिव सुशिल चन्द्र तिवारीले नेपाल टेलिकमलाई सो कदर पत्र प्रदान गरेका हुन् । नेपाल टेलिकमका हाल देशैभर रहेका दूरसञ्चार पूर्वाधारहरु जल तथा मौसम विज्ञान विभागको अर्ली वार्निङ सिस्टम अन्तर्गतको कम्यूनिकेसन एण्ड डिसिमिनेसन प्रयोजनको लागि प्रयोग भइरहेका छन् । यस अनुसार विपद् जोखिम क्षेत्रमा सूचना संकलन र सूचना प्रवाहका लागि यी पूर्वाधारहरु प्रयोग भएका छन् । सूचना संकलन अन्तर्गत बाढी पहिरो लगायतका विपद जोखिम क्षेत्रमा रहेका वेदर स्टेसनहरुबाट जल तथा मौसम विज्ञान विभागको केन्द्रीय सर्भरमा मौसम सम्बन्धी सूचना संकलनको लागि नेपाल टेलिकमका सिमकार्डमार्फत एमटुएम प्रविधिको प्रयोग गरी कनेक्टिभिटी उपलब्ध रहेको छ । नेपाल टेलिकमले यसका लागि ३०० एमबी डाटा सुविधा सहितको सिमकार्ड उपलब्ध गराएको छ । त्यसैगरी सम्बन्धित क्षेत्रमा रहेका नागरिकहरुमा सम्भावित जोखिमबाट सतर्क गराउन ११५५ कोडबाट पूर्वसूचना प्रवाह गरिरहेको छ । यसका लागि नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको नम्बर मौसम विज्ञान विभागलाई उपलब्ध गराउदै आएको छ भने सबै सेवा निःशुल्क रुपमा उपलब्ध गराइरहेको छ । विपद्को पूर्वजानकारीले क्षति न्यूनिकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकोले कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिएको हो । यो सहकार्य २०७३ सालदेखि नै निरन्तर रहेको छ ।

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त

काठमाडौं । नेपाल टेलिकमले महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षको लागि ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरे । सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आवद्धता महत्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडर मार्फत कम्पनीका विभिन्न सेवाहरुका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा ब्रान्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकम जस्तो गरिमामय सरकारी निकायसँग आवद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताएको टेलिकमले विज्ञप्तीमा उल्लेख गरेको छ । मुलुकको कलाकारिता तथा सञ्चारको क्षेत्रमा विशिष्ठ पहिचान बनाएका ब्रान्ड एम्बेसडरहरुको संलग्नताबाट कम्पनीका ग्राहकवर्गले कम्पनीका विविध सेवा सम्बन्धमा सहज रुपले जानकारी प्राप्त गर्ने र कम्पनीले आफ्ना सेवाहरुको प्रवर्द्धन गरी सशक्त रुपमा जनता समक्ष सेवा विस्तार गर्ने कार्यमा सहयोग मिल्ने अपेक्षा गरिएको छ । यसैगरी सञ्चारकर्मी पाण्डे र डा. सन्तोष उपाध्यायलाई कम्पनीले यस अघि नै ‘ब्राण्ड प्रमोटर’ नियुक्त गरिसकेको जानकारी दिईयो ।

नेपाल टेलिकमले ल्यायो सस्तो दरमा डाटा रोमिङ सेवा

काठमाडौं । नेपाल टेलिकमले विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि पहिले भन्दा निकै नै सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराएको छ । यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताहरुले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरुसँग गरिएको सम्झौता अनुसार उक्त महशुल दरमा भारी कटौती भएकोले थप सस्तो दररेटमा सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अब नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताहरुले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरुको नेटवर्कमा आवद्ध भई डाटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डाटा सेवा उपलब्ध हुनेछ । अब नेपाल टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध हुनेछ । त्यसैगरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेयिबा, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, युएई, युके, युएसए र भियतनाममा समेत सस्तो दरमा डाटा रोमिङ सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । परिमार्जित दररेट सस्तो र सुलभ हुने भएकोले रोमिङ सेवा प्रयोगकर्ताहरुका लागि डाटा रोमिङ सेवा उपयोगी हुने र सेवा प्रयोग गर्ने परिपाटीमा वृद्धि हुने अपेक्षा कम्पनीको रहेको छ । टेलिकमका अनुसार डाटा रोमिङ सुविधा प्रयोग गर्नका लागि ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्दछ । पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले नेपालमै रहदा आफ्नो मोबाइलबाट *1415*7# डायल गरी वा प्रिपेड ग्राहकहरुले नेपाल टेलिकम एप मार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिने छ ।

