'३० लाख ग्राहकमा पुग्ने लक्ष्य छ, अबको २ वर्षभित्र लाभांश दिन्छौं' {अन्तर्वार्ता}
काठमाडौं । सिटी पे वालेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय रेग्मी दुई वर्षअगाडि माछापुच्छ्रे बैंकको डिजिटल बैंकिङ विभाग नेतृत्व गरिरहेका थिए । बैंकमा काम गर्दैगर्दा ३० लाखभन्दा बढी ग्राहक रहेको सीटी एक्सप्रेस मनी ट्रान्सफरबाट प्रस्ताव आयो- रेमिट्यान्सको इकोसिस्टमलाई वालेटमा जोड्ने । ठूलो मात्रामा रेमिट्यान्स भित्रिरहेको र त्यसमार्फत ठूलो व्यवसाय गर्न सकिने अवधारणासहित उनले सिटी वालेट प्रालि (ब्राण्ड नाम सिटी पे) सञ्चालनमा ल्याए । एक दशक बैंकिङ गरेका रेग्मी बैंक र वालेट विश्वासमा आधारित व्यवसाय रहेको बताउँछन् । दुइटैले जनताको पैसालाई सुरक्षित राख्ने र चाहेको बखतमा भुक्तानी गर्छन् । उनका अनुसार हरेक ग्राहकलाई विश्वास दिलाउन सक्नुपर्छ । तर, विगतमा बैंकको सञ्चालन अवधि फिक्स (स्थिर) हुन्थ्यो । बिहान १० बजेबाट बेलुका ४/५ बजेसम्म कार्यालय सञ्चालन हुन्थ्यो । त्यसपछिको समयमा बैंकिङ कारोबार नभएपनि हुन्थ्यो । तर, अहिले रातिको १२ बजे भुक्तानी गर्न पाएन भने विश्वसनीयतामा आँच आउन सक्ने रेग्मी बताउँछन् । विश्वासका आधारहरू भुक्तानी प्रणालीमा आउँदै गर्दा २४सै घण्टा होसियार हुनुपर्ने, सेवा सुविधालाई चुस्तदुरुस्त बनाउनुपर्ने र साइबर अट्याकसँग जोगिनुपर्ने उनको भनाइ छ । वालेटहरूमा सबैभन्दा कान्छो सिटी पे डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीभन्दा कसरी पृथक छ ? सिटी वालेटमा ग्राहकले पाउने सुविधा के-के हुन् ? लागत घट्यो की घटेन ? लगायत विषयमा सीईओ रेग्मीसँग विकासन्युजका लागि सीआर भण्डारीले गरेको कुराकानीको अंश: बैंकमा कर्मचारीको हैसियतमा काम गर्नुपर्थ्यो । अहिले कम्पनीको नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । कर्मचारीको हैसियतमा काम गर्दा र नेतृत्वदायी भूमिकामा काम गर्दा कस्तो अनुभूति भइरहेको छ ? कुनै पनि भूमिका सानो र ठूलो हुँदैन । म कर्मचारीको हैसियतमा काम गर्दै गर्दा निश्चित भूमिकालाई पूर्ण कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी थियो । बैंकको एउटा विशेष विभागलाई कसरी ह्याण्डल गर्ने, कसरी कारोबार बढाउने, कसरी आम्दानी वृद्धि गर्ने भूमिकामा थिए । तर, अहिले वालेट कम्पनीको नेतृत्वमा रहँदा व्यापार व्यवसाय बढाउने मात्रै नभई समग्र विषय हेर्नुपर्ने हुन्छ । सरकारका सम्पूर्ण ऐन, कानुन, लेखा सिद्धान्त, प्रक्रिया, नेपाल राष्ट्र बैंकले जारी गरेका भुक्तानीसँग सम्बन्धित ऐन, नियम, नियमावली, निर्देशन र सर्कुलर अनुपालन गर्नुपर्ने हुन्छ । साथै, अनुपालन गराउनका लागि टिमलाई तयार बनाउने र परिचालन गर्नुपर्ने हुन्छ । त्यसकारण यहाँ केही जिम्मेवारी थपिएको महसुस हुन्छ । जबकि बैंकमा हुँदा एउटा विभाग मात्रै लिड (नेतृत्व) गरेको थिए । सिटी पेका सीईओ विनय रेग्मी बाहिरबाट हेर्दा वालेट कम्पनीहरू सहज रुपमा चलिरहेका देखिन्छन् । किराना पसलदेखि ठूलठूला कारोबार पनि क्यूआरबाट भुक्तानी भइरहेका देखिन्छन् । जसबाट पनि सहजै अनुमान गर्न सकिन्छ की वालेटको व्यवसाय बढेको छ । तर, वालेट कम्पनीका व्यवस्थापक तथा सञ्चालकहरूले घाटामा चल्नु परेको गुनासो गर्नुहुन्छ । तपाईंको अनुभवमा कसरी चलिरहेका छन् वालेटहरू ? भुक्तानी सेवा प्रदायक (वालेट)को मुख्य काम भुक्तानी हो । कुनै एक व्यक्तिले संस्था (मर्चेन्ट) मा भुक्तानी गर्ने वा एउटा संस्थाबाट अर्काे संस्थामा भुक्तानी गर्ने कार्य वालेट कम्पनीहरूले गरिरहेका छन् । वालेट कम्पनीहरूले दैनिक करोडौं पटक र अर्बाैं रुपैयाँ बराबर कारोबारको प्रोसेस गरिरहेका छन् । वार्षिक ९६ प्रतिशत कारोबारमा वृद्धि भइरहेको छ । तर, एक/दुई वटा संस्थाबाहेक धेरैवटा संस्था नाफामा पुग्न सकेका छैनन् । किनकि सबै कम्पनीले एकै प्रकारको कार्य गर्दा उच्च प्रतिस्पर्धा भयो । साथै, वालेट कम्पनीहरूले संकलन गरिरहेको रेभिन्यू (आम्दानी) पनि रेगुलेटेड छ । आजको दिनमा कुनै पनि कारोबार १० रुपैयाँसम्मको फ्रेमवर्कमा रहेर गर्नुपरेको छ । करोडौंको संख्यामा कारोबार गरिरहँदा ४/५ रुपैयाँ मार्जिन राख्न सकिन्छ । जस्तो सिटी पेले एक वर्षमा ४ करोडको कारोबार गर्दा ५ रुपैयाँ मार्जिन राखेको छ भने २० करोडको आम्दानी हुन्छ । तर, भुक्तानी सेवा प्रदायक कम्पनीको प्रणालीमा नियमित खर्च पनि गर्नुपरेको हुन्छ । डिजिटल पूर्वाधार बनाउनुपर्ने, सुरक्षामा लगानी गर्नु पर्ने लगायत भेरियबल कस्ट ठूलो छ । यही कारण वालेट कम्पनीहरू नाफामा जान नसकेको हुन् । तर, हामीले भ्यालू कति बचत गरेका छौं भन्ने मुख्य विषय हो । ५ वर्ष पछाडि फर्केर हेरौं, कोरोनाभन्दा अगाडि मेरै गाउँ म्याग्दीमा बिजुली बिल तिर्न बेनीको बजार जानुपर्थ्यो। बिजुलीको बिल तिर्न बस भाडा तिरेर