नेपाल टेलिकमको सञ्चालकमा अरुणा जोशी नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सञ्चालक समितिमा प्रतिनिधि परिवर्तन भएको छ । नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले समूह ‘क’ (संस्थापक समूह) अन्तर्गत मनोनयन गर्ने सदस्य परिवर्तनका लागि पठाएको पत्रअनुसार कम्पनीको सञ्चालक समितिमा नयाँ सदस्य नियुक्त गरिएको हो। मन्त्रालयले सहसचिव अरुणा जोशीलाई नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । नियमावलीको नियम १२ को खण्ड (छ) अनुसार नेपाल सरकारको प्रतिनिधि सञ्चालकको व्यवस्था भएकाले सचिवस्तरीय निर्णयअनुसार जोशीको नियुक्ति गरिएको हो । नवनियुक्त सदस्य जोशीले गोपनीयताको शपथ ग्रहण गरिसकेकी छन् । उनले यसअघि सञ्चालक रहेका कोमल बहादुर खत्रीको स्थान लिनेछिन् ।
नेपाल टेलिकमको नाफा १.३२ अर्ब रुपैयाँ, आम्दानी ८.६७ अर्ब
काठमाडौं । नेपाल दूसञ्चार कम्पनी (नेपाल टेलिकम (एनटीसी)को चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २३.८२ प्रतिशत घटेर १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको पहिलो त्रैमसामा कम्पनीको सञ्चालन आम्दानी ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ६८ करोड १ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीका अनुसार चालु आवको ३ महिनामा वित्त आम्दानी ६० करोड ५ लाख रुपैयाँ, अन्य आम्दानी १९ करोड १० लाख रुपैयाँ र कुल आम्दानी ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ७७ लाख रुपैयाँ वित्त आम्दानी, २० करोड ६३ लाख रुपैयाँ अन्य आम्दानी र १० अर्ब ६ करोड ३७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ कर्मचारी खर्च, १ अर्ब ५२ करोड ५२ लाख रुपैयाँ सञ्चालन तथा मेन्टेनेन्स खर्च, ८ करोड ५५ लाख रुपैयाँ प्रमोसनल खर्च, ३५ करोड ४४ लाख रुपैयाँ कार्यालय सञ्चालन खर्च, १ अर्ब १७ लाख रुपैयाँ शुल्क तथा नवीकरणमा खर्च भएको जनाएको छ । १८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७३ अर्ब ३ करोड ५७ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेर २९.४५ रुपैयाँमा सीमित भएको छ । गत वर्षको असोजमा कम्पनीको प्रतिसेयर आम्दानी ३८.६६ रुपैयाँ थियो ।
विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक
काठमाडौं । देशभर इन्टरनेट सेवाको माग तीव्र गतिमा बढ्दै गएसँगै नेपाल टेलिकमले विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक गरेको छ । वि.सं. २०५४ साल वा सोपछि जन्मिएका विद्यार्थीलाई लक्षित उक्त अफर शुक्रबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले शुभारम्भ गरे । मन्त्री खरेलले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई सूचना प्रविधिमा पहुँच बढाउन टेलिकमले गरेको पहल प्रशंसनीय रहेको बताउँदै, यसले डिजिटल समावेशितामा योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले टेलिकमलाई ग्राहक वृद्धि र सेवा विस्तारका लागि प्रभावकारी बजारीकरण रणनीति अपनाउन निर्देशनसमेत दिए । त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधि सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले नेपाल टेलिकमले नाफाभन्दा सेवा केन्द्रित दृष्टिकोणका साथ काम गर्दै आएको बताइन् । उनले सेवा विस्तारसँगै आम्दानीका सम्भावित क्षेत्र पहिचान गरी राजस्व वृद्धिमा पनि जोड दिनुपर्ने उल्लेख गरिन् । यस अफर अन्तर्गत विद्यार्थीहरूले ४ हजार ९९९ रुपैयाँ (करसहित) मा ३० मेगाबिट प्रति सेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेट सेवा एक वर्षका लागि पाउनेछन्। यो