नेपाल टेलिकमले ३४ विमानस्थलमा निःशुल्क इन्टरनेट सेवा दिने

काठमाडौं । नेपाल टेलिकमले ६ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच उक्त सेवा सञ्चालनका लागि सम्झौता भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए । ‘टेलिकम र नागरिक उड्डयन प्राधिकरणबीच ३४ विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने सम्झौता भएको छ, अबको ६ महिनाभित्रमा सबै विमानस्थलमा वाइफाइ इन्टरनेटको काम सकिनेछ,’ उनले भने । नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेको प्राधिकरणले जनाएको छ ।

नेपाल टेलिकमको नाफा साढे ७ प्रतिशत घट्यो

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ महिनामा ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७.५९ प्रतिशतले कमी हो । समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।  गत वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको नाफामा ७.६० प्रतिशतको संकुचन आएको छ । गत वर्षको यही अवधिसम्मको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन र वित्तीय आम्दानी दुवै घटेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १८ अर्ब ७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर १७ अर्ब २४ करोड रुपैयाँमा खुम्चिएको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ६१ करोड रुपैयाँ वित्तीय आम्दानी गरेको छ ।  गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ३ अर्ब ९५ करोड रुपैयाँ भएको थियो । सञ्चालन र वित्तीय आम्दानी घट्दा पनि कम्पनीको नाफा प्रभावित भएको हो । कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी भने ६ करोड ६८ लाख रुपैयाँबाट बढेर ४४ करोड ६४ लाख रुपैयाँको उचाइमा पुगेको छ । चुक्तापुँजी १८ अर्ब रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ७२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।  गत वर्ष रिजर्भमा ७५ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो । नेपाल टेलिकमको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४३.६८ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ईपीएस ४७.२८ रुपैयाँ थियो । पीई रेसियो २०.६२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३.७६ रुपैयाँ रहेको छ ।

भुक्तानी बाँकी रहेको रकम दाबी गर्न नेपाल टेलिकमको आग्रह

काठमाडौं । नेपाल टेलिकमले लामो समयदेखि भुक्तानी नगरेका विभिन्न कम्पनीलाई रकम दाबी गर्न आग्रह गरेको छ । ५ वर्षअघि भुक्तानी नगरेका कम्पनीलाई भुक्तानी गरिने टेलिकमले जनाएको छ । कम्पनीका अनुसार मल्टी एसवाइएस पीटीई, वाइसीओ, पाथवे टेक्नोलोजी एण्ठ सर्भिसेज, टेक वान ग्लोबल नेपाल र एशिया इन्फो लिंकेज टेक्नोलोजी कम्पनीलाई रकम दाबीका लागि आग्रह गरेको हो । टेलिकमको सूचना प्रणाली सहयोगी निर्देशनालय जावलाखेलसँग हाल कारोबार नरहेका एवं विगत लामो अवधि (५ वर्षभन्दा अघि)देखि भुक्तानी हुन बाँकी हिसाबमा देखिएका रकमहरू फरफारक गर्नुपर्ने छ । त्यसैले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो लिनुपर्ने रकम स–प्रमाणसहित दाबी पेस गर्न कम्पनीले आग्रह गरेको छ । साथै, भुक्तानी बाँकी रहेको प्रमाणसहित आर्थिक वर्ष २०७९/८० को कर चुक्ता प्रमाणपत्र रकम भुक्तानीको लागि निवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ । तोकिएको अवधिमा रकम दाबी नभएमा भुक्तानी बाँकीमा रहेका रकमहरू यस निर्देशनालयको खातामा आम्दानी बाँधिने र उक्त रकम भविष्यमा भुक्तानी गर्न नसकिने कम्पनीको भनाइ छ ।

