राउटे बस्तीमा सबै किशोरी आमा, छोरी जन्मनेबित्तिकै कसैकी श्रीमती तोकिने १२ वर्ष नपुग्दै विहे

काठमाडौं ३०, मंंसिर ।  अछाम जिल्लाको नाडा गाविस–८ कोल्लीमोरास्थित कर्णाली किनारमा लोपोन्मुख समुदाय राउटे बस्ती छ । जहाँका झुपडीमा १ सय ४९ राउटे अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । उनीहरूमध्ये ९२ पुरुष र ५७ महिला छन् । ५७ महिलामध्ये ३६ जना १६ देखि २० वर्ष उमेर समूहका छन् । तर, उनीहरू सबै एकरदुई सन्तानका आमा बनिसकेका छन् । जनसंख्या व्यवस्थापनमा खासै चासो नराख्ने राउटे समुदायमा महिलाहरूले उमेर नपुग्दै विवाह गर्नुपर्ने बाध्यता परम्पराजस्तै बनिसकेको छ । ‘केटाहरू धेरै हुन्छन्,’ राउटेका महामुखिया महिनबहादुर शाहीले भने, ‘बिहे ९विवाह० गर्न वर्षौं कुर्नुपर्छ । तर पनि कत्ति केटाको त निकै मुस्किलले मात्रै पालो आउँछ ।’ केटी नपाउँदा धेरैजसो पुरुषको त ४० वर्ष काटेपछि मात्रै बिहे हुने गरेको उनको भनाइ छ । ‘केटी नपाउँदा धेरैजसो केटाको त ४० पार गरेपछि मात्रै लगन जुर्ने गरेको छ,’ महामुखिया शाहीले भने । पुरुष लामो समय कुर्नुपर्ने तर महिलाले भने १२ वर्ष पुग्नेबित्तिकै विवाह गर्नुेपर्ने बाध्यता परम्परा नै बनेको छ यो बस्तीमा । ‘महिलाले १२ वर्ष पुग्नेबित्तिकै बिहे गर्नुेपर्ने बाध्यता अहिले परम्पराजस्तै बन्न थालेको छ,’ किशोरी आमा किताब शाहीले भनिन् । शाहीका अनुसार छोरी जन्मनासाथ कसैको श्रीमती तोक्ने गरिएको छ राउटे समुदायमा । ‘छोरी जन्मिनेबित्तिकै कसैको श्रीमती बन्छे,’ उनले भनिन्, ‘कोसँग बिहे गर्ने भन्ने कुरा जन्मिएकै दिन टुंगो लगाइन्छ । उमेरको कुनै वास्ता हुन्न ।’ सानै उमेरमा बिहे गर्ने र छिट्टै आमा बन्नुपर्ने बाध्यताकै कारण कत्तिका सन्तान खेर गएका छन् भने कत्तिले अकालमा ज्यान गुमाएका छन् । त्यसरी ज्यान गुमाउनेको कुनै तथ्यांक नै छैन राउटे समुदायमा । उमेर पुगेर मात्र आमा बन्ने जन्मान्तरका लागि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने र प्रजनन स्वास्थ्यबारे खुलेर बहस गर्ने राउटे महिलाहरूको चाहना छ । तर, पुरुषहरू त्यसो गर्न मान्दैनन् । जसका कारण परिपक्व भएर सन्तान जन्माउने र सुरक्षित रूपमा सुत्केरी हुने उनीहरूको रहर अधुरै रहने गरेको छ । राजधानी दैनिकबाट ।

पुनर्निर्माणको खर्च २ प्रतिशतभन्दा कम, ३२ अर्बमध्ये जम्मा ६० करोड रुपैयाँमात्रै खर्च