सेवा २०८२ माघ २२ गतेसम्म उपलब्ध हुनेछ । यसमा ५०० रुपैयाँ जडान शुल्क थप लाग्नेछ । साथै, प्रत्येक विद्यार्थीले १ थान दोहोरो ब्यान्ड क्षमताको मोडेम (सीपीई) र १०० मिटर फाइबर तार निःशुल्क प्राप्त गर्न सक्नेछन् । अफरका लागि विद्यार्थीहरूले १९८ मा सम्पर्क गरेर माग प्रणाली (डिमान्ड पोर्टल) मार्फत वा नजिकको टेलिकम कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन् । आवेदनका साथ विद्यार्थी परिचयपत्र, जन्ममिति खुल्ने प्रमाणपत्र र (नाबालिगको हकमा) अभिभावकको नागरिकता वा अन्य प्रमाणपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ । फाइबर सेवा समाप्त भएपछि सोही प्याकेजमा नवीकरण गर्न नपाइने भएकाले विद्यार्थीहरूले आवश्यकता अनुसार टेलिकमका अन्य उपलब्ध प्याकेजहरू चयन गरी सेवा निरन्तर प्रयोग गर्न सक्नेछन् । जडानसम्बन्धी थप जानकारीका लागि कम्पनीको वेबसाइट वा ग्राहक सेवाकेन्द्र १९८ मा सम्पर्क गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।
चित्लाङमा नेपाल टेलिकमको एनटी फाइबर सेवा विस्तार
काठमाडौं । नेपाल टेलिकमले मकवानपुर जिल्लाको थाहा नगरपालिका–९, चित्लाङ क्षेत्रमा एनटी फाइबर (एफटीटीएच) सेवा विस्तार गर्दै आधुनिक इन्टरनेट तथा टेलिफोन सेवाको सुरुवात गरेको छ । कार्तिक १८ गते श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममार्फत टेलिफोन तथा इन्टरनेट सहितको फाइबर टु दि होम (एफटीटीएच) सेवा औपचारिक रूपमा सुरु गरिएको हो । यससँगै चित्लाङ क्षेत्रमा पहिलोपटक फाइबर प्रविधिमार्फत आधारभूत आवाज सेवा र उच्च गतिको इन्टरनेट उपलब्ध गराइएको टेलिकमले जनाएको छ । नेपाल टेलिकमका अनुसार चित्लाङ पर्यटकीय एवं ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र भएकाले आधुनिक प्रविधियुक्त सञ्चार सेवा विस्तार गरिएको हो । ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै केही विद्यालय तथा संस्थाहरूमा सेवा जडानको प्रक्रिया अघि बढिसकेको छ । हाल रेडियो ब्याकहोलमार्फत सेवा सञ्चालन गरिएको भए पनि निकट भविष्यमा फाइबर ब्याकहोलमार्फत सेवा प्रवाह गरी टेलिफोन, इन्टरनेटसँगै टेलिभिजन सेवासमेत विस्तार गर्ने योजना रहेको कम्पनीले स्पष्ट पारेको छ । नेपाल टेलिकमले चित्लाङमा सञ्चार पहुँच विस्तारसँगै डिजिटल समावेशीकरण, शिक्षा, व्यवसाय तथा स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।
विमानस्थलमा नेपाल टेलिकमको फ्री वाइफाइ सेवा सुरु
काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रु लक्षित फ्रीवाइफाइ इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको शुभारम्भ कार्तिक ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको हो । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले संयुक्त रूपमा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा फ्री वाइफाइ सेवाको उद्घाटन गरेका थिए । पहिलो चरणमा सेवा आगमन, प्रस्थान, भीआइपी कक्ष तथा प्रतिक्षा क्षेत्र लगायत विमानस्थलका प्रमुख स्थानहरूमा उपलब्ध गराइएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको सम्झौता अनुसार देशभर सञ्चालनमा रहेका ३ वटा अन्तर्राष्ट्रिय र ३४ वटा आन्तरिक विमानस्थलहरूमा क्रमशः यो सेवा विस्तार गरिँदै जानेछ । यात्रुले वाइफाइ कभरेज रहेको स्थानमा गएर 'NTC_Free_WiFi' नामको नेटवर्क रोजी आवश्यक निर्देशन पूरा गरेपछि निशुल्क इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन् । नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार यात्रुको सहजता र डिजिटल पहुँच विस्तारका लागि टेलिकमले यो सेवा सामाजिक उत्तरदायित्वका रूपमा सञ्चालनमा ल्याएको हो ।