नेपाल टेलिकमका नवनियुक्त अध्यक्ष जोशीले लिए शपथ

काठमाडौं । नेपाल टेलिकमको अध्यक्षमा मनिष जंग जोशी नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष जोशीले माघ ५ गते गोपनीयता र इमान्दारीताको शपथ लिएका छन् । सञ्चालक समितिको सदस्य जोशी गत पुस २९ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए । यसअघि टेलिकमको अध्यक्ष अम्बिका प्रसाद पौडेल थिए ।

नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । गत पुस २४ गतेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष सुवेदीले पुस २६ गते गोपनीयता र इमान्दारीताको सपथ लिएका हुन् । यसअघि टेलिकमको पूर्व पदाधिकारी कृष्ण बहादुर राउत थिए ।

नेपाल टेलिकमले सिधै सेयरधनीहरूको बैंक खातामा जम्मा गर्याे लाभांश

काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको कम्पनीले जनाएको छ । कम्पनीको पुस २९ गते सम्पन्न १६औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई ४० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश आज माघ २ गतेदेखि सेयरधनीहरूको बैंक खातामा जम्मा गर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार सेयर दाखिला बन्द हुने मितिसम्म कायम सेयरधनीहरूको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश वापतको रकम जम्मा गरिनेछ । हालसम्म पनि अभौतिकीकरण नगराएका सेयरधनीहरूले हितग्राही खाता खोली बैंक खाताको विवरण अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ । साथै, सोही बैंक खातामा नगद लाभांशको रकम जम्मा गर्ने कम्पनीको भनाइ छ । मर्जर पश्चात गाभिने बैंक तथा वित्तीय संस्थाको खाता नम्बर रहेका सेयरधनीहरूको खाता नम्बर परिवर्तन हुने हुँदा जम्मा गरेको रकम फिर्ता आउने भएकाले परिवर्तित नयाँ खाता नम्बर अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरूले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ । कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल रहेको छ ।

नेपाल टेलिकमको ४० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को लाभांश पारित भएको छ । कम्पनीको आईतबार सम्पन्न सोह्रौँ वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावित ४० प्रतिशत लाभांश पारित गरेको हो । समितिले आर्थिक वर्ष २०७९/८० को मुनाफा रकम मध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७९/८० को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ । कम्पनीका अनुसार साधारणसभामा करिब ९२ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरुको उपस्थिति रहेको थियो । यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८०/८१ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेश कुमार गुरागाईलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ । त्यसैगरी सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको रुपमा मनिषजङ्ग जोशी निर्विरोध निर्वाचित भएका छन् । सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले साधारणसभामा उपस्थित सेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको सोह्रौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाको वातावरणमा मुनाफाभन्दा सेवा बिस्तारलाई उच्च प्राथमिकतामा राखी भौगोलिकरूपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणाको कार्यान्वयनमा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी सेवाको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनीले आफ्ना कार्यक्रमहरू परिलक्षित गरिरहको बताए । समीक्षा अवधिमा कम्पनीको भ्वाइस सेवा तर्फको बजार हिस्सा ७.८२ प्रतिशतले वृद्धि भई ६१.५१ प्रतिशत पुगेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले भने, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु ४४.४२ अर्ब आम्दानी गरी रु ७.९२ अर्ब मुनाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्क बापत कुल आयको ६४.०७ प्रतिशतले हुन आउने रु २८.४६ अर्ब राजस्वको रूपमा बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको छ ।’ कम्पनी सञ्चालक समितिका अध्यक्ष सुवेदीले भने, ‘देशभर फोरजी/एलटीई तथा एफटीटीएच सेवा बिस्तारका लागि व्याकबोन नेटवर्कको स्तरोन्नति गरिएको छ । प्राविधिक तथा भौगोलिक दृष्टिकोणबाट सम्भव भएका स्थानहरूमा भूमिगत तथा एडीएसएस अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण कार्यलाई तीव्रता दिइएको छ । अप्टिकल फाइबर नेटवर्क बिस्तार गर्न नसकिने स्थानहरूमा माइक्रोवेभ रेडियो लिंक तथा स्याटेलाइट लिंकमार्फत सेवा उपलब्ध गराइने र विद्युत आपूर्ति उपलब्ध नभएका स्थानमा सोलार पावर प्रणाली जडानमा विशेष जोड दिइएको छ ।’ कम्पनीका अध्यक्षले साधारणसभामा सेयरधनीहरुले उठाएका विभिन्न सुझावहरुको कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै सुझाव दिने सेयरधनीहरुप्रति आभार व्यक्त गरे । कम्पनीले सोह्रौ साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम आइतबार (२०८० पुस २९ गते) देखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको छ ।