घन्टौं समय व्यतीत गर्नुहुन्थ्यो र ५ सय रुपैयाँको बिजुलीको बिल तिर्नुहुन्थ्यो । तर, आजको दिनमा त्यही बिजुलीको बिल ५ रुपैयाँमा भुक्तानी गर्न सकिएको छ । प्रत्यक्ष रुपमा हाम्रो ब्यालेन्ससिटमा प्रभाव नदेखिएता पनि समग्र अर्थतन्त्रमा ४ करोड कारोबारले अर्बाैं रुपैयाँ बराबरको बचत गराएको छ । त्यो अर्बाैं रुपैयाँ बचतको केही फाइदा पाउने कुनै पनि प्रावधान बनेको खण्डमा सम्पूर्ण भुक्तानी सेवा प्रदायकहरू नाफामा रहन सक्छन् । वालेट प्रयोगले लागत कम भयो, समयको बचत गरायो । जसरी डिजिटल कारोबारमा विकास भएको छ, त्यसरी वालेट कम्पनीहरू किन विकास हुन किन सकेनन् ? नेपालको अर्थतन्त्र विकासमा निजी क्षेत्रको योगदान सराहनीय छ । विगतमा नियमन नहुँदा फरक किसिमले मूल्याङ्कन हुन्थ्यो । विस्तारै नियमनको दायराभित्र रहेर काम गर्नुपरेको छ । क्रिप्टो, ब्लकचेन जस्ता प्रविधि बजारमा आइसकेका छन् । हामीलाई नियामकले त्यो क्षेत्रमा जानु हुँदैन भन्नु भएको छ । तर, कतिपय ठाउँमा बाध्यता पनि छ । डिजिटल पूर्वाधार, नियामकीय पूर्वाधार, केवाईसी पूर्वाधारमा सरकार पछि छ । तर, भुक्तानी सेवा प्रदायक कम्पनीहरूले सेवा दिन थाले । गलत मान्छेले कारोबार गर्दै गर्दा मान्छेहरू फस्न सक्ने ठाउँहरू प्रशस्त रहन्छन् । अहिलेको ग्रोथसँग नयाँ इनोभेसनमा जानुभन्दा पहिला पूर्वाधार तयार हुनुपर्छ । यदि पूर्वाधार तयार नभएको अवस्थामा हामी दुर्घटनातर्फ पनि जान सक्छौं । त्यसैले हामी सम्हालिएर काम गर्नु परेको छ । वालेट कम्पनीमार्फत अर्बाैंको कारोबार भइरहँदा २/३ वटा वालेट कम्पनीबाहेक अन्य सबै वालेट कम्पनी घाटामा छन् । किन अन्य कम्पनीहरू नाफामा जान सकेनन् ? काठमाडौंमा पनि कारोबारमा १० रुपैयाँ र जुम्लाको मान्छेलाई पनि १० रुपैयाँ लिँदा पूर्वाधार हेर्नुपर्छ । जुम्लामा हुने कारोबारको लागत काठमाडौंको भन्दा महँगो छ । जुम्लामा वालेटले १० रुपैयाँमा कारोबार गर्नुपर्छ भने सरकारले केही सहजीकरण गर्नुपर्छ । भारतमा जुनबेला क्यूआर भुक्तानी लागू भयो, त्यतिबेला जनताहरूसँग पैसा थिएन । भारत सरकारले भुक्तानी सेवा प्रदायक कम्पनीहरूलाई सहजीकरण गरेको थियो । त्यसैले नेपालमा पनि राहत दिनुपर्छ । अथवा लागतका आधारमा मूल्य तोकिनुपर्छ । यसो भन्दैमा जहाँ गाह्रो छ, त्यहाँ उच्च मूल्य लिनुपर्छ भनेको होइन । तर, मान्छेहरूलाई भ्यालूएबल लाग्नुपर्याे । जस्तो मैले कुनै प्रडक्ट लिएको छु भने १० रुपैयाँ खर्च गरेको छु है भन्ने अनुभूति हुनुपर्छ । त्यसरी ग्राहकलाई अनुभूति गराउन खोजेको हो र मूल्य पनि सोही अनुरूप निर्धारण गर्न सकियो भने वालेट कम्पनीहरू नाफामुखी बन्ने अवसर छ । जुन पूर्वाधार बनाउन हामीले खर्च गरेका छौं, त्यो पूर्वाधारमा गरेको खर्च र डिजिटलमा सक्रिय जनसंख्या सन्तुलन छैन । आजका दिनमा ए भन्ने मान्छेले बि भन्ने मान्छेलाई भुक्तानी मात्रै गर्ने काम भइरहेको छ । तर, मैले वालेटबाट भुक्तानी मात्रै गराउन सक्दिनँ, विभिन्न सेवा सेवासुविधाहरु बिक्री गर्न सक्छु । जस्तो मार्केटिङ, विज्ञापन लगायतको काम पनि एउटै माध्यम बन्न सक्छ । अथवा कर्जा प्रवाह गर्न सक्ने माध्यम पनि बन्न सकिन्छ । हरेकको हात हातमा मोबाइल हुँदा र भविष्यमा क्रेडिट स्कोर आएको खण्डमा हरेक व्यक्तिलाई लगानी गर्न सक्ने माध्यम वालेट बन्न सक्छन् । अथवा वालेट कम्पनीमार्फत सेयर बजारमा लगानी गर्न सक्ने उपकरण ल्याउन सकिन्छ । यी विकास हुँदै गर्दा हाल कायम ग्राहक संख्या र मूल्यका आधारमा रहेर पनि वालेटले नाफा गर्न सक्छन् । हामीसँग तीनवटा विकल्प छन्, मेनू थप्ने, शुल्क वृद्धि र दायरा बढाउने । पहिलो नीतिगत संरचनामा परिवर्तन गरेर हाल कायम मेनू खुला राख्न सकिन्छ । दोस्रो हाल कायम भइरहेको शुल्कलाई थोरै बढाउन सकिन्छ । यदि नीतिगत संरचनामा परिवर्तन नगर्ने हो भने शुल्क वृद्धि गरेर भ्यालूबेस प्राइसिङ गर्न सकिन्छ । तेस्रो वालेट कम्पनीहरूको कार्यक्षेत्र बढाउन सकिन्छ । यदि मेनू नथप्ने र शुल्क वृद्धि नगर्ने हो भने वालेटको कार्यक्षेत्र बढाउन सकिन्छ । आजको दिनमा वालेट कम्पनीहरूले नेपालमा मात्रै सेवा दिइरहेका छन् । अब नेपाल बाहिर पनि सेवा दिने गरी काम गर्न सकिन्छ । किनभने ठूलो जमातलाई हामीले समेट्न सक्नुपर्छ । यी तीन वटा विषयमा अगाडि बढ्न वालेट कम्पनीहरूले के गरिरहेका छन् ? हामीले भुक्तानी सेवा प्रदायकहरूले एउटै प्लेटफर्ममा रहेर काम गर्नका लागि भुक्तानी सेवा प्रदायक संघ दर्ता गराएका छौं । भुक्तानी सेवा प्रदायकको कार्य क्षेत्र वृद्धिका लागि पहल भइरहेको छ । किनभने शुल्क वृद्धि गर्नु अन्तिम समाधान होइन । त्यसैले उपयुक्त समयमा नै कार्य क्षेत्र वृद्धि गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । वालेटको कार्य क्षेत्र वा दायरा वृद्धि गर्न सरोकारवाला निकायमा पुगेर मागहरु राखिरहेका