नेपाल टेलिकमले ल्यायो पोस्टपेड ग्राहकका लागि ‘रिकरिङ सजिलो अनलिमिटेड प्याकेज’
काठमाडौं । नेपाल टेलिकमले ग्राहकको माग र सहजताका लागि जीएसएम पोस्टपेडमा ‘रिकरिङ सजिलो अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । नयाँ योजना २०८२ असोज ३१ गतेदेखि लागू हुनेछ । टेलिकमले पहिले सञ्चालनमा रहेका सजिलो अनलिमिटेड प्याकेजहरू — ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याक — लाई मुख्य अफरका रूपमा लिएर स्वचालित रूपमा रिन्यु हुने सुविधा सुरु गरेको हो । अब यी प्याकेजहरूको समयावधि समाप्त भएपछि स्वतः पुनः खरिद (रिन्युवल) हुनेछ । नयाँ प्रणालीअन्तर्गत पहिलो पटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर प्रो–रेटेड आधारमा रकम काटिनेछ । त्यसपछि प्रत्येक महिनाको १५ तारिखमा स्वचालित रूपमा सोही प्याकेज रिन्यु हुनेछ। यद्यपि उक्त मितिमा बिल तयार गर्दा ग्राहकको उपलब्ध क्रेडिट लिमिट पर्याप्त नभए सेवा अवरुद्ध हुनेछ । भुक्तानी गरेपछि मात्रै सेवा पुनः सुचारु हुने व्यवस्था गरिएको छ । ग्राहकले आवश्यक परे थप डाटा वा एसएमएसका लागि अन्य प्याकेज खरिद गर्न सक्नेछन् । त्यस्तै, बढी वा कम संसाधन भएका अन्य रिकरिङ प्याकेज वा साबिकका नर्मल डेटा र एसएमएस प्याकेज पनि प्रयोग गर्न सकिनेछ। यदि एउटा रिकरिङ प्याकेज सक्रिय अवस्थामा अर्को रिकरिङ प्याकेज खरिद गरियो भने नयाँ प्याकेज पेन्डिङ स्थितिमा रहनेछ र आगामी अंग्रेजी महिनाको १५ तारिखमा मात्रै सक्रिय हुनेछ । तर, सामान्य प्याकेज लिएको अवस्थामा छोटो भ्यालिडिटी भएको प्याकेजको संसाधन पहिले खर्च हुनेछ । ग्राहकले चाहेमा जीएसएम पोस्टपेड अफर सब्सक्राइब गरी ‘रिकरिङ सेवा’ बन्द गर्न पनि सक्नेछन् । रिकरिङ सजिलो अनलिमिटेड प्याकेज सुचारु गर्न *1415*2*4# डायल गरी छनोट गर्नुपर्नेछ । नेपाल टेलिकमले उक्त योजनाबाट ग्राहकले सजिलै आफ्ना सेवाहरू निरन्तर उपयोग गर्न सक्ने र समयमै रिन्युवलका झन्झटहरू कम हुने अपेक्षा व्यक्त गरेको छ ।
नेपाल टेलिकमले ल्यायो चाडपर्व अफर, ५ हजार रुपैयाँसम्मको छुट र अनलिमिटेड डेटा सुविधा
काठमाडौं । नेपाल टेलिकमले दसैं, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि अफर सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको ‘दसैं–तिहार–छठ अफर २०८२’ अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटसहित विभिन्न मोबाइल सेवा प्याकेज उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क (रु. ५,०००) पूर्ण रूपमा मिनाहा गरिनेछ । यसैगरी जीएसएम सेवामा विशेष डेटा प्याकेजसमेत उपलब्ध गराइएको छ । रु. ४९९ मा ५ जीबी ‘फेस्टिवल अनलिमिटेड’ र रु. ६९९ मा १० जीबी ‘फेस्टिवल अनलिमिटेड प्रिमियम’ डेटा प्याकेज खरिद गर्न सकिनेछ । यी प्याकेजमा प्रतिदिन तोकिएको भोल्युम सकिएपछि पनि क्रमशः २ एमबीपीएस र ३ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, रु. २५० मा १००० मिनेट अल–नेट भ्वाइस सुविधा उपलब्ध हुने ‘जॉयफुल मिनेट्स’ प्याकेज र रु. ९९ मा १००० अन–नेट एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यी प्याकेजको समयावधि प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिन तोकिएको छ । जीएसएम सेवाका प्याकेज असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछन् । अफर प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट 14153# डायल गर्न वा ‘नेपाल टेलिकम एप’ प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । कम्पनीले विभिन्न चाडपर्वको अवसरमा उपलब्ध गराइने यस्ता अफरहरूले आफन्तसँग खुशी बाँड्न, सम्पर्कमा रहन र डिजिटल सेवाको प्रयोगलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।
