सांसद सुविधा ह्वात्त बढ्दै, सांसदले भत्ता वृद्धि भएपछि मासिक ८० हजार ५ सय रुपैयाँ पाउने
काठमाडौं १३, असोज । सरकारले साउन १ देखि नै लागू हुने गरी सांसदहरूको घरभाडा तथा पत्रपत्रिकालगायत सुविधाबापतको भत्तामा भारी वृद्धि गर्ने भएको छ । बैठक भत्ता र ट्याक्सी भाडाबाहेक मासिक ५४ हजार २ सय पाउँदै आएका सांसदले भत्ता वृद्धि भएपछि मासिक ८० हजार ५ सय रुपैयाँ पाउने संसद् सचिवालयले जानकारी दिएको छ । सांसदहरूको मासिक तलबसुविधामा साउन १ देखि नै लागू हुने गरी झन्डै २६ हजार रुपैयाँले बढ्नेछ । बैठक भत्ता र ट्याक्सी भाडामा समेत भारी वृद्धि हुने भएको छ । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले संसद् सचिवालयको सिफारिसमा सांसदहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा साउन १ देखि नै लागू हुने गरी भत्ता बढाउन प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले सांसदहरूको भत्ता वृद्धिको प्रस्तावमा सहमति दिएपछि सरकारले पारिश्रमिकसम्बन्धी विधेयक संसद्मा पेस गर्न लागेको छ । संसद्ले विधेयक पारित गरेपछि सांसदहरूको भत्ता वृद्धिको निर्णय कार्यान्वयन हुनेछ । विधेयकमा सांसदहरूको घरभाडाबापतको रकम तीन गुना बढी वृद्धि गर्न प्रस्ताव गरिएको छ । विधेयक पारित भएपछि सांसदहरूको घरभाडा ६ हजार ५ सयबाट बढेर १८ हजार रुपैयाँ पुग्नेछ । सांसदहरूको पत्रपत्रिका सुविधाबापतको रकम मासिक ५ सयबाट ६ गुना बढेर ३ हजार रुपैयाँ पुग्नेछ । खानेपानी र बत्तीको महसुलका लागि सांसदहरूले मासिक २ हजार रुपैयाँ पाउनेछन् । यसअघि यो सुविधा १२ सय रुपैयाँ मात्र थियो । अब सांसदहरूलेबैठक बसेको दिनको दैनिक ट्याक्सी भाडा १ हजार रुपैयाँ पाउने छन् । यसअघि दैनिक ट्याक्सी भाडा १ सय ५० रुपैयाँ मात्र थियो । सांसदहरूको बैठक भत्ता दैनिक २ सयबाट बढेर ५ सय रुपैयाँ पुग्नेछ । सांसदहरूले संसद् या समितिको बैठक बसेको दिनमा बैठक भत्ता र ट्याक्सी भाडा पाउने छन् । दलहरूबीच विभिन्न एजेन्डामा मतभेद भए पनि सांसदहरूको भत्ता बढाउने सवालमा भने सर्वसम्मति देखिएको छ । सबै दलका सचेतकहरू रहेको समितिले सर्वसम्मतिमा सांसदहरूको घरभाडा लगायतको सुविधा वृद्धि गर्न सिफारिस गरेको हो । कान्तिपुर दैनिकबाट ।
नेपालमा लगानी वृद्धि गर्न भारतीय राजदुतलाई उद्योग मन्त्रीको आग्रह