छौं । साथै हामीले के-के गर्न सक्छौं, के–के सम्भव छन् भन्ने विषय संघमार्फत नियामक माझ पुगिरहेका छौं । संघको मुख्य उद्देश्य मेनु बढाउने पनि रहेको छ । मेनुमा थप्नु पर्ने के-के हुन् ? दायरा कति बढाउनु पर्ने हो संख्यात्मक र भ्यालूका आधारमा हामी विदेशमा जानुपर्ने आवश्यकता छ । हालै सरकारले आईटी कम्पनीलाई विदेशमा पनि काम गर्न सक्ने नीतिगत व्यवस्था गरेको छ । भुक्तानी सेवा प्रदायक कम्पनीहरू पनि विदेशमा नेपालीहरूलाई सेवा दिन तयार छन् । नेपालमा २४ लाख जनसंख्या मात्रै काम गर्ने जनशक्ति रहेको तथ्याङ्क छ । त्योभन्दा ठूलो संख्यामा नेपालीहरू विदेशमा कार्यरत हुनुहुन्छ । उहाँहरूका भुक्तानीका आवश्यकता पूर्ति गर्न हामी देशभन्दा बाहिर पनि जानुपर्छ । हामी प्राविधिक रुपमा पनि सक्षम छौं । विदेशमा रहेका कम्पनीसँग प्रतिस्पर्धा गर्न सबल छौं । विभिन्न तथ्याङ्कका आधारमा ७०/८० लाख नेपाली विदेशमा कार्यरत हुनुहुन्छ । आजको दिनमा विदेशमा वालेट चलाउन सक्ने अवस्था छैन । नेपालका नियामकले विदेशमा पनि काम गर्न खुला गर्ला । तर, जुन देशमा गएर सेवा दिनुपर्ने हो त्यो देशमा पनि नियामकीय दायराभित्र बस्नु पर्ने आवश्यकता हुन सक्छ । यो भनेको अप्ठ्यारो परिस्थिति हुन सक्छ । त्यो देशले लाइसेन्स दिन्छ की दिँदैन भन्ने विषय फरक हो । वालेट प्रयोगकर्ताहरू नेपालमा कति छन् र विदेशमा कति छन् ? करिब २ करोड ७० लाख ग्राहकहरूले आजको दिनमा विभिन्न वालेट चलाइरहेका छन् । जुन कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी हो । तर, एउटै ग्राहकले ३/४ वटा वालेट चलाइरहेका पनि छन् । हामीसँग विद्यार्थी र रोजगारमा रहेका मान्छेहरूको एउटा जमात छ । १८ वर्ष मुनी र वृद्धहरुको जमात भुक्तानी सेवा प्रदायकको क्षेत्राधिकारभित्र पर्दैनन् । वृद्धहरूले चलाउन सक्नुहुन्छ तर, सीमितले मात्रै चलाइरहनु भएको छ । विदेशमा रहेका नेपालीहरू भुक्तानी सेवा प्रदायकमा कहीँ न कहीँ आबद्ध हुनुहुन्छ । उहाँहरूले कुनै न कुनै उपकरण चलाइरहनु भएको छ । विदेशमा विदेशी एपहरू चलाइरहनु भएको छ । नेपाली वालेटले विदेशी लाइसेन्स लिएर सिमलेस रेमिट्यान्सको लागि काम गर्न सक्छन् । बजारमा दुई दर्जनभन्दा बढी वालेट कम्पनीहरू सञ्चालनरत छन् । कान्छो कम्पनीका रूपमा दर्ता भइरहँदा सिटी पे किन प्रयोग गर्ने ? अन्य वालेट कम्पनीभन्दा सिटी पे कसरी फरक छ ? सिटी एक्सप्रेस मनी ट्रान्सफरका आफ्नै ३० लाख भन्दा बढी ग्राहक हुनुहुन्छ । उहाँहरूको विभिन्न वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यसहित सिटी पे सञ्चालनमा आएको हो । सिटी एक्सप्रेस मनी ट्रान्सफरको १ सय प्रतिशत लगानी रहेको सहायक कम्पनी हो । सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत आउने रेमिट्यान्सलाई नयाँ रुपमा भित्र्याउने अवधारणा सिटी पेको मुख्य इनोभेसनको पार्टमा छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत आउने रेमिट्यान्सको मोडालिटी परिवर्तन गरिरहेका छौं । जुन हाम्रा ग्राहकले अनुभव पनि गर्नु भएको छ । विगतमा रेमिट्यान्स नगदमा बुझिन्थ्यो, त्यसपछि बैंक खातामा आउन थाल्यो । अहिले पर्पसफूल (उद्देश्यमूलक) रेमिट्यान्स भनिन्छ । रेमिट्यान्स किन आइरहेको छ ? कुन उद्देश्यका लागि आइरहेको छ ? त्यो उद्देश्यमा प्रत्यक्ष रेमिट्यान्स पठाउने गरी सिटी पे सञ्चालनमा आएको हो । जुन उद्देश्यका लागि रेमिट्यान्स आएको हो, सोही उद्देश्यमा पुर्याउने अवधारणासहित सिटी पेलाई अगाडि बढाइरहेका छौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गर्ने काम सिटी पे वालेटले गर्छ भन्नु खोज्नु भएको हो ? सिटी एक्सप्रेस मनी ट्रान्सफरले गर्ने काम वालेटले गर्ने होइन । रेमिट्यान्स नगद र बैंकमा बचत गर्नका लागि आउने होइन । भुक्तानी, बचत, लगानी, ऋण तिर्ने उद्देश्य हुन सक्छ । विगतमा एउटै ठाउँमा कारोबार हुन्थ्यो । तर, अब एउटा कारोबार ४/५ ठाउँमा हुन सक्ने भयो । कुन उद्देश्यका लागि रेमिट्यान्स पठाएको छ, सो उद्देश्यमा त्यो रेमिट्यान्स रकम खर्च भयो कि भएन भनेर सिटी पेले ढुक्क गराउँछ । कुनै एक जनाले रेमिट्यान्स पठाउँदा सुरुमा वालेटमा पैसा आउँछ । त्यो वालेटबाट कुन–कुन क्षेत्रमा रकम गइरहेको छ भन्ने स्पष्ट तथ्याङ्क रहन्छ । साथै प्रत्यक्ष रूपमा मर्चेन्टहरूमा भुक्तानी गर्न सक्ने गरी प्रणालीको विकास बनेको छ । सिटी पे हाल के-के काम गरिरहेको छ ? सिटी पेले भुक्तानीको काम गरिरहेको छ । माइग्रेसन इकोसिस्टम (वैदेशिक रोजगारी, वैदेशिक अध्ययन)सँग जोडिएका व्यक्तिहरूको पहिलो रोजाइको वालेट बन्ने हाम्रो उद्देश्य हो । त्यसकारण कोही पनि मान्छे नेपालबाट विदेश र विदेशबाट नेपाल आउँदासम्म आवश्यक पर्ने भुक्तानी परिपूर्ति गर्ने काम सिटी वालेटमा सिस्टम बनाइएको छ । जस्तो कुनै मान्छेले विदेश पढ्न जाने