पर्सामा क्षतिको आँकलन गरिँदै, नेपाल टेलिकमको तीन करोड बराबरको नोक्सानी
काठमाडौं । गतहप्ताको आन्दोलनबाट वीरगन्जको घण्टाघरस्थित नेपाल टेलिकम वीरगन्जको कार्यालयमा तोडफोड र आगजनीबाट तीन करोड बराबरको क्षति भएको छ । यही भदौ २४ गतेको आन्दोलनको भीडको सबैभन्दा पहिलो निशानामा टेलिकम परेको थियो। नेपाल टेलिकम वीरगन्जका प्रमुख पङ्कज साहले अराजक समूहको भीडले टेलिकमको कम्प्युटर, प्रिन्टर्सलगायतका अन्य महत्त्वपूर्ण उपकरणमा करिब तीन करोड मूल्य बराबरको सामानको क्षति भएको जानकारी दिए । ‘प्रदर्शनकारीले घण्टाघरस्थित दुवै टेलिकमका कार्यालयमा आगजनी गरेका छन्,’ उनले भने, ‘आगजनीबाट महसुल काउन्टरमा धेरै क्षति भएको छ।’ पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार पार्नका लागि निर्देशन दिएको छ । ‘जेनजी समूहको आन्दोलनको क्रममा यहाँका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपूरणीय क्षति भएका छन्,’उनले भने, ‘कार्यालयमा भएका क्षतिको मुचुल्का वा विवरण तयार पर्दा पारदर्शीता र यथार्थपरक बनाउनको लागि निर्देश गरेको छु । मुचुल्का तयार पर्दा श्रव्य दृश्य र अन्य व्यवस्थित खालको तयार पार्न आग्रह गरेको छु ।’ यहाँको वीरगन्ज महानगर, आन्तरिक राजस्व कार्यालय लगायतमा धेरै क्षति भएको छ । रासस
हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा
अदानचुली । टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो जेनेरसन (फोरजी)सेवा सञ्चालनमा आएको छ । यहाँका गाउँगाउँमा फोरजी सेवा सञ्चालन आएपछि धेरै सहयोग पुर्याएको स्थानीयवासीले बताएका छन् । मेल्छाम स्वास्थ्य चौकीमा कार्यरत स्वथ्यकर्मी हर्क बुढाले फोरजी सेवा सञ्चालनमा आएपछि सहयोग पुर्याएको बताए । नेपाल टेलिकमले विसं २०७३ पुस १७ गतेदेखि काठमाडौँ र पोखराबाट फोरजी सुरुआत गरेको थियो । व्यवसायी दीपक थापाले फोरजी सेवा सञ्चालनमा आएपछि व्यवसाय गर्न सहयोग पु¥याएको बताए। हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएको नेपाल टेलिकमले जनाएको छ । चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले भने, 'हुम्ला जस्तो भौगोलिक रूपमा विकट क्षेत्रमासमेत आधुनिक प्रविधिको पहुँच सुनिश्चित गर्न गाउपालिकाको अथक पहल र निरन्तर प्रयत्नले फेरजी टावर सञ्चालनमा आएको छ । स्थानीयवासीलाई शिक्षा, स्वास्थ्य, सञ्चार तथा रोजगारीका नयाँ अवसरहरूमा पहुँच सुनिश्चित गर्ने विश्वाससमेत लिएको छु ।' उनले फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन तथा सूचना आदानप्रदानको कामसमेत सहज हुने बताए । चङ्खेली–३ को लामाकाँधमा राखिएको टावरले चङ्खेली गाउँपालिकाका केही बस्ती सर्केगाड र मुगुको सोरु गाउँपालिकाका केही बस्तीमासमेत सेवा पुर्याउने जनाइएको छ । वडा नं ६ को मासीधारमा राखिएको टावर शनिबार सञ्चालनमा आएपछि जिल्लाको तल्लो क्षेत्रका अधिकांश बस्तीमा ‘फोरजी’ सेवा सञ्चालन हुने छ । महतारा चौरमा निर्माणधीन टावर सञ्चालनमा आएपछि तल्लो क्षेत्रका सबै बस्तीमा इन्टरनेट सेवा सुचारु हुनेछ । जिल्ला सदरमुकामबाट निकै दुर्गम गाउँमा फोरजी चल्न थालेपछि अहिले यहाँका स्थानीय निकै खुसी छन् । टावरको निर्माण पूरा भएसँगै यस क्षेत्रका घर घरमा फोरजी चल्न थाले पनि आफूलाई कार्यालयमा काम गर्नसमेत सहज हुने भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुरवीर शाहीको भनाइ छ । उनका अनुसार यस अघि इन्टरनेट नहुँदा स्वास्थ्यसम्बन्धी डेटा भर्नासमेत मुस्किल भएको थियो । गाउँमा फोरजीसम्मको सेवा पुर्याउन गाउँपालिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । पालिकाले विगत दुई वर्षदेखि टेलिकमको केन्द्रीय कार्यालय काठमाडौंसँग निरन्तर पत्राचार, प्रत्यक्ष भेटघाट र अनुरोध तथा समन्वयपछि गत वर्षदेखि यस क्षेत्रमा टावर निर्माण सुरु भएको हुम्ला चङ्खेली गाउँपालिकाका अध्यक्ष शाहीले बताए । फोरजी सेवा सुरु भएसँगै यहाँका विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा सुरु गर्न सकिने छ । रासस
राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)बीच निवृत्तिभरण खाता, तलबी बचत खाता तथा पेसाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल टेलिकमको प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सविना मास्के प्रधान र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरे । 'वाणिज्य बैंकले नेपाल टेलिकमका सेवानिवृत्त कर्मचारीका लागि पेन्सन खाता सञ्चालन गर्नुका साथै कार्यरत कर्मचारीका लागि तलबी बचत खाता, पेसाकर्मी सरल कर्जा र अन्य सेवासुविधा उपलब्ध गराउनेछ', सम्झौतापत्रमा उल्लेख छ । विसं २०२२ माघ १० गते स्थापना भएको वाणिज्य बैंकले हाल ७७ वटै जिल्लामा रहेका तीन सय १० वटा शाखा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आइरहेको छ । बैंकले आफ्नो सेवालाई समयसापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित गरिरहेको बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए ।
नेपाल टेलिकमको खुद नाफा ५७ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८२ पैसामा सीमित
काठमाडौं । नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी स्थिर रहेपनि वित्तीय आम्दानी घटेपछि खुद नाफा उल्लेख्य रूपमा घटेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३४ अर्ब ५६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले चालु वर्ष सोही अवधिसम्म ३४ अर्ब ५३ करोड रुपैयाँ मात्र आम्दानी गरेको छ । वित्तीय आम्दानी ६ अर्ब ७८ करोड रुपैयाँबाट घटेर ३ अर्ब ७० करोड रुपैयाँमा झरेपछि कुल आम्दानी पनि ४२ अर्ब ११ करोड रुपैयाँबाट घटेर ३८ अर्ब ७३ करोड रुपैयाँमा सीमित भएको हो । यसैगरी, चालु कर खर्च ११ करोड रुपैयाँबाट बढेर ४ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ पुगेपछि कम्पनीको खुद नाफा ६ अर्ब २३ करोड ५५ लाख रुपैयाँबाट घटेर २ अर्ब ६६ करोड ८१ लाख रुपैयाँमा झरेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको ३४ रुपैयाँ ६४ पैसाबाट घटेर १४ रुपैयाँ ८२ पैसामा पुगेको छ । आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ४९५ रुपैयाँ ३३ पैसा र मूल्य-आम्दानी अनुपात ५९.१८ गुणा रहेको छ । हाल १८ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको नेपाल टेलिकमको जगेडा कोषमा भने ७१ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ ।
रसुवाको चन्दनबारीमा नेपाल टेलिकमको टुजी सेवा सुरु
