जीवनशैलीका कारण कलेजोमा बोसो जम्ने समस्या बढ्दो
काठमाडौं, २२ भदौ । जीवनशैलीका कारण आजकल कलेजोमा बोसो जम्ने समस्या अधिकांश नेपालीमा देखिन थालेको छ । वीर अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्रा डा विधाननिधि पौडेलका अनुसार कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भए पनि १० प्रतिशतभन्दा बढी बोसो छ भने यस्तो अवस्थालाई कलेजोमा बोसो जमेको मानिन्छ । सुरुमा यसले खासै असर नगरे पनि पछि यसले सिरोसिस भई क्यान्सर समेत हुनसक्ने उनको भनाइ छ । उनी भन्छन्, ‘‘कलेजोमा बोसो जम्ने रोगलाई पहिलेकै अवस्थामा ल्याउन सकिन्छ । बिरामीले रहनसहन, जीवनशैली र खानपानमा परिवर्तन गर्नुपर्छ । खानामा हरियो सागसब्जी, पलफूलको मात्रा बढाउने, काब्रोहाइट्रेड कम खाने, रक्सी नखाने, व्यायाम गर्ने हो भने यो समस्यामा मुक्त रहन सकिन्छ ।’’ उनले कलेजोमा बोसो जम्ने समस्यालाई रक्सीको कारणले र रक्सीबाहेकका अन्य कारणले हुने हिसाबले दुई वर्गमा बाँडिएको बताए । रक्सी नखाने तर चिल्लो बोसोयुक्त खाना खाना, बढी मासु खाने व्यक्तिलाई यो समस्या देखिन सक्छ । यो समस्या वयस्क उमेरमा बढी देखिन्छ, तौल बढी भएमा, मधुमेहरोग भएमा, रगतमा कोलेस्ट्रोलको मात्रा बढी भएमा, उच्च रक्तचाप भएमा पनि कलेजोमा बोसो जम्नसक्छ । भाइरल हेपाटाइटिस, मेटाबोलिक रोग, अटो इम्युन रोग, छिट्टै वजन घटाउन खाना कम गर्दा, कुपोषणका कारणले पनि यो रोग देखिन सक्छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा विवेक शर्माले कलेजोमा बोसो जमेपछि छिट्टै थाक्ने, खान मन नलाग्ने वाकवाकी लाग्ने, तौल कम हुँदै जाने, दाहिने कोखामुनि दुख्नु, रातो नसा छालामा देखिन जस्ता लक्षण देखिने बताए । उनले कलेजो बिग्रदै गएमा स्मरणशक्ति कम हुने, शरीर पहेँलो हुँदै जाने र कमलपित्त हुने, खुट्टा र पेट सुन्निने, बाँझोपन र नपुंशक हुने, मुख र शरीरको अन्य भागबाट रगत आउने, शरीर सुक्दै जाने जस्ता लक्षण देखिने पनि बताए । गर्भवती महिलामा यो रोग कम देखिन्छ तर भेटिएको खण्डमा बच्चा र आमा दुवैका लागि खतरापूर्ण हुने चिकित्सकको भनाइ छ । डा शर्मा सबै रक्सी सेवन गर्नेलाई यो समस्या नहुन पनि सक्छ तर तुलनात्मक रुपमा पुरुषभन्दा बढी महिलामा बढी देखिने गरेको बताए । यो समस्याबाट बच्ने सबैभन्दा मुख्य कुरा जीवनशैली परिवर्तन गर्नु हो । रक्सी सेवन नगर्ने, ताजा र पोषिला खानेकुरा खाने, दिनहुँ व्यायाम गर्ने, मोटोपन भएमा हप्ताको एक पाउण्डको हिसाबले तौल कम गर्दै लैजाने र डाइटिसियनको परामर्श लिएर खानालाई सन्तुलित बनाउनुपर्ने हुन्छ । यसैगरी मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएमा तिनलाई नियन्त्रणमा राख्ने, हेपाटाइटिस र निमोनिया विरुद्धको खोप लगाउने, डाक्टरको सल्लाहबाहेकको औषधि सेवन नगर्न डा शर्माले सल्लाह दिए । रासस
कुमारीको पारिश्रमिक तीन हजार रूपैयाँ