स्याङ्जाको मालुङ्गामा नेपाल टेलिकमको एफटिटिएच सेवा

काठमाडौं । नेपाल टेलिकमले स्याङ्जा जिल्लाको मालुङ्गाबजार र सोको आसपास क्षेत्रलाई समेटने गरि उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट (एफटिटिएच) सेवाको विस्तार गरेको छ । उक्त सेवा मार्पmत मालुङ्गा क्षेत्र वरपर रहेका स्वाथ्यचौकी, क्याम्पस, स्कुल तथा अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुले अव उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट निर्वाध रुपमा चलाउन सक्नेछन् । एफटिटिएच सेवा अन्तर्गत २५ एमबिपिएस देखि १ जिविपिएस स्पिड क्षमता सम्मको एक्सजिपोन प्रविधिमा आधारित विश्वसनिय फाइबर सेवा विस्तार गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख इन्दल यादवले बताए । मालुङ्गा बजार गल्याङ नगरपालिका वडा नं.१ अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो र त्यस्ता केन्द्रहरुमा नेपाल टेलिकमको हाइस्पिड ब्रोडव्याण्ड सेवाबाट बन्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख राकेश चौधरीले बताए । त्यसैगरि, हाल वितरण गरिएको एनटिफाइबर सेवा मार्पmत एउटै सरकारी दरमा ब्रोडव्याण्ड इन्टरनेट, टेलिभिजन, पिएसटिएन, तथा मोबाइल डाटा समेत प्राप्त गर्न सकिने भएकोले यसलाई “फोर इन वन” भनेर समेत चिनिने नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए । उनका अनुसार यो सेवा मार्पmत अनलिमिटेड इन्टरनेटका साथै अनलिमिटेड भ्वाइस सेवा समेत प्राप्त गर्न सकिने छ । एफटिटिएच सेवामा गुणस्तरियता र विश्वसनियता दुबै रहेकाले गल्याङ कार्यालय मार्पmत करिब १३ किलोमिटर परको दुरीमा विस्तार गरि प्रथम पटक मालुङ्गामा ल्याण्डलाइन सेवा ल्याइएको वडा अध्यक्ष मणि प्रसाद बश्यालले बताए ।

नेपाल टेलिकमको बक्यौता भुक्तानी गर्दा जरिवाना छुट

काठमाडौं । नेपाल टेलिकमले महसुल भुक्तानी तथा जरिवाना छुट गर्ने भएको छ । टेलिकमका विभिन्न सेवाहरू (पीएसटीएन, जीसीएम मोबाइल, सीडीएमए मोबाइल, एडीएसएल, एफटीटीएच, लिजलाइन) प्रयोग गरे बापत कम्पनीलाई भुक्तानी गर्न बाँकी बक्यौता समयमै भुक्तानी गर्न सबै ग्राहकहरूलाई कम्पनीले अनुरोध गरेको छ । साथै, पुरानो बक्यौता भुक्तानी गर्ने ग्राहकहरूलाई जरिवाना छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०७७/७८ सम्मको बक्यौता भुक्तानी गरेमा सोमा लाग्ने सम्पूर्ण जरिवाना छुट र आर्थिक वर्ष २०७८/७९ को बक्यौता भुक्तानी गरेमा सोमा लाग्ने जरिवानाको ५० प्रतिशत छुट पाउने छन् । ग्राहकहले नजिकको दूरसञ्चार कार्यालयमा गई चैतमसान्तसम्म भुक्तानी गरी अवसरको सदुपयोग गर्न कम्पनीले अनुरोध गरेको छ । पुरानो बाँकी बक्यौता भुक्तानी नगर्ने ग्राहकहरूको नामावली पत्रिकामा प्रकाशन तथा कम्पनीको वेसाइटमा राखी कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाउने कम्पनीले बताएको छ ।