योजना बनाएको छ । त्यो मान्छेलाई आइईएलटीएसको कक्षा लिनुपर्याे भने आइईएलटीएसको बुकिङको लागि सिटी पे वालेट एउटा माध्यम बन्न सक्छ । यस्तै, वैदेशिक रोजगारीका लागि विदेश जानुपर्याे भने अन्तर्राष्ट्रिय उडानका लागि सेवा सुविधा लिन सकिन्छ । विदेशमा गईसकेपछि नेपालमा रेमिट्यान्स पठाउनुपर्याे भने त्यो सुविधा सिटी पे वालेटमा छ । रेमिट्यान्स आइसकेपछि भुक्तानी गर्न सकिन्छ । जस्तो खानेपानी, विद्यालय लगायत बहु क्षेत्रमा भुक्तानी गर्न सकिने प्लेटफर्म छन् । कुनै ठाउँमा सपिङ गर्नु भयो भने क्यूआर भुक्तानी गर्न सकिन्छ । एउटा वालेट कम्पनीले दिनुपर्ने सम्पूर्ण प्रडक्ट हामीसँग छ । साथै, विदेश जान चाहने र विदेशबाट आउने ग्राहकहरूलाई चाहिने थप सुविधाहरू वालेटमार्फत दिइरहेका छौं । सिटी वालेटबाट भुक्तानी गर्दा ग्राहकको लागत कम भयो ? विगतमा एउटा रेमिट्यान्स भुक्तानी गर्दा करिब २/३ डलर बराबर शुल्क लाग्थ्यो । आजको दिनमा ती शुल्कहरु घटेर शून्यमा झरेका छन् । यो सम्भवको मुख्य श्रेय डिजिटल भुक्तानी प्रदायक सेवा कम्पनीलाई जान्छ । विगतमा विदेशबाट पैसा पठाउँदा एजेन्ट वा काउन्टरमार्फत पठाउनु पर्थ्यो । अहिले ती काउन्टर र एजेन्टलाई त्यहाँका एप्लिकेशनले रिप्लेस गरे । नेपालमा पनि विगतमा एजेन्ट वा काउन्टरमार्फत पैसा भुक्तानी लिने प्रावधान थियो । अब त्यसको सट्टा सिधै वालेटमा पैसा आइरहेको छ । कोही पनि व्यक्तिले नि:शुल्क सेवा पनि दिनु हुँदैन । त्यो सेवा दिँदै गर्दा कुनै न कुनै शुल्क हुनुपर्छ । तर, आजकल रेमिट्यान्सको मध्यममा इन्ड टु इन्ड डिजिटल कारोबार भइरहँदा कारोबारको रकम घटेको छ । कारोबारको शुल्क घटेको छ भने कारोबार गर्दा लाग्ने समय पनि घटेको छ । २४सै घण्टा जुनसुकै समयमा पठाएको पैसा प्राप्त गर्न सकिने भएकाले छिटोछरितो, सस्तो र भरपर्दाे रेमिट्यान्स सेवा वालेटबाट सम्भव भएको छ । सिटी पेका ग्राहकहरू कति छन् र दैनिक कतिको कारोबार भइरहेको छ ? सिटी पे सञ्चालनमा आए यता डेढ लाख ग्राहक आबद्ध हुनु भएको छ । हामी सेवा सुविधालाई वृद्धि गर्ने क्रममा रहेकाले प्रमोशन स्किममा गएका थिएनौं । अब हाम्रा सेवा सुविधाका बारेमा ग्राहकहरूलाई जानकारी दिने समय आएको छ । नेपालमा भएका सम्पूर्ण मर्चेन्टहरूमा भुक्तानी गर्न फोन पे, नेपाल पे, स्मार्ट क्यूआरसँग सहकार्य गरेका छौं । र, अब ग्राहकहरूले निर्धक्कका साथ सिटी पे वालेट प्रयोग गर्न सक्नुहुन्छ । सिटी पेमा कारोबारको संख्या वृद्धिको क्रममा रहेको छ । आजको दिनमा १०/१५ हजार पटक कारोबार दैनिक भइरहेका छन् । हामीले ३० लाख ग्राहक माझ सिटी वालेट पुर्याउने लक्ष्य लिएका छौं । डिजिटल प्रविधिको विकाससँगै डिजिटल वालेटमा विकृति पनि बढेको देखिन्छ । वालेटहरू डिजिटल ठगीको माध्यम बनिरहेका छन् । गैरकानुनी काम गर्ने माध्यम वालेट कसरी बने ? विगतमा चोरहरू घरमा गएर ताला फोडेर सुन, नगद, चोर्थे । पकेट मारले पकेट लुट्थे । तर, त्यतिबेला ठगीका घटना अहिलेको जस्तो बाहिर आउँदैनथे । कति रकम ठगी भयो ? कसलाई उजुरी हाल्ने भन्ने अन्योलता थियो । त्यसैले विगतमा यस्ता घटना खासै बाहिर आउँदैनथे । तर, आजको दिनमा चोरी, ठगी भएपछि गुनासो, उजुरी मोबाइलबाटै गर्न सकिन्छ । त्यसकारण साइबर ठगीका घटनाहरू बढी देखिएका हुन् । जसरी टेक्नोलोजीज बढ्दै जान्छ, चोरी ठगीको विकास पनि सोही अनुसार बढ्दै जान्छ । मान्छेहरू लोभ, प्रलोभनमा परेर, डर, धम्की, त्रासका कारण ठगीमा परिरहेका हुन्छन् । तर, डिजिटल कारोबार हुँदै गर्दा ठगहरू विदेशको कुनै कुनामा बसेर नेपालमा ठगी गरिरहेका छन् । यसका लागि सम्पूर्ण भुक्तानी सेवा प्रदायकहरू, सञ्चालक, बैंक तथा वित्तीय संस्थाहरू एकीकृत रुपमा काम गरेर प्रोटेक्सन गर्न जरुरी छ । ठगीका प्रकृति परिवर्तन भएका हुन् । आज मात्रै ठगी भएका होइनन् । विगतमा पनि ठगी थिए, आज पनि छ र भोलि पनि रहन सक्छ । तर, जनचेतनाको कमीका कारण ठगी हुने गरेका छन् । जस्तो सेयर बजारमा कारोबार गर्न राम्रो टिप्स दिने भन्दै एसएमएस आउँछ । कहाँबाट आएको हो ? कस्तो लिंक हो ? त्यो नहेरिकन क्लिक गर्नुहुन्छ । त्यो एका क्लिकले ठगीको लागि प्रशस्त ढोकाहरु खुृला हुन्छन् । यस्ता विषयमा जनचेतना बढाउन सकियो भने ७०/८० प्रतिशत ठगीका घटना कम हुन्छन् । यस्तै, २/३ लाख रुपैयाँ पर्ने आइफोन १७/१८ हजार रुपैयाँमै बिक्रीमा राखिएको हुन्छ । लोभमा परेर पैसा पठाउँछ न उसले आईफोन पाउँछ न पैसा नै । १७/१८ हजार रुपैयाँमा आईफोन आउँछ कि आउँदैन भनेर बुझ्न जरुरी छ । यदि त्यो आइरहेको छ भने किन आउँदैछ ? भन्ने प्रश्न आफैले आफैलाई गर्न सक्यो भने त्यो प्रश्नको उत्तरले ठगीका घटना घटाउँछ । सामान्यतया ठगीमा जीआईएफ भनिन्छ । जी भनेको ग्रिड (लोभ), आई भनेको इन्फ्ल्यून्स (प्रभाव) र एफ भनेको फोर्स (धाकधम्की, दबाब) । त्यसैले वालेट कम्पनी