काठमाडौं । नेपाल टेलिकमले दुर्गम भेगसम्म दूरसञ्चार सेवा विस्तार गर्ने अभियानअन्तर्गत रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा पर्ने चन्दनबारीमा टुजी बीटीएस सेवा सञ्चालनमा ल्याएको छ। समुद्री सतहबाट करिब २ हजार ३०० मिटर उचाइमा रहेको उक्त क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले विशेष महत्त्व बोकेको छ। धार्मिक तीर्थस्थल गोसाइँकुण्ड जाने तिर्थालु र पदयात्रीलाई लक्षित गर्दै टेलिकमले धुन्चेदेखि गोसाइँकुण्डसम्मको पदमार्गमा पर्ने चन्दनबारीमा सेवा सञ्चालन गरेको हो । नयाँ टुजी सेवा सञ्चालनसँगै धुन्चे, देउराली, चन्दनबारी, लौरीविनायक हुँदै ४ हजार २०० मिटर उचाइमा रहेको गोसाइँकुण्डसम्म नेपाल टेलिकमको मोबाइल नेटवर्कको पहुँच पुगेको कम्पनीले जनाएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा लाग्ने मेलामा हजारौं श्रद्धालु पुग्ने गर्दछन्। नयाँ सेवा सञ्चालनले तीर्थालु, पर्यटकसहित स्थानीय बासिन्दालाई सञ्चारमा सहजता पुग्ने विश्वास गरिएको छ । नेपाल टेलिकमले हिमाली तथा विकट क्षेत्रमा सेवा विस्तार गर्ने सरकारको नीतिअनुरूप कम प्रतिफल र उच्च लागतका बाबजुद पनि यस्तो सेवा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ । आगामी दिनमा उच्च हिमाली क्षेत्रतर्फ फोरजी नेटवर्क सेवा विस्तार गर्ने योजना समेत रहेको टेलिकमले जानकारी दिएको छ।
नेपाल टेलिकमको ‘मनसुन अफर २०८२’ सार्वजनिक, अपांगता भएका व्यक्तिलाई छुट
काठमाडौं । नेपाल टेलिकमले ग्राहकको डिजिटल आवश्यकतालाई ध्यानमा राख्दै आगामी असार २६ गतेदेखि लागू हुने गरी ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ । ‘ग्राहक सेवामा समर्पित’ नारासहित टेलिकमले यस अफर अन्तर्गत भ्वाइस, डाटा र एसएमएस प्याकेजहरू ल्याउने जनाएको छ । कम्पनीले ग्राहकहरूको सुझाव र सेवाको प्रयोगशैलीलाई मध्यनजर गर्दै प्याकेजहरू तयार पारेको हो । विशेषगरी शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूका लागि बोनससहितका प्याकेजहरू समावेश गरिएका छन् । साथै, सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेजमा ३० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । ग्राहकहरूले टेलिकमको मोबाइल एप प्रयोग गरी अफर सम्बन्धी जानकारी लिन र प्याकेज खरिद गर्न सक्नेछन् । विस्तृत विवरण टेलिकमको वेबसाइटमा उपलब्ध हुने प्रवक्ता रविन्द्र मानन्धरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल टेलिकमको इन्टरनेट सेवामा समस्या, विदेशी नेटवर्क गडबडीले डाटा सेवा प्रभावित
काठमाडौं । नेपाल टेलिकमको इन्टरनेट सेवा प्रभावित भएको छ । मंगलबार राति साढे १ बजेबाट कम्पनीको नेटवर्कमा समस्या देखिएको टेलिकमले एक सूचना जारी गर्दै जानकारी दिएको हो । टेलिकमका प्रवक्ता रविन्द्रमान मानन्धरका अनुसार डाटा सेवा प्रभावित हुनुको कारण अन्तर्राष्ट्रिय व्याण्डविथ सेवा प्रदायकको नेटवर्कमा आएको समस्या हो । यसले गर्दा देशभर टेलिकमको इन्टरनेट सेवामा अस्थायी अवरोध आएको हो । कम्पनीले समस्या समाधानका लागि आवश्यक प्राविधिक प्रयास जारी रहेको र सेवा यथाशीघ्र पुनःस्थापनाको प्रयास भइरहेको जनाएको छ । अप्रत्याशित रूपमा सिर्जित समस्याका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति टेलिकमले क्षमा याचना गरेको छ ।
नेपाल टेलिकमको सेवा एक घण्टा बन्द हुने
काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको नियमित मर्मतका कारण केही सेवा मंगलबार राति करिब एक घण्टा बन्द रहने जानकारी दिएको छ । टेलिकमका अनुसार राति ११:५५ बजेबाट एक घण्टासम्म रिचार्ज, ब्यालेन्स सोधपुछ, प्याकेज सब्सक्रिप्सन लगायतका सेवाहरू प्रभावित हुन सक्छन् । यद्यपि, सो समयमा भ्वाइस, एसएमएस, डाटा तथा आइपीटीभी सेवा भने यथावत सञ्चालनमा रहनेछन् । कम्पनीले मर्मत कार्यका कारण असुविधा हुन सक्नेमा ग्राहकसमक्ष क्षमायाचना मागेको छ ।