नेपाल टेलिकमको सञ्चालक पदका लागि निर्वाचन तालिका सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले निर्वाचन तालिका सार्वजनिक गरेको छ । कम्पनीले निर्वाचनका माध्यमबाट एक जना सञ्चालक नियुक्त गर्ने भएको हो । कम्पनीको सञ्चालक समितिमा समूह–ग (सर्वसाधारण)बाट प्रतिनिधित्व गर्ने सेयरधनीहरूको तर्फबाट एक जना सञ्चालक पदको निर्वाचन तालिका सार्वजनिक गरेको हो । निर्वाचन अधिकृत कृष्णजीषी घिमिरेका अनुसार पुस २३ गते मतदाता नामावली प्रकाशन गरिनेछ । साथै, पुस २४ गते मतदाता नामावलीमा दावी विरोध गर्ने र छानविन गरी अन्तिम नामावली सार्वजनिक गर्ने उनले बताए । उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय भने पुस २५ गते तोकेको छ भने उम्मेदवारको विरोधमा पुस २६ गते उजुरी दिनु पर्नेछ । कम्पनीका अनुसार पुस २९ गते निर्वाचन हुनेछ भने सोही दिन मतगणना गरिनेछ ।

४० % लाभांश पारित गर्न नेपाल टेलिकमले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न नेपाल टेलिकमले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले १६औं वार्षिक साधारणसभा पुस २९ गते राष्ट्रिय सभा गृह काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हहाल कायम चुक्ता पुँजीको सेयरधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १९ गतेदेखि २९ गतेसम्मसेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

नेपाल टेलिकमको ४० प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल टेलिकमले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भई आगामी १६औं वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

नेपाल टेलिकमले बोनस सेयर नदिने, साधारण सभा पुसभित्रै गर्ने तयारी

काठमाडौं । पुँजी बजारका लागि यो सिजन लाभांशको हो । पुँजी बजारमा सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गरिरहेका छन् । विभिन्न कम्पनीहरूले लाभांश घोषणा गरिरहँदा दोस्रो बजारमा लगानीकर्ताको रोजाईमा रहेको कम्पनी नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले कहिले लाभांश घोषणा गर्ला भनेर चासोको रुपमा हेरिएको छ । विगतका वर्षहरूमा समेत उच्च लाभांश वितरण गर्दै आएकाले सेयरधनीहरूको रोजाईको नेपाल टेलिकम पर्ने गरेको छ । त्यसैले गत वर्षको नाफाबाट धमाधम लाभांश घोषणा गरिरहँदा नेपाल टेलिकमले कति लाभांश देला भनेर लगानीकर्ताले चासोको रुपमा हेरिरहेका हुन् । कम्पनीको लाभांश इतिहास हेर्ने हो भने विगतका वर्षहरूमा ४० प्रतिशतभन्दा बढी प्रतिफल बाँडेर सेयरधनीहरूलाई मख्ख बनाएको छ । त्यसैले नेपाल टेलिकमले यस वर्ष पनि उच्च लाभांश वितरण गर्ने अपेक्षा सेयरधनीहरूले गरिरहेका छन् । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०मा ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत कम हो । गत असारसम्मको तथ्याङ्क हेर्ने हो भने कम्पनीको प्रतिसेयर आम्दानी ४३.३६ रुपैयाँ रहेको छ । साथै, कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा ७५ अर्ब ८२ करोड ८१ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको लेखापरीक्षको समूह यतिबेला कम्पनीको वित्तीय विवरण फरफराक गर्नमा जुटेको छ । कम्पनी स्रोतका अनुसार गत वर्षको वित्तीय विवरणको हिसाव किताब मिलानको काम भइरहेको छ । अडिटरले पनि ब्यालेन्ससिट मिलाउने काम गरिरहेकाले पुसभित्रै वार्षिक साधारणसभा गर्ने तयारी रहेको स्रोतको भनाइ छ । ‘अडिटरले ब्यालेन्ससिट मिलाउने काम र अध्ययन भइरहेको छ, कम्पनीले विगतमा ४० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको थियो, यस वर्ष पनि करिव ४० प्रतिशत नै लाभांश बाँड्ने कम्पनीको तयारी छ,’ उनले भने, ‘कम्पनीको लाभांश सदावहार नै हो, बोनस सेयर वितरण गर्दैन, जति प्रतिशत आउँछ, सबै नगद दिन्छौं ।’ नेपाल टेलिकमले विगतमा कम्तिमा ४० प्रतिशत र बढीमा ५५ प्रतिशत लाभांश दिदै आएको छ । गत वर्ष टेलिकमले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिएको थियो । यो वर्ष भने बोनस सेयर नदिने भएको छ भने करिव ४० प्रतिशत नगद लाभांश दिने सम्भावना रहेको स्रोतले बतायो ।