ठगीको माध्यम बनेका होइनन् । वालेटको च्यानल प्रयोग गरेर ठगी गरिरहेका छन् । हालै ठूला वालेट कम्पनीहरू मर्ज भए । साथै, फिनटेकमा ठूला व्यवसायी तथा कर्पोरेट हाउसको प्रवेश पनि बढेको छ । मर्जर र ठूला घरानाको प्रवेशले फिनटेक क्षेत्रलाई कस्तो प्रभाव पर्छ ? फिनटेक सेक्टरमा आजलाई भन्दा पनि भविष्य हेरेर लगानी गर्ने हो । कुनै न कुनै नियामकीय प्रावधानले हामीलाई नयाँ व्यवसाय बनाउन अवसर दिन्छ भन्ने सोचले नयाँ घरानाहरु भित्रिनु भएको हो । जसरी प्रविधिको विकास भइरहेको छ सोही अनुसार नियमन पनि बढ्दै जान्छ । र यसले नयाँ ढोका खोल्छ । यो विषय व्यावसायिक घराना र भुक्तानी सेवा प्रदायक, सञ्चालकहरूले बुझेर नै लगानी गर्नु भएको हो । सिनर्जी देखेर दुइटा संस्था मर्ज हुनु स्वागतयोग्य छ । यदि काम गर्दा लाग्ने प्रविधिको लागत कम हुन्छ, बजारीकरणको खर्च घट्छ र लागत घटाएर व्यवसायलाई मल्टिपल गर्न सकिन्छ वा १ रुपैयाँ खर्च बढाएर ३ रुपैयाँ रेभिन्यू बढाउन सकिन्छ भने मर्जर पनि स्वागतयोग्य कदम हो । वालेट कम्पनीहरूले कहिलेदेखि प्रतिफल बाँड्न सक्छन् ? विगत २/३ वर्षदेखि केही वालेट कम्पनीले प्रतिफल बाँड्न सफल भइसके । अन्य कम्पनीलाई पनि प्रतिफल बाँड्न प्रविधिमा गरेको लगानीलाई रिकभर गर्नुपर्ने हुन्छ । प्रारम्भिक चरणमा प्रविधिमा ठूलो लगानी गर्नुपर्ने हुन्छ । वालेट बजारमा आउँदासम्म प्रविधि, जनशक्ति लगायतमा ठूलो खर्च भएको हुन्छ । र, दोस्रो चरणमा धेरै भन्दा धेरै जनतामा सिस्टमलाई चलाउन सक्ने बनाउनुपर्छ । प्रविधि र ग्राहक अनबोर्डिङ भइसकेपछि तेस्रो चरण भनेको रेभिन्यूको हो । सामान्यता टेक्नोलोजी इण्डस्ट्रीमा ४/५ वर्षको अवधिलाई बर्थिङ फेज (प्राम्भिक चरण) भनिन्छ । अहिले अधिकांश कम्पनीहरू बर्थिङ फेजमा छन् । २/३ वटा कम्पनी बर्निङ फेज सकाएर रेभिन्यू ग्रोथ फेजमा रहेका छन् । हामी पनि ग्राहकलाई प्रयोग गर्नेतर्फ लागि रहेका छौं । अबको एक/दुई वर्षपछि लाभांश दिन सक्छौं।
नेपाललाई शिक्षामा ‘ग्लोबल हब’ बनाउन सकिन्छ, सडकमा गरिने प्रदर्शन समस्या समाधान होइन
नेपालको शिक्षा प्रणालीका विषयमा अहिले विभिन्न व्यक्तिका विभिन्न किसिमका धारणाहरू आइरहेका छन् । एकले शिक्षा प्रणाली नै ध्वस्त छ भनिरहेका छन् भने अर्को पक्षले सुधारको प्रयासमा गइरहेको बताइरहेका छन् । केही व्यक्तिहरू भने अब नेपालको शिक्षालाई विकास गरी नेपाललाई विश्वकै शैक्षिक हब बनाउनुपर्ने धारणा राखिरहेका छन् । नेपाललाई शिक्षाको हब बनाउन सकिन्छ भन्नेहरुमध्ये एक पात्र हुन् कर्णबहादुर शाही । सान इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक एवं नेशनल प्याब्सनका पूर्वअध्यक्ष कर्णबहादुर शाहीसँग नेपाललाई कसरी शैक्षिक हब बनाउन सकिन्छ ? विद्यालय शिक्षा विधेयकप्रति शिक्षकहरूको असन्तुष्टि किन हो ? भन्ने लगायत विषयमा विकासन्युजका लागि इन्द्रसरा खड्काले कुराकानी गरेकी छन् । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरू विरोध गरिरहेका छन्, यस विषयमा यहाँको धारणा के हो ? विद्यालय शिक्षा विधेयक ५४ वर्षपछि नयाँ आउँदैछ । यतिका वर्षपछि आउँदै गरेको विधेयकले अबको ५४ वर्षपछि नेपालको शिक्षा प्रणालीलाई गाइड गर्न सक्ने हुनुपर्छ । यो बलियो र सबै कुरा समेटिएको हुनुपर्छ । निजी क्षेत्रमात्र होइन, नेपाल शिक्षक महासंघ पनि यतिबेला आन्दोलनमा छ । निजी विद्यालयको हकमा जुन विषयमा हामीले असन्तुष्टि जनाइरहेका छौं सबै कुराहरू राज्यले सुन्नुपर्छ । राज्य कहिल्यै पनि निजी क्षेत्रलाई स्वीकार गर्न चाहँदैन । मुखले भन्ने र व्यवहारले गर्ने काम जहिले फरक रहन्छ । यो कुरा प्रष्ट विद्यालय शिक्षा ऐनले पनि देखाएको छ । नेपाल शिक्षक महासंघ र निजी क्षेत्रका शिक्षक पनि सडकमा छन्, सडक नै समाधानको बाटो हो ? पक्कै होइन । हामी सडक होइन, संवाद र छलफलमार्फत समाधान खोज्न सक्छौं । छलफल र सहकार्यको माध्यमबाट यस्ता कुरा मिलाउन सकिन्छ । मानव विकासको इतिहासलाई पल्टाएर हेर्यौं भने मान्छेले आफ्नो अधिकारको लागि संगठन बनाउँदै आएका छन् । तर हामी त्यसमा अड्को थापेर बस्न हुँदैन । सहमति, सहकार्य र समझदारी गर्दै अगाडि बढ्नुपर्छ । विद्यालय शान्ति क्षेत्र भनेर हिजोको द्वन्द्वको बेलामा आवाज उठाउने व्यक्ति हामी नै हौं । अहिले हामी नै सडकमा जान उचित हुँदैन । हामी बौद्धिक वर्ग हौं । ऐनमा चित्त नबुझेका विषय के हुन् ? शिक्षा विधेयकमा निजी क्षेत्रका विषयमा दोहोरो मापदण्ड छ । निजी क्षेत्रमा अहिले ३४ प्रतिशत विद्यार्थी अध्ययनरत छन् । यो भनेको धेरै ठूलो संख्या हो । आज शिक्षामा सरकारको ढुकुटीबाट २ सय अरबभन्दा बढी खर्च हुन्छ । त्यसले ६६ प्रतिशतलाई मात्रै ओगट्न सकेको छ । राज्यको संविधानकै कुरा गर्ने हो भने अनिवार्य र निःशुल्क शिक्षा भनेर भनेर घोषणा गरिएको छ । तर सबैलाई दिन सकेको