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के नियुक्त भएकी छन् । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जेठ २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई सोही दिनको नियुक्तिपत्रमार्फत कम्पनीको निमित्त प्रबन्ध निर्देशक तोकिएको हो । यसअघि मास्के टेलिकमको नायब प्रबन्ध निर्देशकका रूपमा प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । अब उनले निमित्त प्रबन्ध निर्देशकको कार्यभार औपचारिक रूपमा सम्हालेकी छन् । मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई गरेकी छन् । उनी २०४९ माघ २५ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा अस्थायी इन्जिनियर पदबाट सेवामा प्रवेश गरेकी थिइन् भने २०५१ फाल्गुन १० मा स्थायी नियुक्ति पाएकी हुन् । २०७८ माघ १८ मा नायब प्रबन्ध निर्देशकमा पदोन्नति भएकी मास्केले विषम परिस्थितिमा आफूप्रति गरिएको विश्वासलाई साकार पार्दै टेलिकमको प्रगतिका लागि सबैको साथमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
नेपाल टेलिकमको प्रवक्ता बने रवीन्द्र मानन्धर
काठमाडौं । नेपाल टेलिकमले रवीन्द्र मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै मानन्धरलाई आधिकारिक प्रवक्ता नियुक्त गरेको जानकारी दिएको हो । यसअघि उनी टेलिकमको केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृत कार्यालयका प्रबन्धकका रूपमा कार्यरत थिए ।
नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा १८ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा प्रवन्ध निर्देशक संगीता पहाडी, पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडी, पौडेलसहित १८ विरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ । प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । बिलिङ प्रकरणमा ९ करोड ८८ लाख ?पैयाँ हानि नोक्शानी गरेको देखिएकाले हानि नोक्सानी गरे बराबरको रकम असुल उपर गर्न समेत अख्तियारले मागदाबी गरेको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले विशेष अदालतमा १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको जानकारी दिए । नेपाल टेलिकमबाट प्रतिस्पर्धा बिना करिब ३ अर्ब १५ करोड ?पैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान गरेको थियो । २०७९ पुसमा भएको ठेक्का सम्झौता अनुसार चिनियाँ कम्पनी एसिया इन्फो नामक कम्पनीले वार्षिक करिव ६५ करोड रुपैयाँका दरले पाँच वर्षमा ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी पाउने स्थिति बनेको थियो ।
सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर बिक्री गर्ने
काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)को सेयर बिक्री गर्ने घोषणा गरेको छ । सरकारलाई बहुमत सेयर हुने गरी ३० प्रतिशतसम्म सेयर बिक्री गर्ने घोषणा गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
नेपाल टेलिकमका ७ जना उपप्रबन्धक बढुवाका लागि सिफारिस
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सात जना उपप्रबन्धक बढुवाका लागि सिफारिस भएका छन् । १० औं तहअन्तर्गत प्राविधिक टेलिकम सेवा समुहको निर्देशक प्रबन्ध पदका लागि ५ जना सिफारिस भएको नेपाल टेलिकमले जनाएको छ। टेलिकमका अनुसार ७ जना मध्ये ५ जनाले बराबर ९६.६७८ अंक पाएर सिफारिस भएका छन् । उपप्रबन्धक पदमा कार्यरत रामनारायण महतो, निरोल प्रसाद कोजु, गोविन्द सिंह धामी, निरज बज्राचार्य र सञ्जिव कुमार देवलाई पदपूर्ति समितिले बढुवाका लागि सिफारिस गरेको हो । यसैगरी प्रबन्ध लेखा पदका लागि लागि उपप्रबन्धक लेखा पदमा कार्यरत हरिशरण महर्जन र कृष्ण कुमार लामेछाने पनि बराबर ८७.५२ अंक पाएर बढुवा पदका लागि सिफारिस भएका हुन् ।