मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना अब तपाईको मोबाइलमा
काठमाडौं, १३ साउन । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना मोबाइल मार्फत एसमएस प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बिहीबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्य र जल तथा मौसम बिज्ञान विभागको तर्फबाट महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, बागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद् सम्बन्धी पूर्व सूचना सम्प्रेषणको व्यवस्था मिलाइने छ । यसका लागि नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको डाटा मौसम विज्ञान विभागलाई उपलब्ध गराउने छ । विभागले ११५५ कोडको प्रयोग गरी विशेष गरी विपद् आउनु पूर्व प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत रुपमा (बुल्क) एसएमएस मार्फत आवश्यक जानकारी पठाउने छ । यस सम्बन्धी सबै सेवा नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराउने छ । सो सम्बन्धी सम्झौता गर्न आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले विपद्को पूर्व जानकारी संप्रेषण गरी क्षति न्यूनिकरण गर्ने कार्यका लागि विगतमा पनि अन्य संस्थाहरुसँग सहकार्य गरेको जानकारी गराउँदै विपद्को पूर्वजानकारीले क्षति न्यूनिकरण गर्न सकिने तथा मानिसको जीवन जोगाउन सकिने भएकोले कम्पनीले मौसम विज्ञान विभागसँग पनि सहकार्य गरेको बताए । उनले मुलुकभर कम्पनीका ग्राहक छरिएर रहेकाले भविष्यमा अन्य क्षेत्रमा समेत सहकार्य गर्न सकिने बताए । कार्यक्रममा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले कम्पनीसँग भएको सम्झौतालाई विभागले दक्षतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले प्राकृतिक विपद्को न्यूनीकरण गर्नु दुवै संस्थाको संयुक्त दायित्व भएकाले पनि भविष्यमा अन्य क्षेत्रमा समेत सहकार्य गर्न सकिने बताए । बर्तमान बर्षाको मौसममा खासगरी बाढी पहिरोका कारण धेरै नेपाली प्रभावित भइरहेको समयमा कम्पनी र विभागबीचको यो सहकार्यले जनधनको क्षति न्यूनिकरण गर्न प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ । स्मरणीय छ, नेपाल टेलिकमले गत बर्षको विनासकारी भूकम्प पश्चात पनि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी प्राकृतिक विपद्सम्बन्धी पूर्व सूचना संप्रेषण गर्ने व्यवस्था मिलाएको थियो ।
सरकार र डाक्टर गोविन्द केसीबीचको सम्झौता तत्काल खारेज गर्न माग
काठमाडौं, १२ साउन । सरकार र डाक्टर गोविन्द केसीबीच भएको सम्झौता तत्काल खारेज गर्न माग गर्दै निजी मेडिकल कलेजको अगुवाईमा काठमाडौंमा प्रदर्शन गरिएको छ । निजी मेडिकल कजेल सञ्चालकहरुको अगुवाईमा बिभिन्न संघ संस्था खेलाडी, बुद्धिजिवि, साहित्यकार लगायतको उपस्थितिमा हजारौ नागरीक डाक्टर गोविन्द केसीसँग गरिएको सम्झौता खारेजीको माग गर्दै स्वत स्फुर्त सडकमा निस्किएका हुन् । सरकारले डाक्टर केसीसँग गरिएका सम्झौताले निजी मेडिकल कलेज धरासायी हुने भन्दै खारेजीको माग गर्दै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म जन प्रदर्शन गरिएको थियो । सडकमा उपस्थित प्रदर्शनकारिहरुले अख्तियारले पछिल्ला दिनमा गरिरहेको कामको प्रसंसा गरेका थिए । सभ्य र सालिन रुपमा सडकमा उत्रिएका हजारौ प्रदर्शन कारीको भिडले निजी क्षेत्र बन्द गर्न पाइदैन, बिद्यार्थी बेच्न पाईदैन, बिद्यार्थी बिदेश पठाउने दलालमार्थी