१५ सुत्रिय माग राख्दै पर्यटन श्रमिकहरु टानमा

काठमाडौं, १९ साउन । बढ्दो महंगी अनुसार हरेक दुई वर्षका पर्यटन श्रमिकको तलब भत्तामा हेरफेर गर्नुपर्ने लगायत माग समेटी पर्यटन श्रमिकहरुले ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) मा १५ बुँदे ज्ञापनपत्र बुझाएका छन् । नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एयरलाईन्स मजदुर युनियन(यूनिट्राभ), नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघ, अखिल नेपाल क्रान्तीकारी पर्यटन मजदुर संघ गरि चार मजदुर संगठनले टानका अध्यक्ष चन्द्र रिजाल समक्ष संयुक्त ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र अनुसार श्रमिक संगठनहरुले निम्न बुँदाहरुलाई प्राथमिकताका साथ उठान गरेका छन् । १. पर्वतीय तथा पदयात्रा क्षेत्रका मजदुरको खाइ पाई आएको ज्याला र तलबमा २५ प्रतिशत वृद्धि गरिनुपर्ने । २. विगतको टान कार्यसमिति र श्रमिक युनियन बिच भएको सहमति अनुसार एक करोड पचास लाखको कल्याणकारि      कोष स्थापना गरिनुपर्ने । ३. कम्पनीको नाम खुलाएर पर्यटन श्रमिकको स्थाइ÷अस्थाइ परिचयपत्रको ब्यवस्थापन गरिनुपर्ने । ४. श्रमिकको रोजीरोटी एवं बिदेशीको सुरक्षाका लागि कुनै पनि बिदेशी नागरिक ट्रेकिङ जाँदा अनिवार्यरुपमा                     श्रमिकको प्रतिनिधित्व गराईनुपर्ने । ५. श्रमिकको दुर्घटना बिमाबापत १५ लाख र मेडिकल बिमाबापत ७ लाखको व्यवस्था गराईनुपर्ने । ६. ट्रेकिङ मजदुरलाई चार्डपर्व खर्चबापत प्रतिव्यक्ति १० हजार प्रदान गर्ने व्यवस्था मिलाईनुपर्ने । ७. अनुभवी, दक्ष र अनुमतिपत्र प्राप्त गाइडलाई मात्र ट्रेकिङमा पठाइनुपर्ने । ८. माउण्टेन गाइडको सेवा सुबिधामा ४० प्रतिशत वृद्धि गरिनुपर्ने । श्रमिक संगठनहरुले २१ दिन भित्र आफ्ना जाहेज मागहरुलाई सम्बोधन नगरिए ट्रेकिङ रुट नै चल्न नदिने चेतावनी समेत दिएका छन् । ज्ञापनपत्र बुझ्दै अध्यक्ष चन्द्र रिजालले टान बाट गर्न सकिने सबै माग पुरा गराउने प्रतिबद्धता व्यक्त गरे । मजदुरको कल्याणकारी कोष स्थापना गराउनुपर्नेतर्फ आफुले पनि विशेष ध्यान दिएको बताउँदै उनले श्रमिकहरुका बारेमा राज्यले सम्बोधन गर्नुपर्ने विषयहरुलाई पुरा गराउनेतर्फ पनि सहयोग गर्ने बताए ।

किन बन्द छन् अधिकांश विमानस्थल ?