छैन । आज निजी क्षेत्रले जुन विज्ञता अथवा दक्षता हासिल गरेको छ, एउटा पूर्वाधार बनेको छ, यो त मुलुककै पूर्वाधार हो । मैले इंगित गर्न खोजेको कुरा के हो भने निजी क्षेत्रको सहभागिताले राज्यलाई नै सहज बनाएको छ । तर हाम्रो राज्यले यस्तो कुरा देख्दैन । नेपाललाई शैक्षिक हब बनाउनु पर्छ भनेर आवाज उठाउँदै आउनुभएको छ, के–कस्तो सम्भावना देख्नु भएको छ ? यहाँ धेरै कुरामा सम्भावना छन् । धेरै कमी कमजोरी हुँदै गर्दा पनि शिक्षा, सूचना र प्रविधिको क्षेत्रबाट हामीले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने नागरिक बनाउन सक्छौं । विश्वका कतिपय मरुभूमि देशहरू कृषिको हब बनेका छन् । हाम्रो त जियोग्राफी हेर्ने हो भने ४० डिग्री सेल्सियसमा बसेको मान्छे २०/२५ किलोमिटर माथि जाँदा २० डिग्री सेल्सियसमा पुगिन्छ । शिक्षामा नेपाललाई ग्लोबल हब बनाउन सक्छौं भन्ने मेरो विश्वास छ । नेपाली विश्वविद्यालयमा विदेशका विद्यार्थीहरू आउनेमा आशावादी हुनुहुन्छ ? सीमा क्षेत्रका धेरैजसो विद्यालयमा अहिले विदेशी विद्यार्थी अध्ययन गरिरहेका छन् । पाल्पाको रेसिडेन्सियल स्कुलमा बिहारका बच्चाहरू पढ्छन् । बर्मा र चिनियाँ नागरिकले नेपालका अंग्रेजी राम्रो पढाइ हुन्छ भनेर बच्चाहरूलाई नेपाल पढाइरहेको पनि भेटेको छु । विस्तारै अन्य देशका विद्यार्थीहरू पनि आउँछन् तर यसका लागि राज्य र निजी क्षेत्र दुवैको उत्तिकै सक्रियता चाहिन्छ । विद्यालय शिक्षामा मात्र किन ? विद्यालय शिक्षा भनेको जग हो । जग बलियो भयो भने माथि सहज हुन्छ । शिक्षामा जग भनेको विद्यालय शिक्षा हो । पहिले विद्यालय शिक्षाका केन्द्रित रहेर काम सुरु गरौं त्यसपछि उच्च शिक्षाको कुरा पनि विस्तारै गर्न सकिन्छ । ग्लोबल शिक्षा दिन कस्तो पाठ्यक्रम कस्तो हुनुपर्छ ? हामीसँग यो संसारलाई नै गाइड गर्न सक्ने ‘वसुदैव कुटुम्बकम’ भन्ने दर्शन छ । यो दर्शनअन्तर्गत जीवनसँंग काम लाग्ने विषयवस्तु दिन सक्छौं । जस्तो तपाईंले संस्कृत भाषाका स्लोकहरू कण्ठ गर्नुभयो भने जिब्रो फड्कारर बोल्न सकिन्छ । यसले स्वरमा शुद्धता ल्याउँँछ । त्यो भोइस थेरापी हो । त्यस्तै, भागवत गीताको प्रत्यक श्लोकको बारेमा शिक्षा दिन सक्छौं । हामीले सोध्नुपर्ने जान्नुपर्ने सबै कुरा सबै एआइले भनिदिन्छ । तर यहाँ जान्नुपर्ने कुरा भनेको एट्टिच्युड हो, बानी व्यवहार हो, बोलीचाली र संस्कार हो । यो कुरा हाम्रो पूर्वीय दर्शनले दिएको छ । आहार/विहार योगको कुरा छ । यी सबै कुरालाई जोडेर पूर्वीय दर्शन अ फ्युजन अफ इस्टर्न एण्ड वेस्टर्न फिलासफी अफ लाइफ हामीले दिन सक्छौं । अहिलेको एक्काइसौं शताब्दी लर्निङ एआई र यताको पूर्वीय दर्शनको संस्कार यो दुईटालाई तपार्इंले जोड्न सक्नु भयो भने त इन्टरनेशनल स्लेबल करिकुलम हुन्छ । त्यो करिकुलम भनेको त संसारको कुनै पनि मान्छेले नेपाली विदेशमा बस्नेले मात्रै होइन, संसारका सबै मान्छेले सिक्न चाहन्छन् । विभिन्न देशमा संस्कृतको कुरामा भागवत गीताको कुरामा योगेको विषयमा हामी शिक्षा दिन सक्छौं । यस्तो कुरालाई हामीले जोड्दा हामीले चाहिँ भौगोलिक हिसाबले पनि हामीसँग ग्लोबल हब बन्ने सम्भावना भो हामीले गरिराख केही इन्टरनेसनल प्राक्टिसेसहरु छन् त्यसलाई पनि हामीले चाहिँ जोड्न सक्छौं । नाफालाई हामीले नकारात्मक रूपमा हे¥यौं । अब यसलाई सकारात्मक रुपमा हेरौं । लगानी वृद्धि विकासका कुरा गरौं । पाठ्यक्रमको विषयमा व्यापक चर्चा गरौं । आगामी पाँच वर्षमा नेपालको शिक्षामा ठूलो सुधार ल्याउन सकिन्छ । यसको सुरुवात तपाईंले गरिसक्नु भएको छ, कसरी सुरु गर्नुभयो ? हो, मैले यो काम सुरु पनि गरिसकेको छु । क्लासरुम रिफर्म गरौं भनेर अहिले कुराहरू उठ्ने गरेको छ । म आफै प्रोग्रेसिभ लर्निङ सेन्टर बनाउनु पर्छ भनेर लागिरहेको छु । चन्द्रागिरिमा मैले इन्टरनेशनल लेभलको एउटा स्कुल सेटअप गर्दै छु । त्यहाँको नगरपालिकाको मेयरसाब आफै शिक्षा बुझ्ने हुनुहुन्छ । हामी त एउटा अभियानमै छौं । हामीले काठमाडौं विश्वविद्यालयसँग मिलेर दुइटा करिकुलम अगाडि बढाइसकेका छौं । यसका लागि कति जति लगानी लाग्ला ? पैसा पनि चाहिन्छ । म केही नाफा गर्दिनँ, म एकदम परोपकारी बन्छु, सबै गर्छु भनेर हुँदैन । तपाईंले कुनै संस्था बनाउँदै हुनुहुन्छ भने यसको विकास पनि गर्न आवश्यक हुन्छ । त्यहाँ काम गर्ने कर्मचारीलाई तलब दिनु पर्यो । आर्थिक अनुशासन कायम गर्नु पर्यो । कुनै पनि संस्थाले मुनाफा गर्न सक्यो भने समाज र राष्ट्रलाई केही दिन सक्छ । मुनाफालाई हामीले अहिलेसम्म नकरात्मक रूपमा हेर्यौं । अब यसलाई हामीले सकारात्मक रुपमा हेरौं । लगानीका, वृद्धि विकासका कुरा र अन्तर्राष्ट्रिय हिसाबमा सेलेबल कुरामा हामीले छलफल गर्यौं भने हाम्रो गन्तव्य आउने पाँच वर्षमा नेपालको शिक्षामा रिफर्म ल्याउन सकिन्छ । अहिले