काठमाडौं, १२ असोज । उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालमा लगानी वृद्धि गर्न भारतीय राजदुत रंजीत रायलाई आग्रह गरेका छन् । जोशीले बुधबार उद्योग मन्त्रालय सिंहदरवारमा भारतीय राजदुत राय सँगको भेटमा सो विषयमा आग्रह गरेका थिए । नेपालमा औद्योगिक विकासको अत्यन्त ठुलो सम्भावना रहेको भन्दै मन्त्री जोशीले औद्योगिक वातावरण निर्माणका लागी उद्योग मन्त्रालयले काम गरिरहेको बताए । अहिले उद्योग मन्त्रालय नीतिगत सुधारको प्रकृयामा रहेको भन्दै मन्त्री जोशीले यसका लागि छिट्टै संसदबाट औद्योगिक व्यवसाय सम्वन्धी कानूनलाई संशोधन र एकिकरण गरी बनेको विधेयक २०७१ पास गर्न लागिएको बताएका छन् । सो विधेयकले मुलुक भित्र श्रम मैत्री औद्योगिक वातावरणको निर्माण गर्ने मन्त्री जोशीले बताए । मन्त्री जोशीले उद्योग स्थापनाका लागि लाग्ने प्रकृयागत झण्झटहरुलाई समेत सरलिकृत गरी छिटो भन्दा छिटो सेवा दिने दिशामा उद्योग मन्त्रालयका सेवाहरुलाई सुधार गरिएको पनि उनले बताए । नयाँ संविधान निर्माण पछिको अवको समयलाई औद्योगिकरणका माध्यमबाट आर्थिक सम्वृद्धि हासिल गर्ने दिशामा केन्द्रीत गर्न लागिएको भन्दै उद्योग मन्त्री नवीन्द्रराज जोशीले विदेशी लगानी आकर्षित गर्न विदेशी लगानी सम्वन्धी विद्यमान कानूनमा समेत समसामयीक सुधार गर्न लागिएको प्रष्ट पारेका छन् । भेटमा नेपालका लागि भारतिय राजदुत रंजीत रायले लगानी प्रकृयामा देखिएका प्रकृयागत झण्झटहरुलाई समाधान गर्न सुझाव दिएका छन् । भारतमा रहेका लघु, घरेलु तथा साना उद्योगको अनुभवले नेपालका लघु, घरेलु तथा साना उद्योगको विकासका लागी फलदायी हुन सक्ने भएकाले ती संस्थाहरुबीच अनुभव आदन प्रदानका लागि काम गर्न सकिने बताए । नेपालको विकास प्रयासमा सहयोग गर्न भारत सँधै तत्पर रहेको नेपालका लागी भारतिय राजदूत रंजीत रायले बताएका छन् ।
दिल्लीले अनुमति नदिँदा उड्नै लागेको एयरवस रोकियो, १०४ जना यात्रु बोकेर एक घण्टा पर्खियो
काठमाडौं १२, असोज । दिल्लीले अनुमति नदिँदा वायुसेवा निगमको विहान ११ साढे नौ बजेको जहाज १ घण्टा भन्दा बढी समय रोकिएको छ । निगमको आरए २०५ उडान नम्बरको जहाज ११ बजे उडान तालिका भएपनि मंगलबार बेलुका दुवाई रद्द भएपनि बुधबार विहान दुई घण्टा अगाडि नै दिल्ली जाने तयारीमा थियो । उडान सयम दुई घण्टा अगाडि सारेर ९ बजे नै उडान गरेको भएपनि अनुमति नलिएको भन्दै दिल्लीले रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । निगमको यो जहाजले यात्रु राखेर ट्याक्सी वे बाट धावनमार्गमा जानै लाग्दा दिल्लीको अनुमति नआएको र ११ बजेको निर्धारित समयमा नै उड्नुपर्छ भनेपछि एक घण्टा भन्दा बढी समय यात्रु जहाजमै राखेर प्रतिक्षामा बसेको हो । ११ बजेपछि मात्रै उडान गर्ने अनुमति पाएपछि जहाजले १०४ जना बोकेर दिल्ली गएको स्रोतले जानकारी दिएका छ । निगम स्रोतका अनुसार ११ बजेलाई अनुमति लिएको जहाज निर्धारित समय भन्दा छिटो उडाउन खोजिएको भन्दै रोकिएको उल्लेख छ । निगमको यो जहाज ठीक ११ बजे दिल्ली उडेको छ ।