सबैभन्दा बढी कर तिर्नेमा नेपाल टेलिकम, बैंकिङमा ग्लोबल आइएमई र बीमामा एलआईसी नेपाल

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसर पारेर विभागले सबैभन्दा बढी कर बुझाउने करदाताहरूलाई सम्मान गरेको हो । गत वर्ष सबैभन्दा बढी आय कर तिर्नेमा व्यक्तिगततर्फ विजयकुमार शाह रहेका छन् । यस्तै, सबैभन्दा बढी आन्तरिक राजस्व दाखिला गर्नेमा सुर्य नेपाल रहेको छ । यस्तै, आयकर दाखिलामा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) परेको छ । गत आर्थिक वर्षको आय विवरण अनुसार टेलिकमले सबैभन्दा बढी कर तिरेको विभागले जनाएको छ । त्यस्तै, निर्यात कारोबारबाट डाबर नेपाल र विशेष उद्योगमध्ये एशियन पेन्ट्सलाई सम्मान गरेको हो । गत वर्षको विवरण अनुसार बैंक तथा वित्तीय संस्थामध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी कर तिरेको छ । त्यस्तै, बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपाल र सहकारी तथा लघुवित्तमध्ये छिमेक लघुवित्त वित्तीय संस्थाले गत वर्ष सर्वाधिक कर तिरेका छन् । यस्तै, कृषि एवं पशुपंछीजन्य उद्योगहरुमध्ये ओ.सि.बी फुड्स एन्ड फिड्सलाई सम्मान गरेको हो । स्वास्थ्य तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज, पर्यटनमा मनकामना दर्शन र वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट छन् । मध्यमस्तरका करदाताअन्तर्गत नेपाल स्टक एक्सचेन्ज, ऊर्जामा भोटेकोशी पावर र रेमिट्यान्समा आईएमई रहेका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनका लागि नेपाल टेलिकमको निःशुल्क सेवा 

काठमाडौं । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले भूकम्प प्रभावित ती क्षेत्रमा पाँच दिनका लागि फोन तथा म्यासेज निःशुल्क गर्ने निर्णय गरेको सञ्चार मन्त्रालयका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । हाल भूकम्प प्रभावित रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवा सञ्चालन रहेको टेलिकमले जनाएको छ । कम्पनीले यस विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवालाई नियमितरुपमा सञ्चालन राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । सूचना आदानप्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहनुभएका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकलाई पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराइको कम्पनीले उल्लेख गरेको छ । यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवासहितको निःशुल्क सिम उपलब्ध गराइने टेलिकमका प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । उक्त सिम कम्पनीको सुर्खेत, रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट कार्यालयबाट उपलब्ध हुने छ । उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकअनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा उपलब्ध गराइनेछ । रासस