काठमाडौं ३०, मंसिर । चालू आर्थिक बर्षमा पुनर्निर्माणका लागि छुट्याइएको पुँजीगत बजेट अहिलेसम्म २ प्रतिशत पनि खर्च हुन सकेको छैन । पुनर्निर्माणको पुँजीगत बजेटतर्फ छुट्याइएको ३२ अर्व २२ करोड रुपैयाँमध्ये अहिलेसम्म ६० करोड ४४ लाख अर्थात १.८८ प्रतिशतमात्रै खर्च भएको छ। पुनर्निर्माण प्रक्रिया अघि बढाउन आवश्यक जग्गा खरिदका लागि छुट्याइएको १३ करोड रुपैयाँ अहिलेसम्म खर्च हुन सकेको छैन । बिभिन्न सरकारी कार्यालयको भवन निर्माण तथा बस्ती स्थानान्तरणका लागि जग्गा खरिद गर्न यो रकम छुट्याइएको थियो । अर्थ मन्त्रालयले संसदको बिकास समितिमा पेश गरेको विवरणअनुसार जग्गा खरिदसँगै भवनतर्फको पुँजीगत खर्च शून्य देखिएको छ । यता पुनर्निर्माण प्राधिकरणले चार लाख ७५ हजार ६९० भूकम्पपीडितले पहिलो किस्ताको रकम पाएको जानकारी गराएको छ । उनीहरुले ५० हजारका दरले अनुदान पाएका छन् । पहिलो किस्ताका रुपमा प्राधिकरणले अहिलेसम्म २३ अर्व ७५ करोड आबितरण गरेको छ । नयाँ पत्रिका दैनिकबाट ।

दूध बिक्रीबाट मासिक अठार लाख आम्दानी

पोखरा, २९ मंसिर । सम्भावनाको खोजी गर्दै दृढइच्छा शक्तिका साथ निरन्तर लाग्ने हो भने गाईपालन व्यवसायसँगै फर्म अवलोकन पनि आम्दानीको राम्रो स्रोत बन्न सक्छ भन्ने नमुना गोरखाका कृषक राजेन्द्रराज पाण्डे बनेका छन् । पालुङटार नगरपालिका–३ च्याङ्लीमा रहेको कामधेनु गाईपालन केन्द्रबाट दैनिक तीन हजार ५०० लिटर दूध बिक्री गर्दै आएका उनले एक वर्षको अवधिमा केन्द्रको अवलोकन गर्न आएका चार सयवटा समूहबाट टिकट काटेबापत चार लाख रुपैयाँ अतिरिक्त आम्दानी गरेका छन् । समूहगत रुपमा अवलोकन गर्न आउनेबाट एक हजार शुल्क लिने गरेका छन् । “अवलोकन गर्न कृषि सहकारीबाट बढी मात्रामा आउने गरेका छन्,” पाण्डेले भने । गाईपालन केन्द्रमा अघिल्लो वर्ष अवलोकन गर्न दुई हजार ५०० जना आएका थिए । दूध बिक्रीबाट भन्दा अवलोकन गर्नआएकाहरुबाट प्राप्त आम्दानीबाट बढी सन्तुष्टि मिलेको उनको भनाइ छ । विसं २०५२ मा सातवटा उन्नतजातका गाईबाट व्यवसाय सुरु गरेका पाण्डेको गाईकेन्द्रमा हाल २८० वटा गाई रहेका छन् । उनको गोठमा रहेका एक सय २५ गाई दुधालु रहेका छन् । “दैनिक तीन हजार ५०० लिटर दूध उत्पादन हुन्छ, मासिक करिब रु १८ लाख आम्दानी हुन्छ,” उनले भने । केन्द्रमा हाल २० जना स्थायी तथा १० जना ज्यालादारीका कर्मचारी रहेका छन् । उनले चिस्यान केन्द्र समेत स्थापना गरेका छन् । हालसम्म उनले ६ करोड रुपैयाँ लगानी गरिसकेका छन् । उनले ४०० रोपनी क्षेत्रफलमा उन्नत जातको घाँस उत्पादन गरेका छन । रासस