कार्वाहिगर, गुणस्तरीय शिक्षा नेपालमै, अख्तियारमाथिको सुनियोजित प्रहार बन्द गर, अख्तियारको नेतृत्व देश समृद्धिको पक्षमा, भ्रष्टाचारीको मोजमस्ती जेल जाने बन्दोबस्ती, अघि बढ् अख्तियार जनता तिम्रो साथमा छन् जस्ता नारा लगाएका थिए । उपस्थित प्रदर्शनकारीलाई सम्बोधन गर्दै एशोशिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका अध्यक्ष डाक्टर भोला रिजालले कुनै व्यत्ति बिशेषको विरोधमा सडकमा नउत्रेको तर सरकारले डाक्टर गोविन्द केसिसंग गरेको संझौताको विरुद्धमा सडकमा आएको बताए । उनले भने यो मध्य सडकमा उपस्थित हजारौ नागरीकको भिड कसैको विरोध गर्न भन्दा पनि नेपाली विद्यार्थी विदेश पढाउन रोक्न, र नेपाली विद्यार्थीले स्वदेशमै बसेर पढ्न पाउन भनेर उर्लिएको स्पष्ट पारे । मेडिकल कलेजहरुले राखेको मागमा मेडिकल एवं डेण्टल कलेजहरुको सिट संख्या कटौति गर्दा गरिब तथा जेहेनदार विद्यार्थी सरकारले उपलब्ध गराउदै आएको छात्रबृद्धिबाट बन्चित नगरियोस्, स्वदेशी तथा विदेशी विद्यार्थीलाई स्वदेशमा अध्ययन गर्ने वातावरण मिलाउनु पर्ने, सिट कटौति संगै अस्पतालले पाउदै आएको शैयाहरु पनि घट्ने हुदा जनताहरुले पाउने सुलभ स्वास्थ्य सेवाबाट बिमुख बन्नुपर्ने, २०७३ साउन ९ गते नेपाल सरकार र डाक्टर गोविन्द केसी बीच भएका संझौताका नम्बर १ को ( ग ) नम्बर १ को ( घ ) र संझौता पत्रको ४ नम्बर को (ख) बुदाहरुको कार्यन्वयन आफुहरुको सहभागीता बिना नगर्न आग्रह गरेका छन् ।
४४ करोड मूल्य बराबरको परिवार नियोजनका साधन आयात, २६ करोडको कण्डम मात्र
काठमाडौं, १२ साउन । परिवार नियोजनका अस्थायी साधनहरुको प्रयोग बढेको छ । नेपालीले एकै बर्ष ४४ करोड ८४ लाख रुपैंयाँका त्यस्तो साधन प्रयोग गरेका छन् । त्यसमा पुरुषले २६ करोड १५ लाख रुपैंयाँ बराबरका साधन प्रयोग गरेका छन भने महिलाले १८ करोड ६९ लाख रुपैंयाँ बराबरका साधन उपयोग भएको छ । पुरुषले एक वर्षमा १२ लाख ४३ हजार किलो अस्थायी साधन प्रयोग गरेको देखिन्छ भने महिलाले २० लाख २३ हजार किलो अस्थायी साधन उपयोग भएको छ । पुरुषले सबै भन्दा धेरै कण्डम, प्यान्थर, ढाल प्रयोग गरेको देखिन्छ । महिलाका हकमा भने अस्थायी साधनका रुपमा निलोकन ह्वाइट, आइसीयुडी तथा बिभिन्न ट्याबलेटहरुको प्रयोग भएको देखिन्छ । आयात निर्यातको तथ्यांक राख्ने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले तयार पारेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ मा सो मात्रामा परिवार नियोजनका अस्थायी साधन आयात भएको हो । नेपालले १९ करोड ६४ लाख रुपैंयाँ बराबरको ८ लाख १८ हजार किलो कण्डम तथा प्यान्थर र ढाल लगायतका पुरुषले प्रयोग गर्ने अस्थायी साधन भारतबाट भित्र्याएको छ । त्यस्तै, पाँच करोेड ९१ लाख रुपैंयाँ बरारबका महिलाले प्रयोग गर्ने २० लाख किलो साधन भारतबाट आयात गरेको छ । नेपालले ११ मुलुकबाट पुरुषले प्रयोग गर्ने कण्डम लगायतका साधन आयात गरेको छ । त्यसमा भारत, चीन, बंगलादेश, कोरिया, जापान, मलेसिया, सिंगापुर, नेदरल्याण्ड, थाइल्याण्ड, युके, र अमेरिकाबाट त्यस्ता समान भित्रिएका छन् ।महिलाले प्रयोग गर्ने ट्याबलेट लगायतका समानहरु १७ देशबाट ल्याइएका छन् । जर्मनी, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, हंगेरी, स्पेन, ताइवान, थाइल्याण्ड,इण्डोनेसिया, नेदरल्याण्ड, चीन, बंगलादेश, भारत, बेल्जियम, बेलायत र अमेरिकाबाट महिलाले प्रयोग गर्ने ल्याइएको छ ।