काठमाडौं, १९ साउन । मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भए पनि यसका चुनौती यथावत् छन् । अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भएको छ, तर पनि प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेको छैन । भौगोलिक कठिनाइ, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी बन्न सकेका छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार मुलुकभर कुल ५६ विमानस्थलमध्ये ३३ वटा सञ्चालनमा छन् भने १७ वटा बन्द रहेका छन् । छ वटा निर्माणधीन छन् । सोलुखुम्बुमा सबैभन्दा बढी चारवटा र खोटाङमा तीनवटा विमानस्थल छन् । काठमाडौंसहित २६ वटा विमानस्थल कलोपत्रे (पक्की) गरिएका (पक्की) छन् । काठमाडौंपछि पोखरा विमानस्थल सुविधा सम्पन्न मानिन्छ । भोजपुर, कांँगेलडाँडालगायत कालोपत्रे गर्ने क्रममा छन् । वर्षातमा तीन महिना बन्द मुलुकभित्र सञ्चालनमा रहेका आन्तरिक विमानस्थलमध्ये वर्षातको समयमा पहाडी भेगका अधिकांश विमानस्थल बन्द हुन्छन् । क्यानका अनुसार ताप्लेजुङ, लामिडाँडा, कांगेलडाँडा, थामखर्क, दाङ, मनाङ, मेघौलीलगायतका विमानस्थल बर्सेनि वर्षातको समयमा बन्द हुन्छन् भने अन्य केही विमानस्थलमा अवरोध हुने गरेको छ । वर्षातको समयमा पहिरो, बाढीका कारण सडकमार्ग अवरुद्ध हुने र गन्तव्यमा पुग्ने यात्रुलाई समस्या पर्ने हुँदा हवाई यातायात छिटो र छरितो मानिन्छ । मौसम प्रतिकुलताका कारण पहाडी भेगका अधिकांश विमानस्थल बन्द हुनेगरेको क्यानका आन्तरिक विमानस्थल र सहजीकरण विभागका प्रमुख सुधीरकुमार श्रेष्ठले बताए। असार १५ गतेदेखि भदौ १५ गतेसम्म हवाइ सेवा अवरुद्ध हुने गरेको छ । दशकौँ अघि उडान सुरु गरेका (हाल बन्द विमानस्थल) एयरलाइन्सले उडान नराखेका कारण बन्द रहेको क्यानको भनाइ छ । यिमध्ये सबैभन्दा लामो सन् १९६० देखि सप्तरीको राजविराज र गोरखाको पालुङटार बन्द छन् । क्यानका प्रवक्ता देवेन्द्र केसीले सम्भव भएसम्म क्रमशः उडानयोग्य सबै विमानस्थल कालोपत्रे गर्ने योजनाअन्तर्गत प्राथमिकतामा काम अघि बढाइएको बताए । सरकारको तर्फबाट साझेदारीका साथ लगानी गर्न चालु आवको प्रस्तावित बजेटमा करिब रु १९ अर्ब बजेट विनियोजन भएको र क्यानले पनि बजेट थपेर विमानस्थलको निर्माण, मर्मत र क्षमता विस्तारका काम अघि बढाइने उनको भनाइ छ । निर्माण प्राथमिकतामा राजविराज र डोटी विमानस्थल छन् । कतिपयको स्तरोन्नति गरिनेछ । पहाडी उडान किन प्रभावित भन्ने प्रश्नमा प्रवक्ता केसीले विमानस्थल कालोपत्रे नभएको र उडानयोग्य (मनाङ, दाङ)लगायत विमानस्थलमा साना विमान नभएकाले पनि उडान बन्द हुने गरेको बताए । लामो समयदेखि बन्द रहेका विमानस्थल पनि स्थानीयवासीको माग अनुसार सञ्चालनको प्रयास गरिने उनले बताए । हाल नेपाल एयरलाइन्स बाहेक नौवटा निजी एयरलाइन्सले आन्तरिक उडान भर्दै आएका छन् । विशेष गरी विगतको द्वन्द्व र पछिल्लो लोकतान्त्रिक आन्दोलनका कारण कतिपय विमानस्थलमा भौतिक पूर्वाधारमा भएको क्षतिपश्चात् उडान सञ्चालन हुन नसकेको क्यानले जनाएको छ । सडक सञ्जालले पहाडी जिल्लालाई जोडेपनि क्रमशः विमानमा यात्रा गर्ने यात्रुमा कमी आउनु, वायुसेवा कम्पनीले उडान नगर्नु तथा वायुसेवा कम्पनीसँग पहाडी जिल्लामा उडान गर्ने जहाजको कमीका कारण समस्या आएको हो । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि हाल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयले जनाएको छ । घाटामै आन्तरिक विमानस्थल आर्थिक हिसावले आन्तरिक विमानस्थल सबैजसो घाटामा रहेको बताइन्छ । विराटनगर, भैरहवा, पोखरा र नेपालगञ्ज मात्र सञ्चालनयोग्य रहेका छन् । पर्यटकीय दृष्टिकोणले करोडौँ खर्चेर बनाइएका विमानस्थल पनि पूर्णरुपमा सञ्चालन नहुँदा थप घाटा पुगेको छ । “करोड खर्च गरेर विमानस्थल कालोपत्रे गरियो तर प्रतिफल राम्रो छैन, पर्यटलाई लक्ष्यित गरेर बनाइएका विमानस्थल पनि चलेका छैनन, साना जहाज प्रर्याप्त नहुनुले पनि उडान हुनसकेको छैन,”–प्रवक्ता केसीले भने । अहिले रारा, मुगु, डोल्पा, सिमिकोट आदि विमानस्थल प्रभावकारी रुपमा सञ्चालनमा छैनन् । एउटा विमानस्थल कालोपत्रे गर्न कम्तीमा रु १५ करोड लाग्छ । विमानस्थलमा कतिखर्च हुन्छ भन्ने यकिन छैन, क्षेत्रफल र घनत्वका आधारमा खर्च निर्धारण हुन्छ । रासस

आइओएस १० मा नयाँ र रोचक ‘इमोजी’

काठमाडौं, १९ साउन। एप्पलले आफ्नो नयाँ अपरेटिङ सिस्टम आइओएस १० को बेटा संस्करण जारी गरिसकेको छ। यसमा निकै परिवर्तन गरिएको र रोचक फिचर थपिएको बताइएको छ।   सोमबार कम्पनीले आफ्नो नयाँ ‘इमोजी’ को घोषणा गरेको छ। कम्पनीका अनुसार एक सयभन्दा बढी इमोजीमा परिवर्तन गरिएको छ भने रिडिजाइनका साथै महिला खेलाडी, प्रोफेस्नलमा लिंगका साथै रङ बदल्ने पनि विकल्प हुनेछ। यसमा भएको बन्दुकमा पनि परिवर्तन गरिएको छ। पहिले वास्तविक बन्दुकको इमोजी भएकोमा अब प्लास्टिको पिचकारी जस्तो बनाइएको छ। एप्पलले इमोजीलाई प्रयोगकर्ताको वास्तविक जीवनमा जोड्न चाहेको बताइएको छ।