काठमाडौं २२, भदौ । जीवित देवी मानिने कुमारीको मासिक पारिश्रमिक कति होलारु कसैले कुमारीको पारिश्रमिक ३ हजार रूपैयाँ मात्र छ भन्यो भने ठट्टा ठानेर नहाँस्नुहोला। भक्तपुरकी कुमारीलाई कौसि तोषाखानाबाट २ हजार १ सय ५० रूपैयाँ र गुठी संस्थानको भक्तपुर सूर्यविनायकस्थित शाखाबाट ९ सय रूपैयाँ गरी मासिक पारिश्रमिक जम्मा ३ हजार रूपैयाँ मात्रै रहेको बुधबारको नागरिक दैनिकमा समाचार छापिएको छ। भक्तपुर तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले कुमारीको तलब वृद्धभत्ता जति पनि नभएको भन्दै दुःख व्यक्त गरे। ‘तलब रकमले कुमारीकै अपमान गरेजस्तो लाग्छ,’ तलेजुका मूल नाइके जोशीले भने,‘ बरू वृद्ध भत्ता मासिक दुई हजार छ।’ काठमाडौं र ललितपुरका कुमारीको तलब भने भक्तपुरकी कुमारीको भन्दा बढी छ। २०४१ साल यता कुमारीलाई भत्ताको व्यवस्था गरिएको हो।
फोहोरको शुल्क विदेशिबाटै लिनपर्ने, व्यवस्थापन सरकारबाटै हुनुपर्ने
काठमाडौं २०, भदौ । नेपालमा आएका विदेशी नागरिक पदयाता तथा पर्वताराहेणमा जाँदा हुने फोहोरको व्यवस्थापनका लागि शुल्क लिनुपर्ने प्रस्ताव पर्यटन व्यवसायीको छ । फोहोर र धरौटीसम्बन्धी नीतिगत व्यवस्थाले पर्यटकलाई झण्झट भइरहेकको भन्दै व्यवसायीले पर्यटकबाट थप रकम फिर्ता नहुने गरी लिएर सफाईको व्यवस्था सरकारले नै गर्नुपर्ने माग गरेका छन् । टेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को टोले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीलाई भेटेरै यस्तो माग गरिएको जानकारी दिएको छ । हाल विदेशी पर्यटकले पर्यटन मन्त्रालयमा गार्वेश शुल्क डिपोजिट गरेर पर्वतारोहणमा जानुपर्छ । तोकिएको फोहोर फिर्ता ल्याएर मात्रै यस्तो शुल्क फिर्ता पाउने प्रावधान रहेको छ । टानले सगरमाथाका लागि फोहोर व्यवस्थापन शुल्कवापत प्रतिपर्यटक १ सय डलर, ८ हजार मिटरभन्दा माथिका हिमालका लागि ७५ डलर प्रतिपर्यटक, ६ हजार ५ सय मिटरभन्दा माथि ८ हजार मिटरभन्दा कम उचाईका हिमालका लागि ५० डलर कायम गर्नुपर्ने टानको सुझाव दिएको छ । यो रकम फिर्ता नहुने गरी लिने र व्यवस्थापनको काम भने सरकारले नै गर्नुपर्ने माग व्यवसायीको छ । व्यवसायीले परमिट शुल्क, फोहोर व्यवस्थापन, टिम्स कार्ड वितरणमा समस्या रहेको सम्बन्धमा मन्त्री शाहीको ध्यानाकर्षण गराएका छन् । त्यसबाहेक हिमाल आरोहणलाई सुरक्षित र भरपर्दो बनाउन उमेरको हद कायम गर्नुपर्ने, प्रतिवन्धित क्षेत्रसम्बन्धी व्यवस्था, बीना गाइड तथा भरिया यात्रा गर्ने प्रवृत्ति रहेको व्यवसायीहरुको भनाई छ । पर्यटनसग सम्बन्धित कामहरु एकद्धार प्रणालीबाट सम्पन्न गरी सहज बनाउनु पर्ने व्यवसायीले बताएका छन् । आरोहणमा उमेर हद १६ वर्षभन्दा माथि ७५ वर्षसम्म कायम गर्नु पर्ने तर्क व्यवसायीको छ । यसबाट आरोहणमा हुने अस्वस्थ प्रतिस्पर्धा कम हुने टानले उल्लेख गरेको छ । व्यवसायीको माग सम्बोधन गर्दै मन्त्री शाहीले समस्या रुपमा रहेका धेरै मुद्दाहरु क्रमशः समाधान गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । सबै समस्या आफ्नै कार्यकालमा पुरा हुन नसकेपनि व्यवसायको व्यवाहिरक प्रस्तावलाई अगाडि बढाउने प्रयास भइरहने बताएको जानकारी टानल दिएको छ ।