हामीले एउटा अभियान ‘टिचर एज अ करिकुलम’ भनेर सुरु गरेका छौं । यो पाठ्यक्रमलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ ? अर्गानिक करिकुलम हुनुपर्छ । हिजोसम्म हामीले एउटा कठिन कौशलका बारेमा अर्को नरम कौशलको कुरा गर्यौं । मान्छेको कम्युनिकेसन स्किल्स, उसको प्रस्तुति, उसको संस्कार, मान्छेको पोजेटिभ भाइब्रेसन यी सबै कुराको जसरी हामीले पढाएको विषयमा तीन घण्टाको परीक्षा लिएर पास/फेल गरायौं । अहिलेको जमाना एआई र आईटीको हो । यो हाम्रो जीवनसँग जोडिएको विषय हो । स्कुलबाटै उद्यमशीलता सिक्नु र सिकाउन आवश्यक छ । हामीले परम्परागत ढंगले जुन लेभल लगाएर यो ग्रेड त्यो ग्रेड भन्छौं । चार जीपीए ल्याउने विद्यार्थी साँच्चिकै सबै कुरामा ऊ प्रकाण्ड हो त ? अथवा फोर भन्दा कम ल्याउने कमजोर हो त ? सिकाइ हरेक व्यक्तिमा फरक हुन्छ । कसैले केही कुरा भन्ने बित्तिकै टिप्छन् कसैलाई दुई/तीन पटकसम्म प्रयास गर्दा पनि गाह्रो हुन्छ । हाम्रो पाठ्यक्रम, हाम्रो शिक्षाको पद्धतिले संसारलाई हामीले लोभ्याउन सक्ने अवस्था छ । यसका लागि कसले के गर्नुपर्छ ? यसमा दुई/तीनवटा पाटो छ । एउटा त अभियान नै हुनु पर्यो । यो धेरै ठुलो कुरा हो। राजनीतिक इच्छा शक्ति पनि चाहिन्छ । यो अभियानमा सरकारी निजी भन्ने हुनु भएन । राष्ट्रले निर्धारण गर्नुपर्छ । यसमा आमसहमति हुनुपर्यो । नेपाल एजुकेसनल हब बन्यो भने यहाँका सबैभन्दा समृद्ध सम्मानित हुने भनेको शिक्षक हो । हामीले सुरु गरेको ‘अभियान टिचर एज अ करिकुलम’ भनेका छौं । यसको मतलब पनि शिक्षक समृद्ध नभइकन क्लासरुम रिफर्म हुदैन । यो कुराले शिक्षा क्षेत्र नै माथि उठ्ने हो । यसैको आधारमा देश अगाडि बढ्ने हो भनिसकेपछि यहाँ हामीले आमसहमति गरौं । यस्ता कुरालाई मनन गरेर हामीले पाठ्यक्रम फेरिनुपर्छ । सयौं नेपाली दिनहुँ परदेश पुगिरहेका छन्, कसरी विदेशी विद्यार्थीहरूलाई ल्याउन सक्नुहुन्छ ? शिक्षालाई हामीले आइसोलेसनको रूपमा हेर्नु हुँदैन । यो समग्र मुलुकको उद्यमशीलता र रोजगारी सबै कुरासँग जोडिएको हुन्छ । सबै कुरा शिक्षाले चलाउने पनि होइन । एउटा पाठ्यक्रम निर्माणदेखि लिएर कक्षाकोठाभित्र पाठ्यक्रमका उद्देश्यहरू निर्धारण भएको हुन्छ । त्यो अनुसारको रिफर्म गरेर अगाडि बढाउने हो । जनताले यसलाई साथ दिए, प्राइभेट र सरकारको लगानीको बीचमा हाम्रो तालमेल मिल्यो भने सम्भव छ । हामीले विद्यार्थीलाई दक्ष बनाउन सक्यौं भने सीपअनुसारको काम गर्दा जमिन आसमानको फरक हुन्छ । त्यो कुरा त शिक्षाले दिने कुरा हो । शिक्षाको नाममा अथवा स्वास्थ्यको नाममा निजी क्षेत्रलाई दुरुत्साहित गरेर होइन, हातेमालो गरेर अगाडि बढ्नुपर्छ । हामी सकारात्मक कुरा सोचौं । शिक्षालाई हड्तालको विषय नबनाऔं । विद्यालय शान्ति क्षेत्रलाई अशान्ति क्षेत्र नबनाऔं । विद्यार्थीको कस्टमा हामीले अधिकार पनि नखोजौं । हाम्रा माननीयहरुले पनि हामीलाई कन्ट्राडिक्सनमा पारेर हातखुट्टा बाँधेर स्विमिङ गर पनि नभनौं । सकारात्मक रूपमा अगाडि बढौं ।
बीमाका ब्राण्ड, सफलताका पर्याय
काठमाडौं । सफलता ठूलो सपना देखेर मात्र प्राप्त हुँदैन । त्यसका लागि मिहिनेत, अनुशासन र धैर्यता अनिवार्य हुन्छ । यदि दुर्गाप्रसाद पाण्डेले आफ्नो छोरालाई अनुशासनसहित स्वतन्त्रता दिएर हुर्काएका थिएनन् भने सायद दीपप्रकाश पाण्डे आजको दिनमा बीमा क्षेत्रमा यसरी चम्किन पाउँदैनथे । दरबार र सिंहदरबारसँग निकट सम्बन्ध भएको परिवारमा जन्मिए पनि उनले सरकारी जागिर वा राजनीतिज्ञ बन्ने बाटो रोजेनन् । उनले सधैं आफ्नै क्षमतामा विश्वास गरे । बुवाबाट प्राप्त स्वतन्त्रता, आमाबाट सिकेको अनुशासन र दाईबाट पाइरहेको प्रेरणाले उनलाई बीमा क्षेत्रको उचाइमा पुर्यायो । अँध्यारोमा दीपले जस्तै प्रकाश दिने नाम बने- दीपप्रकाश पाण्डे । आज उनी नेपालको बीमा क्षेत्रका पर्याय बनेका छन् भन्दा फरक नपर्ला । काठमाडौंमै जन्मिएका दीपप्रकाश राजधानीकै सुविधासम्पन्न परिवेशमा हुर्किए । उनका बुवा दुर्गाप्रसाद उच्च प्रशासनिक तहका जागिरे थिए । बुवाको पदका कारण सरकारी निवास, गाडी, सुरक्षाकर्मी जस्ता सुविधा परिवारले पायो । तर दुर्गाप्रसादले कहिल्यै सत्ताको दुरुपयोग गरेनन् । ‘बुवाले सरकारी गाडी कार्यालय समय बाहेक कहिल्यै प्रयोग गर्नुभएन,’ दीप सम्झन्छन्, ‘जति कडा उहाँ हुनुहुन्थ्यो, उतिकै मायालु पनि हुनुहुन्थ्यो ।’ बुबाको सरुवाकै कारण उनले बाल्यकालमै भारतको कोलकत्ता, नेपालकै विराटनगर र विरगञ्जमा बस्ने अवसर पाए । विभिन्न संस्कार र वातावरणमा हुर्कँदै उनले नयाँ जीवनशैली अनुभव गरे । एकातिर सरकारी निवास र सुरक्षा गार्डसहितको विलासी वातावरण, अर्कातिर घरभित्रको पुरानो पिर्कामा बसेर खाने संस्कार । दीपप्रकाशलाई पिर्कामा बसेर खाएको अहिले पनि खुबै याद आउँछ । यी सबै अनुभवहरूले उनको जीवनदृष्टि फराकिलो बनायो । साथीजस्ता बुवा, कोलकत्तामा पढाइ दीपप्रकाशका लागि बाल्यकाल सधैं रमाइलो थियो । विशेषगरी बुवासँग बिताएका क्षण अझै उनको मानसपटलमा ताजै छन् । ‘बुवाले प्रायः कपालमा फुलेको सेतो रौँ टिप्न लगाउनुहुन्थ्यो,’ उनी स्मरण गर्छन्, ‘सुरुमा एक पैसा दिनुहुन्थ्यो, मैले पनि बार्गेनिङ गर्दै एक रुपैयाँसम्म पुर्याउँथे ।’ यस्ता साना रमाइला सम्झनाले उनलाई पैसाको मूल्य बुझ्न र मिहिनेतको महत्व थाहा पाउन सिकायो । बुवाले अनुशासनमा राखे पनि कहिल्यै जबर्जस्ती गरेनन् । ‘यही काम अनिवार्य गर्नुपर्छ भनेर दबाब कहिल्यै दिनुभएन,’ दीपप्रकाश भन्छन्, ‘त्यसैले आज म जहाँ छु, त्यो मेरा आमाबुवाको योगदानले छु ।’ उनले कोलकत्ताको सेन्ट जेवियर्स कलेजबाट व्यवस्थापनमा स्नातक गरे । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर पूरा गरे । पढाइपछि केही समय ए लेभल र ओ लेभलका विद्यार्थीलाई पढाउँदै मासिक १२ हजारसम्म कमाइ गरे । दीपप्रकाशको यस्तो मोड तब आयो जब प्रेमलाई विवाहमा परिणत गर्न जागिर आवश्यक भयो । उनका ससुराुबवा नैनबहादुर स्वार (तत्कालीन गृहमन्त्री)ले ‘जागिर नभएको केटासँग छोरी नदिने’ अडान राखेपछि उनी जागिर खानुपर्ने बाध्यतामा परे । म एउटा जागिरेको छोरा । तर आज ६५० जनालाई रोजगारी दिने स्तरमा पुगेको छु, उनी गर्वका साथ भन्छन्, ‘यदि नेपालमा म जस्ता २ हजार मान्छे भए, देश अर्कै स्तरमा पुग्छ । त्यसपछि दीपप्रकाशले स्थायी जागिर खोज्न थाले । दाई बैंकर थिए । बैंकमा सजिलै प्रवेश गर्ने अवसर हुँदा पनि उनले आफ्नै प्रयासमा आवेदन दिए । अन्ततः उनले सन् १९९० को दशकमा एभरेष्ट इन्स्योरेन्समा फाइनान्स एडमिनिस्ट्रेसन म्यानेजरको रुपमा करिअर सुरु गरे । त्यही जागिरले उनले मन पराएको केटीसँग विवाहको ढोका खोलिदिएको मात्रै थिएन, जीवनको नयाँ दिशामै मोडिदियो । अहिले उनको दुइटा छोराछोरी छन् । छोरी यतिखेर बेलायतमा चिकित्साशास्त्रमा स्नातकोत्तर गर्दैछिन् । छोरा नेपालमै आलु चिप्स उद्योग सञ्चालन गर्दै व्यवसायमा लागेका छन् । ‘मैले व्यवसाय गर्ने सपना पुरा गर्न सकिनँ । तर, अब छोराले त्यो सपना पूरा गर्छ भन्ने विश्वास छ,’ उनी गर्वका साथ भन्छन् । ३२ वर्षको उमेरमै सीईओ एभरेष्ट इन्स्योरेन्समा दीपप्रकाशले मिहिनेत गर्दै गए । एभरेष्ट इन्स्योरेन्समा उनले १० वर्ष बिताए । त्यतिबेला नेपालमा बीमा क्षेत्र अझै बाल्यावस्थामै थियो । निजी क्षेत्रका जम्मा चार कम्पनी मात्रै थिए । बीमामा दक्ष जनशक्ति अभाव थियो । उनको मिहिनेत देखेर कम्पनीले उनलाई ३२ वर्षको उमेरमै एक्टिङ सीईओ बनायो । ‘यदि त्यतिबेला असफल भएको भए, म सायद आज यहाँ हुने थिइनँ,’ उनी भन्छन् ।’ १० वर्षमै कम्पनीलाई अग्रणी अवस्थामा पुर्याएपछि उनले नयाँ चुनौतीको खोजी गरे । एभरेष्टपछि उनको यात्रा शिखर इन्स्योरेन्ससँग जोडियो । सुरुमा जम्मा ५/६ शाखा भएको कम्पनीलाई उनले आज १२० भन्दा बढी शाखासहित देशकै अग्रणी कम्पनी बनाएका छन् । त्यसको प्रिमियम संकलन २० वर्षमा ७०/७२ करोडबाट बढाएर ६ अर्ब पुर्याएका छन् । शिखरले लगानीकर्तालाई राम्रो प्रतिफल दिइरहेको छ । उनलाई लामो समय सीईओमा निरन्तरता दिएको भन्दै आलोचना पनि भयो । त्यसको जवाफ दिँदै उनी भन्छन्, ‘संस्थालाई अझै मेरो आवश्यकता छ भने नेतृत्व गर्न म तयार हुन्छु ।’ बीमामा योगदान दीपप्रकाशले बीमामा विभिन्न प्रडक्टहरूको परीक्षण गरे । कतिपय सफल भएनन् । कतिपय प्रडक्टले उनलाई बीमा क्षेत्रमा चिनयो, उनी बीमामा एक ब्राण्ड हुन् भन्ने बलियो आधारस्तम्भ तयार गर्यो । दीपप्रकाश भन्छन्, ‘हामीले गल्तीबाट पाठ सिक्दै अगाडि बढ्नुपर्छ ।’ उनको बुझाइमा संस्थाको सफलता एउटै व्यक्तिको नभई समूहको हुन्छ । त्यसैले उनी टिम वर्कमा जोड दिन्छन् । ‘मैले मेरो टिमलाई विश्वास गरेर एउटा सपना देखाउँछु,’ उनी भन्छन्, ‘म चाहिँ भाग्यमानी रहेछु, एउटा बलियो टिम मसँग छ ।’ आगामी तीन वर्षसम्ममा एक हजार करोड प्रिमियम पुर्याऔं भन्ने एउटा आँट, अठोट र साहस लिएर काम भइरहेको उनको भनाइ छ । ‘पहिले ६ सय करोड पनि पुग्छ कि पुग्दैन भन्ने सपना थियो त्यो अहिले पुरा भएको छ, अब हामी एक हजार करोडको प्रिमियम पुर्याउने योजनामा छौं,’ उनले भने । ६० वर्ष नजिकिँदै गर्दा पनि उनी सक्रिय छन् । सकारात्मक सोच, शान्ति र साधारण जीवनशैलीमा उनी विश्वास गर्छन् । ‘नेगेटिभ भाइब्समा अल्झिनु भन्दा पोजिटिभ भाइब्ससँग अघि बढ्नुपर्छ,’ उनी भन्छन् । पछिल्ला दिनमा दीपप्रकाशलाई घरमा परिवारसँग समय बिताउनु नै ठूलो खुसी लाग्छ । ‘परिवारसँग सँगै खान बस्न पाउँदा नै जीवनको सबैभन्दा ठूलो आनन्द मिल्छ,’ उनी भन्छन् । ‘म एउटा जागिरेको छोरा । तर आज ६५० जनालाई रोजगारी दिने स्तरमा पुगेको छु, उनी गर्वका साथ भन्छन्, ‘यदि नेपालमा मजस्ता २ हजार मान्छे भए, देश अर्कै स्तरमा पुग्छ ।’